Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालमा लगानी गर्न अष्ट्रेलिया चेम्बरको आग्रह

नेपालमा लगानी गर्न अष्ट्रेलिया चेम्बरको आग्रह


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया सरकारसँग आग्रह गरेको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी वोल्कसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत्, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् ।

नेपाल र अष्ट्रेलियाबीच ६० वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र निजी क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यकता रहेको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । अष्ट्रेलियाले नेपालको वन क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न लामो समयदेखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा पनि जोड दिए । उनले जडीबुटी एवं खानीजन्य तथा धातुहरुको प्रशोधन गर्ने उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न समेत राजदूत वोल्कसँग आग्रह गरे । उनले भने, ‘समृद्ध मुलुक अष्ट्रेलियाले थुप्रै देशमा लगानी गरिरहेको छ । तर नेपालमा लगानी निकै नगन्य मात्रामा छ ।

भारत तथा बंगलादेशको विद्युत् बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युत्मा लगानी गर्नका लागि म महामहिम राजदूत वोल्कलाई आग्रह गर्दछु ।’ अष्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युत्मा लगानीका लागि अध्यक्ष मल्लले आग्रह समेत गरे । अष्ट्रेलियाको लगानी सुनिश्चित गर्न निजी क्षेत्रको तर्फबाट चेम्बरले पहल गर्ने उनको भनाइ थियो ।

यस्तै अध्यक्ष मल्लले अष्ट्रेलियाका विख्यात शैक्षिक संस्थाहरुबाट नेपाली शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न समेत आग्रह गरे । यस्तै उनले नेपाल र अष्ट्रेलियाबीच सिधा हवाइ सेवा विस्तार गरेर दुवै देशले फाइदा लिनसक्नेमा जोड दिए । यसले नेपालको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि अष्ट्रेलियाको निजी क्षेत्रमा पहल गरिदिन समेत उनले राजदूत वल्कलाई प्रस्ताव गरे ।

भेटमा राजदूत वल्कले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अष्ट्रेलियाले सधैँ गर्व गर्ने बताइन् । नेपालबाट वार्षिक ५० हजार विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीहरुको शैक्षिक सुधार तथा भविष्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिइन् । उनका अनुसार अष्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या विश्वमा चीन, भारतपछि तेस्रो स्थानमा छ । नेपालमा लगानीका लागि नीतिगत समस्या हुँदा पनि अष्ट्रेलियाबाट अपेक्षित लगानी आउन नसकेको राजदूत वल्कको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया