Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्रथम ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु

प्रथम ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु


काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा प्रथम ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको छ । खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता आइतबारदेखि सुरु भएको हो ।

लैनचौर खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले उद्घाटन गरेका हुन् । कार्यक्रममा वडाध्यक्ष तिवारीले खेलकुदले खेलाडीलाई स्वस्थ्य राख्नुका साथै समाजलाई एकताबद्ध हुन सहयोग पुग्ने बताए । आगामी दिनमा यस्ता खेलकुदलाई निरन्तरता दिन वडा कार्यालयले सहयोग गर्ने उनको भनाइ थियो । यस्तै उनले लैनचौर खेल मैदानले मुलुकका लागि धेरै खेलाडी उत्पादन गरेको बताए । यस मैदानको संरक्षणका लागि लैनचौर युवा क्लब र एनसेलसँगको सहकार्यमा वडाले काम गरिरहेको उल्लेख गरे ।

यस्तै लैनचौर युवा क्लबका अध्यक्ष एवं सामुदायिक प्रहरी सेवा केन्द्र ठमेलका अध्यक्ष रम्बा रजकले ठमेल क्षेत्रको पर्यटन विकासका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताए । एनसेलको सहयोगमा काठमाडौं महानगरपालिका–२६ लैनचौरमा निर्माण भएको उक्त खेलमैदान लैनचौर युवा क्लबले ठमेल पर्यटन भेट्रान्स फुटबल कपका लागि ठाउँ निःशुल्क उपलब्ध गराएको उनको भनाइ थियो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले खेलकुद क्षेत्रलाई पर्यटनसँग जोड्दै ठमेल क्षेत्रमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । अहिले स्वदेशी खेलाडीलाई प्रतियोगितामा समावेश गरिए पनि आगामी दिनमा विदेशी खेलाडीलाई समेत बोलाएर यस्ता प्रतियोगिता आयोजना गर्ने उनको भनाइ थियो । प्रतियोगिताका संयोजक एवं परिषद्का उपाध्यक्ष प्रश्रयराज भण्डारीले तीन दिनसम्म चल्ने प्रतियोगितामा देशभरका १७ टिमको सहभागिता रहेको जानकारी दिए ।

प्रतियोगितामा ठमेल क्षेत्रका तीन टिम, डिल्लीबजार, सिन्धुपाल्चोक, मनाङ मर्स्याङ्दी, कैलाली, जोरपाटी, फ्रिडम फाइटर, बौद्ध, सङ्गम पोखरा, चाबहिल, चितवन, कोटेश्वर, कपन, लाजिम्पाटलगायत फुटबल टिमको सहभागिता रहेको छ । ४० वर्ष उमेर कटेका खेलाडीको सहभागिता रहने उक्त खेलमा प्रथम हुने टिमलाई दुई लाख रूपैयाँ नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई नगद एक लाख रूपैयाँ मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, धेरै गोल हान्ने खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही १० हजार रूपैयाँ र प्रमाणपत्र प्रदान गरिने परिषद्का महासचिव राजिव पाण्डेले जानकारी दिए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया