Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालयो सिजनको पर्वतारोहण अन्तिम चरणमा

यो सिजनको पर्वतारोहण अन्तिम चरणमा


सोलुखुम्बु । यो सिजनको सगरमाथा आरोहण करिब अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८० प्रतिशत आरोहण दलको अभियान सकिएको पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार केही टोली आरोहण सकेर काठमाडौं फर्किएर पर्यटन विभागमा ब्रिफिङ समेत गरिसकेका छन् । केही टोली भने आरोहणकै सिलसिलामा छन् । यस्तै आरोहणको क्रममा एक विदेशी र एक नेपाली गरी दुई जनाको ज्यान गएको छ । यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा एक नेपाली सहयोगी र एक विदेशी आरोहीको ज्यान गएको हो । पर्यटन विभागका निर्देशक उपाध्यायका अनुसार कञ्चनजंघामा पनि एक भारतीय र धौलागिरिमा एक नेपाली सहयोगीको ज्यान गएको छ । ज्यान जानुको कारण खुल्न बाँकी रहेको उनले बताए । यसपालि आरोहीका लागि मौसमअनुकूल नै भएको निर्देशक उपाध्यायले बताए । ‘यो वर्ष हिमालमा तुलनात्मकरूपमा कम मानवीय क्षति भएको छ’, उनले भने, ‘यसो हुनुमा फटाफट आरोहण हुनु र मौसमले पनि साथ दिनु हो ।’ यस वर्ष आरोहीहरूका लागि मौसमअनुकूल नै देखिएको उपाध्यायले बताए ।

आरोहण दरमा वृद्धि : यो वर्षअनुकूल मौसम र ठूलो अप्रिय घटना नभएका कारण आरोहीको सफलता दर पनि बढिरहेको निर्देशक उपाध्यायले बताए । यसको विस्तृत विवरण भने सबै आरोही काठमाडौं फर्किएर सम्पर्क अधिकृतले दिने विवरण पछि निश्चित हुने उनको भनाइ छ । यो वर्ष कुल एक सय २३ समूहका नौ सय ६८ जना आरोहीले हिमाल चढ्न अनुमति लिएका थिए । यसमध्ये सात सय ५८ जना पुरुष र दुई सय १० जना महिला थिए ।

यो वर्ष कुल २७ वटा हिमालमा आरोहण अनुमति जारी भएको थियो । यसमध्ये सगरमाथामा मात्र ४२ समूहका तीन सय १९ जनाले अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार यो सिजनमा सरकारले ४८ करोड रुपैयाँ रोयल्टी संकलन गर्न सफल भएको छ । जसमध्ये सबैभन्दा धेरै ३९ करोड ९५ लाख रुपैयाँ रोयल्टी सगरमाथाबाट उठेको छ । ल्होत्से हिमालबाट दुई करोड ८४ लाख र कन्चनजंगा हिमालबाट एक करोड ३० लाख रुपैयाँ रोयल्टी उठेको विभागले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया