Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचारवटा हिमालबाट ३३ हजार आठ सय ७७ केजी फोहोर संकलन

चारवटा हिमालबाट ३३ हजार आठ सय ७७ केजी फोहोर संकलन


काठमाडौं । नेपाली सेनाको अगुवाइमा सुरु भएको सफा हिमाल अभियानअन्तर्गत नेपालका चार हिमशृंखलाबाट ३३ हजार आठ सय ७७ केजी फोहोर संकलन गरिएको छ । सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरूप ‘हिमालय बचाउने प्रयास’ भन्ने मूल नाराका साथ ‘सफा हिमाल अभियान २०२२’ सञ्चालन गरिएको थियो ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य तीन हिमालहरू ल्होत्से, कञ्चनजंघा र मनास्लुको सफाइ गर्ने उद्देश्यका उक्त अभियान २०७८ चैत्र २२ गतेदेखि २०७९ जेठ २२ गतेसम्म सञ्चालन गरिएको हो । उक्त अभियानबाट कुहिने सात हजार दुई सय २७ केजी फोहोर तथा नकुहिने फोहोर २६ हजार छ सय ५० केजी संकलन गरिएको थियो । कुहिने फोहोर स्थानीय गाउँपालिका र नकुहिने फोहोर रिसाइकल एजेन्सीलाई हस्तान्तरण गरिएको छ । साथै, उक्त अभियानको दौरान कञ्चनजंघा आधार शिविरमा पहिचान खुल्न नसकेका दुईवटा मानव अस्थिरपञ्जर फेला परेको सेनाले जनाएको छ । उक्त अस्थिरपञ्जरहरू कानुनी प्रक्रियाका लागि ताप्लेजुङस्थित जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको थियो ।

हिमाल सफाइ अभियानको आइतबार समापन समेत गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा जङ्गी अड्डास्थित सभामण्डप हलमा अभियानको औपचारिकरूपमा समापन गरिएको हो । कार्यक्रममा प्रधान सेनापति शर्माले सफा हिमाल अभियान २०२२ सफल पार्न प्रत्यक्ष एवं परोक्षरूपमा संलग्न नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, पर्यटन मन्त्रालय, सरकारी एवं गैरसरकारी संघसंस्थाहरूलगायत सबैलाई धन्यवाद दिँदै सबैको प्रयासले नै अभियान सफल भएको बताए । साथै शर्माले भविष्यमा पनि प्रकृति तथा वातावरण संरक्षणका यस प्रकारका प्रयासहरूमा नेपाली सेना निरन्तर संलग्न रहने र सबैबाट सहयोग शुभेच्छा एवं ऐक्यबद्धता नेपाली सेनाले प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रमुख नापी अधिकृत एवं समगरमाथा आरोही खिमलाल गौतम, पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले सफा हिमाल अभियानका टोलीहरूलाई बधाई दिएका थिए ।

यस्तै कार्यक्रममा प्रधान सेनापति शर्माले उक्त अभियान सफलतापूर्वक सम्पन्न गर्न विभिन्न भूमिकाहरूबाट सहयोग गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघ÷संस्था, सेवा प्रदायक कम्पनी र व्यक्तिहरूलाई प्रतिनिधिमूलक रूपमा प्रमाणपत्र वितरण गरेका थिए । सोही क्रममा, प्रधान सेनापति शर्माले हिमाल सफाइका क्रममा सगरमाथा, ल्होत्से तथा नेपाली सेनाका तर्फबाट प्रथम पटक कञ्चनजंघा हिमाल सफलतापूर्वक आरोहण गर्ने नेपाली सेनाका सात जना सकलदर्जाहरूलाई प्रोत्साहनस्वरूप प्रधान सेनापति प्रशंसा निशान प्रदान गरे ।

यस किसिमको अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरणीय प्रदूषण तथा जलवायु परिवर्तनको असरलाई कम गर्न धेरै हदसम्म सहयोग पु-याउनुका साथै नेपालको पर्यटन व्यवसायमा सकारात्मक ऊर्जाको सञ्चार हुने नेपाली सेनाले विश्वास लिएको जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x