Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसम्बन्धविच्छेद गर्नेको संख्यामा वृद्धि

सम्बन्धविच्छेद गर्नेको संख्यामा वृद्धि


सुबास बस्नेत
दोलखा, माघ २८
पछिल्लो समय दोलखामा सम्बन्धविच्छेद गर्नेहरुको संख्यामा वृद्धि भएको छ । जिल्ला अदालत दोलखामा एक सयभन्दा बढी सम्बन्धविच्छेदको मुद्दा दर्ता भएका छन् । सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउनेमा महिलाहरुकै संख्या बढी भएको जिल्ला अदालतले जनाएको छ । दोलखामा गत वर्ष ५७ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए ।

जिल्ला अदालत दोलखामा अहिले सम्बन्धविच्छेदका १ सय ३८ थान मुद्दा दर्ता भएर बसेका छन् । अदालतका अनुसार दर्ता भएका मुद्दामध्ये ३१ वटा फस्र्यौट भएको छ । अर्थात् ३१ जोडीले सम्बन्धविच्छेद गरेका छन् । चालू आवमा परेका ८० थानमध्ये ४७ थान महिलाले र ३४ थान पुरुषले मुद्दा दर्ता गराएको अदालतले जनाएको छ ।

२०७४ भदौ १ देखि पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने प्रावधानसहितको संहिता लागू भए पनि अदालतमा दर्ता भएका मुद्दामा पुरुषभन्दा महिलाको संख्या बढी रहेको अदालतका सूचना अधिकारी एकरामुल हकले बताए । मुलुकी देवानीसंहिता २०७४ को दफा ९६ मा सम्बन्धविच्छेद गर्न चाहने पति वा पत्नीले अदालतमा निवेदन दिन सक्नेछ भन्ने उल्लेख छ । ऐनले एक वर्ष मेलमिलापका लागि कुर्ने भनेको भए पनि त्यसपछि सम्बन्धविच्छेदमा जाने भएकाले समाजमा विकृति बढेर जानेमा उनले चिन्ता व्यक्त गरे । बाबुआमा सम्बन्धविच्छेद गरेपछि उनीहरुका सन्तानलाई हुने असरका बारेमा समयमा नै सोच्न नसकिएमा समाजमा विकृतिको अवस्था सिर्जना हुनेछ ।

सम्बन्धविच्छदेका लागि महिला, पुरुष दुवैतर्फबाट मुद्दा दर्ता हुनेक्रम बढेको छ । सम्बन्धविच्छेद बढ्नुको मुख्य कारण वैदेशिक रोजगारी, गरिबी, झैँझगडा र स्वतन्त्र रहन चाहनु रहेको उनले बताए । त्यसैगरी माघ २३ गतेसम्म अदालतमा करणीसम्बन्धी १९ थान मुद्दा दर्ता भएकोमा २ थान मात्र फस्र्यौट भएको छ । चोरीका १३ थान मुद्दा दर्ता भएकोमा फस्र्यौट हुन बाँकी रहेको जिल्ला अदालत चरीकोटले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया