Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखाका विद्यार्थीले पाएनन् किताब !

दोलखाका विद्यार्थीले पाएनन् किताब !


दोलखा । जिल्लाका सामुदायिक तथा निजी विद्यालयले नयाँ शैक्षिक सत्र सुरु भएसँगै जेठ १ गतेदेखि कक्षा सञ्चालन गरेका छन् । तर सामुदायिक विद्यालयका विद्यार्थीले भने अझै पाठ्यपुस्तक पाएका छैनन् ।

वैशाखभित्र नयाँ भर्ना अभियान सकेर जेठ १ गतेदेखि पठनपाठन सुरु गरेका विद्यालयले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन सकेका छैनन् । स्थानीय निर्वाचनको मतपत्र साढे दुई महिना छापेर वितरण गरेको सरकारले विद्यालयको पाठ्यपुस्तक छाप्न भने ढिला गरेको पाइएको छ ।

जिल्लामा तीन सय ४२ वटा सामुदायिक विद्यालय रहेका छन् । ती सबै विद्यालयले कक्षा १ देखि ३ सम्म भने निजी विद्यालयमा पठनपाठन हुने पुस्तक पढाउने गरेका छन् । त्योबाहेक माथिल्लो कक्षाका विद्यार्थीका हातमा पुस्तक उपलब्ध गराउन नसकिएको विद्यालयहरूले जनाएका छन् । सरकारले जनक शिक्षा पाठ्यपुस्तक उत्पादन केन्द्रमार्फत सबै जिल्लामा पुस्तक पठाउने गरेको छ । तर यस पटक दोलखामा अझैसम्म पनि पुस्तक आउन नसकेको दोलखाका पुस्तक व्यवसायी एवं आचार्य बुक्स एन्ड स्टेसनरी सञ्चालक सकुन्तला आचार्यले बताइन् ।

उनको पसलमा अहिले पुस्तक आए नआएको सोध्ने विद्यालयका शिक्षक तथा विद्यार्थीको भिड नै लाग्नेगरेको छ । सरकारले समयमै पुस्तक छापेर जिल्लामा ढुवानी नगर्दा पसल नै बन्द गरेर बस्नुपर्ने अवस्था आएको उनले बताइन् । जनक शिक्षा सामग्री सेन्टरले दोलखाको लागि जेठ ९ र ११ गते पुस्तक पठाउने पत्रमार्फत जानकारी दिए पनि ९ गते पुस्तक पठाउन नसकेको चरीकोट बजारकै अर्का पुस्तक व्यवसायी शिवहरि थापाले बताए । उनले प्राइभेट कम्पनीले छापेको निजी र सामुदायिक विद्यालयका कक्षा १, ३ र ५ को किताब विद्यालयलाई दिए पनि कक्षा २, ४, ६, ७, ८, ९ र १० कक्षाका विद्यार्थीलाई पाठ्यपुस्तक दिन नसकेको बताए । जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन दिएको सरकारले जिल्लामा किताब छपाएर पठाउन भने नसकेको उनले बताए ।

यता शिक्षा विकास तथा समन्वय दोलखाका इकाइ प्रमुख शंकरबाबु श्रेष्ठले भने जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्र २०७९ मा परिवर्तन भएको कक्षा ४, ७ र ९ पाठ्यक्रमलाई पनि एकैसाथ छापेर ढुवानी गर्ने भएकाले जिल्लामा पाठ्यपुस्तक आउन ढिलाइ भएको बताए । विगत १० दिनदेखि कक्षा सञ्चालन भएपछि पुस्तक नहुँदा समस्या परेको कालिढुंगा माध्यामिक विद्यालय मिर्गेका प्राध्यानध्यापक पुष्कर कुमार दाहालले बताए । सरकारले किताब नपठाएको कारण विद्यालयको पठनपाठन नै प्रभावित बनेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया