Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल३५ लाखभन्दा बढीको अवैध सामान बरामद

३५ लाखभन्दा बढीको अवैध सामान बरामद


पोसकान्त पोखरेल
बुटवल, माघ २८
सशस्त्र प्रहरीबल नेपाल नं. २७ गण भैरहवा रुपन्देहीले चालू आर्थिक वर्षको सात महिनामा ३५ लाख ५९ हजार सात सय ४७ रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले बरामद गरेको उक्त सामान भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको गणका गणपति तथा सशस्त्र प्रहरीबल नेपाल भैरहवाका सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार नं. २७ गणसहित मातहतका इकाइहरु बीओपी पजकट्टी, बीओपी मझगाँवा, बीओपी बोगडी, बीओपी बयरघाट, सुरक्षा बेस करौता अवैध सामान बरामद गरी भन्सार कार्यालय पठाइएको हो ।

पोखरेलका अनुसार चालू आर्थिक वर्षको सात महिनामध्ये पुस महिनामा सबैभन्दा बढी २१ लाख ८३ हजार ५० रुपैयाँबराबरको भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका सामग्रीहरु बरामद गरिएको छ । चालू आर्थिक वर्षको सात महिनाको प्रगति विवरण हेर्दा कार्यालयले साउनमा ४७ हजार रुपैयाँ, भदौमा ७५ हजार पाँच सय रुपैयाँ, असोजमा चार लाख ९९ हजार पाँच सय दश रुपैयाँ, कात्तिकमा एक लाख ३१ हजार आठ सय २० रुपैयाँ, मंसिरमा एक लाख ९९ हजार आठ सय १७ रुपैयाँ, पुसमा २१ लाख ८३ हजार ५० रुपैयाँ र माघमा चार लाख २४ हजार ५० रुपैयाँबराबरको अवैध सामान बरामद गरी राज्यकोष वृद्धिमा योगदान दिएको छ ।

कार्यालयले चालू आवको सात महिनामा किराना तथा स्टेसनरीका सामानहरु, खाद्यान्न, लत्ताकपडा, मोटरसाइकल, रक्सी (कस्तुरी), जेनेरेटर, बिजुलीको टान्सफर्मर, मोबिल, सवारीसाधन, हार्डवेयरका सामान, मोबाइल, ब्रोइलर कुखुरा, प्याज, चिनी, विभिन्न किसिमका मोटरपार्टसका सामानहरुलगायतका अवैध सामग्रीहरु बरामद गरी भन्सार कार्यालय पठाएको छ । अवैध सामान नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको कार्यालयले अवैध कारोबारमा संलग्न केहीलाई नियन्त्रणमा लिई कारबाहीको लागि सम्बन्धित क्षेत्रमा पठाउन पनि सफल भएको छ ।

चालू आर्थिक वर्षको सात महिनामा समरीमाई गाउँपालिका वडा नं. २ बस्ने ३५ वर्षीय कयस महमद शेख, मायादेवी गाउँपालिका वडा नं. ५ बस्ने २६ वर्षीय कमलेस उपाध्याय र सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४२ का बलराज गुप्तालाई नक्कली सुनको अवैध कारोबारमा नियन्त्रण लिएर कारबाहीको लागि सम्बन्धित सरोकारवाला निकायलाई जिम्मा लगाएको छ ।

त्यसैगरी पोखरा लेखनाथ महानगरपालिका १६ बाटुलेचौर कास्की बस्ने १९ वर्षीय रक्की गरभुजा पुन र पोखरा लेखनाथ महानगरपालिका १६ बाटुलेचौर कास्की बस्ने १६ वर्षीय अरुण सुनारलाई अवैध लागूऔषधसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ भने सिद्धार्थनगर नगरपालिका–८ कस्ने २२ वर्षीय भोला निसादलाई अवैध रुपमा भारतबाट नेपाल ल्याएका विभिन्न सामग्रीसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित सरोकारवाला निकायमा पठाएको उपरीक्षक पोखरेलले जानकारी लिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया