कुतियाकवरवासीका लागि विकास : आकाशको फल आँखा तरी मर
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १० को जोगबुडापारिको बस्ती कुतियाकवर र १८ नम्बर पिल्लर बस्ती विकासको प्रतीक्षा गरेको एक शताब्दीभन्दा बढी भयो तर, त्यहाँ विकासको आधारभूत पूर्वाधार समेत सरकारले पु/याउन सकेको छैन ।
उक्त बस्तीमा सरकार र राजनीतिक दलका प्रतिनिधि पुग्दा स्थानीयका समस्या तत्काल नै समाधान गरिदिने वाचा गर्ने गर्दछन् । तर त्यहाँबाट हिँडेपछि उक्त बस्तीका लागि कसैले आवाज उठाउने गरेका छैनन् । अझ विडम्बना त के भने, त्यस क्षेत्रका नागरिकको सरल र सहज बजार सम्पर्क सीमापारि भारतीय बजारसँग हुनेगर्छ । उनीहरू नेपाली रुपैयाँभन्दा भारतीय रुपैयाँ लेनदेन गर्न रुचाउँछन् । कुतियाकवरमा दुई वर्ष मात्रै विद्युत् सेवा विस्तार भए पनि १८ नम्बर बस्तीमा भने अझै बिजुलीबत्ती बाल्ने सपना पूरा हुन सकेको छैन । १८ नम्बर पिल्लर बस्तीका स्थानीयहरू अझै पनि टुकीको भरमा रात बिताउन बाध्य छन् । मोबाइल चार्ज गर्न समेत भारत धाउनुपर्ने उनीहरूको परिस्थिति छ । विकासका नाममा सरकारले कच्ची सडकमा ग्राबेलिङ गर्नेबाहेक केही गर्न नसक्दा कुतियाकवर र १८ नम्बर पिल्लर बस्ती सधैँ अभाव र कष्टमा बाँच्नु परेको स्थानीय बताउँछन् ।
कुतियाकवर र १८ नम्बर पिल्लर बस्तीमा प्राथमिक तहको विद्यालयसम्म छैन । बिरामीलाई उपचार गर्न भारत नै लैजानुपर्छ । त्यस क्षेत्रका नागरिक दोधारा चाँदनीको मुख्य बजार बाबाथान पुग्नुको साटो भारतीय बजार रोज्छन् किन भने त्यहाँ पुग्न सजिलो छ । यी बस्तीका स्थानीयले भोग्नुपरेका अनगिन्ती पीडामध्ये प्रमुख समस्या वर्षेनीको बाढी र डुबान पनि हो । भारतले बनबासा व्यारेजको ढोका खोलिदिएपछि सो क्षेत्रका अधिकांश भाग डुबानमा पर्ने गर्छन् । उनीहरूले बाढीबाट भोगेका क्षतिको दीर्घकालीन समाधान पनि सरकारले खोज्न सकेको छैन । गएको बाढीमा महाकाली नदीको धार बस्तीमा पसेका कारण अबका दिनहरूमा बाढी आएपछि महाकाली नदीले कुतियावकर बस्ती तहसनहस गर्ने पक्का छ ।
उता अठार नम्बर पिल्लर बस्ती जगबुडा नदीले वर्षा र हिउँदमा गर्ने कटानीको कारण बस्ती नै विस्थापित हुने उच्च जोखिममा रहेको छ । त्यस क्षेत्रका बासिन्दा भन्छन्, ‘विगत त्रासमै बित्यो, वर्तमान पनि उस्तै छ, भविष्य झनै अन्योलपूर्ण छ ।’ हरेक वर्ष उर्लिने महाकाली र जोगबुडा नदी समयक्रमसँगै नदीको सतह फैलिँदै र अग्लिँदै गइरहेको छ । कुतियाकवरवासी र अठार नम्बर पिल्लर बस्तीको दुःख थपिँदै गएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती भित्रिने जंगली जनावरको डर पनि उनीहरूको अर्को पीडा हो । महाकालीको कुतियाकवर, १८ नम्वर पिल्लर बस्तीलगायत क्षेत्रलाई विकासको मूल प्रवाहमा ल्याउने नै हो भने दीर्घकालीन एकीकृत योजना सञ्चालन ल्याउन जरुरी रहेको स्थानीय बताउँछन् ।
कुतियाकवर बस्तीका खेतीयोग्य जग्गा गत वर्षको बाढीले बगरमा परिणत भएका छन् । भारतको सीमासित आँगन जोडिएको कुतियाकवरमा ४५ घरपरिवार बसोबास गर्छन् । ‘सबै घरपरिवारको कमाइ खाने खेत बालुवाले पुरिएकै छ’, स्थानीय मोतीराम सुनारले भने । सरकारले बाढीपीडितहरूलाई घोषणा गरेको राहत उनीहरूमाझ अझैसम्म पुगेको छैन ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया