Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहस्तकला महासंघद्वारा बजेटको स्वागत, पूर्ण कार्यान्वयन गर्न माग

हस्तकला महासंघद्वारा बजेटको स्वागत, पूर्ण कार्यान्वयन गर्न माग


काठमाडौं । नेपाल हस्तकला महासंघले सरकारले आगामी आर्थिक वर्षको लागी ल्याएको बजेटको स्वागत गरेको छ । बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै महासंघले हस्तकलालगायत लघु, घरेलु तथा साना उद्योगको संरक्षण सम्वर्द्धन र प्रवर्द्धन गर्ने गरी बजेट आएकोले यसको पूर्णरुपमा कार्यान्वयन गर्नमा समेत जोड दिएको छ ।

यस्तै महासंघले बजेट वक्तव्यमा उल्लेख गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सीप, विकास र सीप अभिवृद्धि र प्रविधि हस्तान्तरणसम्बन्धी तालीम कार्यक्रमहरु सञ्चालनको जिम्मेवारी महासंघलाई दिन आग्रह गरेको छ । यस कार्यक्रमबाट हस्तकला उद्योग व्यवसायबाट हजारौँको संख्यामा थप रोजगारी सिर्जना गर्न सकिने र हजारौं व्यक्तिलाई आय आर्जनमा संलग्न गराउन सकिने महासंघको भनाइ छ । त्यसैगरी उत्पादनमा वृद्धि : मुलुकको विकास र समृद्धि विशेष अभियान दशक २०७९–२०८९ सञ्चालन गर्नु स्वागतयोग्य कदम भएको भन्दै महासंघले यस अभियानबाट हस्तकलाका वस्तुको आन्तरिक उपभोग बढाउन र नेपाली हस्तकला वस्तुको निर्यात व्यापारमा उल्लेखनीय परिमाणमा वृद्धि ल्याउने गरी सरकारसंग सहकार्य गरी अघि बढ्न महासंघ सदैव तयार रहेको उल्लेख गरेको छ ।

बजेटमा उल्लिखित आफ्नै उत्पादन आफ्नै उपभोग भन्ने नारालाई सार्थक तुल्याउन सरकारले आफ्ना सम्पूर्ण निकायहरुमा नेपाली हस्तकला वस्तुहरुको उपभोग बढाउनुपर्नेमा महासंघले जोड दिएको छ । त्यसो भएको अवस्थामा मात्र मेक इन नेपाल र मेड इन नेपाल जस्तो निजी क्षेत्रले अघि सारेको अभियानले परिणाममुखी नतिजा ल्याउनसक्ने महासंघको ठम्याइ छ । यसैगरी नेपाली हस्तकलाको बिक्री प्रवर्द्धन गर्न भृकुटीमण्डप खुला बजार क्षेत्रमा रहेका पसलहरुमा हस्तकला प्रदर्शनी तथा बिक्री कक्ष स्थापना गर्ने नीतिको स्वागत गर्दै महासंघले यो व्यवस्था जतिसक्दो चाँडो कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । यो व्यवस्था कार्यान्वयन भएमा हस्तकला वस्तुको आन्तरिक बजार प्रवर्द्धनमा ठूलो सहयोग पुग्न जाने महासंघको विश्वास छ ।

यस्तै महासंघले बजेट वक्तव्यमा उल्लेख भएको अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्रको निर्माण कार्य शीघ्र प्रारम्भ गर्न आग्रह गरेको छ । नेपालमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला प्रदर्शनी गर्न प्रदर्शनीहलको अभाव रहेको महासंघको भनाइ छ । स्तरीय प्रदर्शनी हल नहुँदा व्यापार मेला तथा प्रदर्शनी गर्न निकै कठिन भइरहेको महासंघले जनाएको छ । यस्तै उत्पादित काठको गुणस्तर अभिवृद्धि गर्न निजी क्षेत्रको सहभागितामा सातवटै प्रदेशमा उड सिजनिङ्ग तथा ट्रिटमेन्ट प्लान्ट स्थापना गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्थाको स्वागत गर्दै महासंघले यो व्यवस्था कार्यान्वयन भएमा काष्ठकला बस्तुको गुणस्तर सुधार भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सघाउ पुग्ने उल्लेख गरेको छ ।

महासंघले सार्क हस्तकला विकास केन्द्रको सञ्चालनको लागि बजेट नछुट्याएकोमा भने असन्तुष्टि जनाएको छ । हस्तकला क्षेत्रको दिगो र दीर्घकालीन विकासको लागि सरकारले स्थापना गरेको सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणकार्य पूरा भइसकेको छ । साथै केन्द्र सञ्चालनको लागि महासंघले सञ्चालन कार्यविधिको मस्यौदा समेत सरकारलाई बुझाएको थियो । त्यसैगरी झण्डै डेढ दशकभन्दा अगाडि देखि सरकारसंगको सहकार्यमा हस्तकला ग्राम स्थापना गर्ने महासंघको प्रयासलाई पनि बजेटले सम्बोधन गर्न नसकेको महासंघले जनाएको छ ।

हस्तकला क्षेत्रको समष्टिगत विकास, विस्तार र प्रवर्द्धनको पूर्ण खाकासहित मस्यौदा गरी नेपाल सरकारमा प्रस्तुत गरिएको राष्ट्रिय हस्तकला विकास नीतिप्रति पनि बजेट वक्तव्य मौन रहेको महासंघको भनाइ छ । नेपाली हस्तकला वस्तुको प्रतिस्पर्धी क्षमता विकासको लागि मूल्यअभिवृद्धि प्रतिशतको आधारमा नेपाल सरकारबाट प्रदान गरिँदै आएको नगद प्रोत्साहनलाई डबल डिजिट दरमा वृद्धि गर्न महासंघले बारम्बार सरकारसँग आग्रह गरे पनि बजेट सकारात्मक नदेखिएको महासंघको आरोप छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया