Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘करको दरभन्दा दायरा बढाऔँ’

‘करको दरभन्दा दायरा बढाऔँ’


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले करको दायरालाई अहिलेको तुलनामा अझ धेरै फराकिलो बनाएर कसरी बढीभन्दा बढी मानिसमा पु-याउन सकिन्छ भन्नेबारे लाग्नुपर्ने बताएका छन् । दशौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय बिर्तामोड तथा बिर्तामोड उद्योग वाणिज्य संघद्वारा बुधबार दमकमा आयोजित कार्यक्रममा ढकालले करको दायरालाई धेरै नागरिकसम्म पु-याउने र निर्यातमुखी राजस्व प्रणालीको विकासका लागि सोच्नपर्ने बताएका हुन् ।

उनले अहिले आयातबाट ४८ प्रतिशत राजस्व रहेको तथ्यांक देखिएको भन्दै यसरी आयातमा आधारित राजस्वको हिस्सालाई क्रमशः कम गर्दै लैजानुपर्ने बताए । उनका अनुसार आयातमा आधारित राजस्व प्रणालीलाई क्रमशः कम गर्दैै लगी निर्यातमुखी राजस्व प्रणालीको विकासमा अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्छ । उनले आन्तरिक उत्पादनमा वृद्धि र स्वदेशी उद्योगको स्थापना गर्दै आयकर, मूल्य अभिवृद्धिकरलगायतको हिस्सा बढाउनुपर्ने सुझाव समेत दिए । कर प्रशासनलाई सेवाग्राहीमैत्री बनाई करको दायरा बढाउन सकिने उल्लेख गर्दै उनले कर प्रशासनले ल्याउने कार्यक्रममा निजी क्षेत्रले सधैँ साथ र सहयोग पु-याइरहेको बताए । आफूले पनि करदाताका रुपमा पटक–पटक सम्मान पाएको स्मरण गर्दै उनले भने, ‘करदातालाई सम्मानित गर्ने कार्यक्रमले आन्तरिक प्रतिस्पर्धा बढाउनेछ र अर्को वर्ष थप कर तिर्ने तथा राज्यलाई योगदान दिने वातावरण सिर्जना हुनेछ ।’ उत्कृष्ट करदातालाई गरिने सम्मानले निजी क्षेत्रबीच स्वस्थ प्रतिस्पर्धा तथा कर बुझाउन उत्प्रेरणा बढ्ने उनको धारणा थियो ।

राज्यको प्रमुख आम्दानीको स्रोत राजस्व भएको उल्लेख गर्दै निजी क्षेत्रले आफू पीडामा रहेको र कानुनी बाध्यता नभएको अवस्थामा पनि राज्यका गतिविधि रोकिनुहुँदैन भनेर कर बुझाउने गरेको स्मरण गरे । गत वर्ष सर्वोच्च अदालतले ‘कोभिडका कारण भएको लकडाउनका बेला कर असुल नगर्नू र लकडाउन खुलेपछि मात्र कर तिर्ने व्यवस्था मिलाउनू’ भन्ने आदेश दिए पनि आफूहरुले कर तिरेको र कर तिरौँ भनेर सार्वजनिक आह्वान नै गरेको उनको भनाइ छ । मुलुकको निजी क्षेत्रको योगदानकै कारण कोभिड महामारीकै बेला गत वर्ष २४ प्रतिशत राजस्व वृद्धि भएको ढकालले बताए । निजी क्षेत्रले जिम्मेवारीबोध गर्दै कर प्रशासनलाई सहयोग उनको भनाइ छ । निजी क्षेत्रलाई विश्वास र साथमा लिएर अघि बढ्नसके राजस्व अझै बढाउन सकिने वरिष्ठ उपाध्यक्ष ढकालले बताए ।

कर प्रशासन र स्थानीय सरकारले पनि राजस्वका स्रोत निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकाल, आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख शुभ रिजाललगायतद्वारा उत्कृष्ट करदाताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा साहेबवाला ट्रेडिङ प्रालि भद्रपुरका अजय साहेबवाला, फिक्कल उत्तम स्टोरका कुमार श्रेष्ठ, पाँचथरका जय अम्बे ट्रेर्डस एन्ड सप्लायर्सका राजन काफ्ले र सलिना सप्लायर्सका तिलमाया भट्टराई रहेका छन् । त्यसैगरी सो अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा टीकादत्त दाहाललाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया