Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबीपीमा नौ केजी वजनको ट्युमरको शल्यक्रिया

बीपीमा नौ केजी वजनको ट्युमरको शल्यक्रिया


काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नौ केजी वजनको ट्युमरको जटिल शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ । उक्त शल्यक्रिया सप्तरी जिल्ला निवासी ५५ वर्षीय एक पुरुषको गत साउन ९ गते भएको थियो । उनको पेटको पछिल्लो भाग रेट्रोपेरिटोनियममा रहेको नौ केजी वजनको ट्युमरको शल्यक्रिया जीआई सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा. कुणाल विक्रम देवको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको हो । बिरामी शल्यक्रियाका लागि गत असार ३१ गते भर्ना भएका थिए ।

अस्पतालका अनुसार सामान्यतया रेट्रोपेरिटोनियल ट्युमर पेटको पछिल्लो भागमा रहेको शरीरको ठूला रगतको नशाजस्तैः एब्डोमिनल एओर्टा, इन्फिरियर भेना कावा, मिर्गौला र यस अंगबाट आएको पिसावको नली, ठूलो आन्द्रा, शरिरको तल्लो भागलाई सञ्चालन गर्ने स्नायुहरूसँग गाँसिएको हुनाले उक्त सर्जरी जटिल मानिन्छ । उक्त बिरामीको शल्यक्रियामा ट्युमरका साथै मृगौलाबाट आएको पिसावको नली पनि काटेर जोड्नु परेको साथै बाँया भागको आन्तरिक इलियाक धमनी बाँध्नुपरेको थियो । उक्त जटिल शल्यक्रियाका लागि मल्टिडिसिप्लेनरी टिम एप्रोज तरिकाबाट डा. कुणाल विक्रम देवको नेतृत्वमा जीआई सर्जरी विभागबाट प्राडा शैलेश अधिकारी, डा. सुजन गौतम, डा. रतिस कर्ण, डा. सुस्मित शर्मा, युरोलोजीबाट डा. आवाज काफ्ले, कार्डियोथोरासिक भास्कुलर सर्जरीबाट डा. विजय साह संलग्न थिए । साथै एनेस्थेसिया विभागबाट प्राडा आशिष घिमिरेको नेतृत्वमा डा. अरुण मण्डल, डा. सुजन पुन र नर्सिङका टिममा गीता विक, रेनुका चौधरी र शोभा राईको संलग्नता थियो ।

यसप्रकारको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्न एक कुशल टिमको सहभागिता तथा भूमिका आवश्यक हुने र सोहीबमोजिमको टिमको सहभागिताले शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ । आईसीयूको दुई दिनको बसाइ र सर्जरी वार्डको छ दिनको बसाइपछि बिरामी निको भई साउन १७ गते डिस्चार्ज भएका छन् । विगत पाँच महिनादेखि विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि अल्मलिरहेका बिरामी र उनका आफन्तलाई यस प्रकारको शल्यक्रिया नेपालमा सम्भव नरहेको लागेको रहेछ । तर प्रतिष्ठानमा ग्यास्ट्रो सर्जन डा. कुणाल विक्रम देवको सल्लाह र बिरामीप्रतिको सद्भाव देखेर यस प्रकारको शल्यक्रिया यसै अस्पतालमा सम्पन्न हुने विश्वास लागेको बिरामीका छोराले बताएको अस्पतालले जनाएको छ । साथै धेरै घरायसी खर्च गरेर विदेशको महँगो अस्पतालमा हुने जटिल शल्यक्रिया सर्वसुलभ तरिकाले कम खर्चमा यही नै सम्पन्न भएकोले प्रतिष्ठानप्रतिको विश्वास अझै बढेको पनि उनको भनाइ थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया