Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसाल्ट ट्रेडिङ कर्पोरेसन स्थापनाको ६० वर्ष पूरा

साल्ट ट्रेडिङ कर्पोरेसन स्थापनाको ६० वर्ष पूरा


काठमाडौं । नेपालमा हालसम्म नुनको व्यापारमा एकाधिकार रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लि. स्थापना भएको ६० वर्ष पूरा भएको छ । तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह २०१९ सालमा पूर्वाञ्चलको पहाडी क्षेत्रको भ्रमणको क्रममा त्यहाँका जनताहरुले नुन खान पाइएन सरकार भनेपछि राजा महेन्द्र काठमाडौं फर्केपछि जनतालाई नुनको समेत समस्या रहेछ सोको समाधान गर्नुप-यो भनेर तत्कालीन समयमा नुनको कारोबारमा संलग्न भएका सबै कारोबारीहरुलाई अनिवार्य सेयर होल्डर बनाएर मुख्य मुख्य नौ जना व्यापारीहरुलाई जिम्मेवारी दिई तत्कालीन वाणिज्य विभागको निर्देशक गजेन्द्र देव पाठकको अध्यक्षतामा २०२० साल भदौ २७ गते साल्ट ट्रेडिङ कर्पोरेसन लि.को स्थापना भएको थियो ।

तत्कालीन समयमा तिब्बत, भारत, जुम्ला, मुस्ताङ, मनाङलगायतका जुनसुकै ठाउँबाट नुन ल्याउने व्यापारीहरु साल्ट ट्रेडिङका सेयर होल्डर भएर यसको स्थापना गरिएको थियो ।

उद्देश्य : तत्कालीन समयमा साल्ट ट्रेडिङ को उद्देश्य हरेक जनताको घरमा सहज नुनको व्यवस्था भन्ने मात्र थियो । आफ्नो देशमा नुन उत्पादनको लागि स्रोत र साधन नभएको तत्कालीन समयमा नुन पाउनु धेरै ठूलो कुरो थियो । नुनको मूल्यदेखि लिएर गुणस्तरमा एकरुपता थिएन, उपलब्धता थिएन जसले गर्दा नुन पाउनु भनेको धेरै ठूलो कुरो थियो । तत्कालीन समयमा पहुँचवालाहरुले १०/१५ वर्षलाई पुग्ने नुन एकैपटक स्टक राख्ने चलन थियो ।

त्यस समयमा नुनको उपलब्धताको जुन अवस्था थियो त्यसलाई सहजीकरण गर्न सुलभ मूल्यमा गुणस्तरीय नुन सर्वसुलभ उपलब्ध होस् भन्ने उद्देश्यले नै साल्ट ट्रेडिङको स्थापना भएको हो ।

सेवाहरु : यसले विस्तारै आफ्नो सेवा विस्तार गर्दै गयो । सेवा विस्तार गर्ने क्रममा साल्ट ट्रेडिङले अन्य उद्योगहरु समेत आफ्नो लगानीमा स्थापना गर्न थाल्यो । अन्य अत्यावश्यक वस्तुहरु चिनी, मैदा पिठो, सुजी, दाल चामल लगाएको समेत यसले कारोबार गर्न थाल्यो ।

साथै साल्ट ट्रेडिङले औद्योगिक चिजहरु अखबरे कागजको कारोबार, सिमेन्टको कारोबार, एलपीजी ग्यासको बोटलिङ प्लान्ट राख्ने, इन्स्योरेन्स कम्पनीको स्थापना, गोरखकाली टायरमा मुख्य लगानीकर्ताको हैसियतमा लगानी, मोरङ सुगर मिलको सञ्चालन, खाद्य उद्योग नेपालकै पहिलो मैदा मिल र नेपालकै पहिलो वनस्पति घिउ उद्योगको स्थापना साल्ट ट्रेडिङले गरेको थियो ।

त्यतिबेला मैदा मिल नहुँदा गहुँ लगेर भारतमा बेच्ने र मैदा किनेर ल्याउनुपर्ने अवस्था थियो । मैदा मिल स्थापनासँगै यो कार्य बन्द भयो भने तयारी माल विदेशबाट ल्याउँदा जाने विदेशी मुद्रा रोक्नुका साथै नेपालीहरुलाई रोजगारीको समेत अवसर प्रदान गर्ने काममा साल्ट ट्रेडिङको महत्वपूर्ण भूमिका रहेको छ ।

विशेष परिस्थितिमा साल्ट ट्रेडिङको सेवाहरु र यसको महत्व
२०४५ सालमा भारतसँग वाणिज्य सन्धि नवीकरण नहुँदा भारतले नाकाबन्दी लगाएको थियो । त्यस नाकाबन्दीमा नेपालमा सबै कुराको अभाव हुँदा समेत नुनको अभाव साल्ट ट्रेडिङले हुन दिएन । साल्ट ट्रेडिङले त्यही बेला समेत छ महिनालाई पुग्ने नुन स्टक राखेको थियो भने अहिले नौ महिनालाई पुग्ने नुन राख्ने गरेको छ ।

त्यस्तै २०५२ सालको बाढीमा काठमाडौं छिर्ने चारवटा महत्वपूर्ण पुल बगाएर काठमाडौं प्रवेश गर्ने बाटो बन्द हुँदा महिनौँसम्म पनि साल्ट ट्रेडिङले नुनको अभाव हुन दिएन । त्यस्तै २०६२/०६३ सालको जनआन्दोलन र त्यसलगत्तै १८ दिनको मधेश आन्दोलनले ढुवानी समस्या हुँदा समेत कुनै पनि नेपालको भूभागमा नुनको अभाव भएन । त्यसपछि २०७२ सालको भूकम्प त्यसलगत्तै भारतको अघोषित नाकाबन्दीमा समेत देशभर कहीँ कतै नुनको अभाव हुन पाएन । यतिमात्र नभएर पछिल्लो पटक नेपालमा कर्फ्यु नै जस्तो गरी कोरोनाको कारण बन्द रहँदा समेत साल्ट ट्रेडिङले टोलटोलमा साल्ट ट्रेडिङ भनेर डेलिभरी भ्यानमार्फत सेवा दिएको थियो ।

साल्ट ट्रेडिङले यति मात्र नभएर हरेक वर्ष दशैं तिहार लगायतका ठूला चाडबाडमा समेत नेपाल सरकारको निर्देशकबमोजिम सहुलियत पसल, सुपथ मूल्यका पसल सञ्चालन गर्नुको साथै डेलिभरी भ्यानमार्फत समेत सेवा पु¥याइरहेको छ ।

आर्थिक अवस्था : जनताहरुलाई सहज र सुपथ मूल्यमा दैनिक उपभोग्य सामान बिक्री गरेर पनि साल्ट ट्रेडिङ हरेक वर्ष कर्मचारीहरुलाई बोनस खुवाउन सक्ने अवस्थाका साथ सञ्चालन हुँदै आएको छ । यसले कर्मचारीलाई मात्र नभएर साल्ट ट्रेडिङका सेयर होल्डरहरुलाई समेत राम्रो डिभिडेन्ड दिँदै आएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया