Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘सरकारले जुत्ता उद्योग खोले निजी जुत्ताचप्पल उद्योगहरु बन्द गरेर बस्नुपर्ने अवस्था आउँछ’

‘सरकारले जुत्ता उद्योग खोले निजी जुत्ताचप्पल उद्योगहरु बन्द गरेर बस्नुपर्ने अवस्था आउँछ’


काठमाडौं । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले सरकारले आफैँ नयाँ जुत्ता उद्योग खोले भएका निजी जुत्ताचप्पल उद्योगहरु बन्द गरेर बस्नुपर्ने अवस्था आउने बताएका छन् । जुत्ता उत्पादक संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताए ।

राज्यले भएका साना तथा घरेलु उद्योगहरुलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने अवस्थामा आफैँ नयाँ उद्योग खोल्न लाग्नु राम्रो नभएको उनको भनाइ थियो । घिमिरेले सरकारले भएका उद्योगलाई नीतिगत रुपमा संरक्षण गर्ने भएकाले कुनै पनि देशमा सरकार आफैँले उद्योग र व्यवसायमा लाग्ने गरेको नदेखिएको बताए । उनले वर्तमान अवस्थामा निजी नेपाली जुत्ता चप्पल उद्योगसँग वार्षिक १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता रहेको जानकारी दिए । सरकारको नीतिगत व्यवस्था र अन्य कारणले नेपाली निजी जुत्ता उद्योग अहिले ३५ प्रतिशतभन्दा बढी सञ्चालन हुन नसकेको उनको आरोप छ । घिमिरेले भएका उद्योग पूर्ण क्षमतामा चल्न नसकेको अवस्थामा राज्य आफैँले नयाँ उद्योग खोल्नु निजी उद्योगीहरुको लागि राम्रो नहुने बताए । उनले सरकार भएका उद्योगहरुको संरक्षण गर्नुपर्ने अवस्थामा आफैँ उद्योग व्यवसायमा लागे जुत्ता उत्पादक संघ नेपालले विरोध गर्ने समेत बताए ।

पत्रकार सम्मेलनमा संघले नेपाली जुत्ता उद्योग देशको मागलाई धान्नसक्ने उत्पादन क्षमताको विकास भएको बताएको छ । संघले नेपालको दक्षिण सीमानाबाट हुने चोरी, पैठारी र कम मूल्यका कारण नेपाली जुत्ता उद्योगी व्यवसायीहरुलाई मार परेको जानकारी दिएको छ । खुला सिमानामा हुने जुत्ताचप्पल चोरी, पैठारी नियन्त्रणमा सरकार सशक्त रुपमा लाग्न माग गरेको छ । चोरीपैठारी रोकी ३० अर्ब बढी स्वदेशी लगानीमा सञ्चालित १५ सय उद्योग बचाउन संघले सरकारसँग माग गरेको छ ।


क्याटेगोरी : नेपाल


तपाईको प्रतिक्रिया