Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसमाजिक सुरक्षा कोषमा करिब ३६ अर्ब संकलन

समाजिक सुरक्षा कोषमा करिब ३६ अर्ब संकलन


काठमाडौं,सामाजिक सुरक्षा कोषमा करिब ३६ अर्ब रुपैयाँ योगदान रकम संकलन भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएपछि योगदान रकम ३५ अर्ब ९५ करोड २७ लाख रुपैयाँ संकलन भएको कोषले जनाएको छ । असार तेस्रो सतासम्म कुल छ लाख १४ हजार चार सय पाँच जना योगदानकर्ता कोषमा सूचीकृत भएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलनको थालनी गरेको थियो । करिब चार वर्षको अवधिमा कोषमा सो रकम संकलन भएकोे हो ।

पछिल्लो एक महिनामा कोषमा करिब तीन अर्ब रुपैयाँ रकम संकलन भएको छ । जेठ महिनामा दुई अर्ब ८६ करोड रुपैयाँ संकलन भएको थियो । पछिल्लो समय सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई पनि कोषमा आबद्ध गरेपछि सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि भएको प्रवक्ता पन्थीले बताए । कोषले चैत दोस्रो सातादेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समाजिक सुरक्षा योजनामा आबद्ध गरेको हो । अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका ५० हजारभन्दा बढी श्रमिक कोषमा आबद्ध भएका छन् । अपौचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको छ ।

अहिलेसम्म कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या १७ हजार नौ सय ८१ जना रहेका छन् । कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा कोषको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ । सो ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्नसक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको हुँदा सोहीअनुरूप काम गर्दै आएको छ ।

समीक्षा अवधिमा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ५६ करोड ८२ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत छ करोड ९३ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत आठ करोड ४२ लाख रुपैयाँ र अवकाश दाबी रकम चार अर्ब १७ करोड ७९ लाख रुपैयाँ भुक्तानीको लागि प्रक्रिया अघि बढाएको छ । समीक्षा अवधिमा चार अर्ब ८९ करोड ९७ लाख रुपैयाँ कुल दाबी भुक्तानी परेको कोषले जनाएको छ । दाबी गरिएको रकम प्रक्रिया बुझेर सहज ढंगले भुक्तानी गर्ने कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।

अहिलेसम्म छ लाख १४ हजार चार सय पाँच जना योगदानकर्ताहरू कोषमा आबद्ध भएका छन् । कोषको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६÷७७ मा एक लाख ३२ हजार सात सय २२ जना, आर्थिक वर्ष २०७७÷७८ मा ३६ हजार २० जना र आर्थिक वर्ष २०७८÷७९ मा एक लाख २७ हजार एक हजार १६ जना योगदानकर्ता सूचीकृत भएका थिए । कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम संकलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्नेजस्ता कार्यहरू गर्दै आएको छ ।

कोषले गर्ने कार्य सम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने समेत बताएको छ । बंैकिङ प्रणलीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि तीन सय ९८ स्थानीय तहले बैंकसँग सम्झौता गरी बैंक खातामा भुक्तानी समेत गर्दै आएको छ । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सामाजिक सुरक्षा सूचना प्रणाली सफ्टवयेर तयार गरी कार्यान्वयनमा ल्याइएको कोषले जनाएको छ । प्रविधिमैत्री हुने क्रममा वैशाखदेखि कोषमा ३६ महिना नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रदान गरिएको छ ।

कोषले पछिल्लो समय भने ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिनसक्ने सुविधा प्रदान गरेको थियो । सो निर्देशिकाअनुरूप योगदानकर्ताले ‘घर र शैक्षिक सापटी’ लिन सक्नेछन् । ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ । शैक्षिक सापटीअन्तर्गत भने कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकास हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । सविधा दिने क्रममा कोषले योगदान रकममा आठ प्रतिशत ब्याज दिन थालेको छ । कोषमा संकलन भएको रकमलाई सुरक्षित लगानी गरी प्रतिफल निकाल्नेमा विश्वस्त रहेको भन्दै ब्याजदर तोकिएको कोषका अधिकारीहरूले बताएका छन् । कोषबाट चालू आर्थिक वर्षको लागि योगदान रकममा आठ प्रतिशत ब्याजदर स्वीकृत गरिसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया