Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाभीमेश्वर नगरपालिकामा फोहोरको वर्गीकरण

भीमेश्वर नगरपालिकामा फोहोरको वर्गीकरण


जिल्लाको भीमेश्वर नगरपालिकाले स्थानीय फोहोरमैला व्यवस्थापन र स्वच्छ नगर निर्माण गर्न सक्रियता देखाएको छ । जिल्लाको सदरमुकाम समेत रहेको भीमेश्वर नगरले पछिल्ला दिनहरूमा घर आँगनबाटै फोहोरको वर्गीकरण गर्न थालेको नगरप्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिए ।

यहाँका व्यवसायी तथा स्थानीय नागरिकले चुलोबाटै कुहिने, नकुहिने, सिसाजन्य र प्लास्टिक फोहोरको वर्गीकरण गरेर छुट्टाछुट्टै भाँडोमा जम्मा गर्ने गरेका छन् । बजार क्षेत्रमा सबैभन्दा ठूलो समस्याको रूपमा रहेको फोहोरमैलालाई बिस्तारै व्यवस्थित गर्दै लगेको नगरप्रमुख मानन्धरले बताए । ‘नगरपालिकाको सौन्दर्य होस् वा स्वास्थ्य समस्यामा फोहोर व्यवस्थापनलाई जोडेर हेरिन्छ’, उनले भने, ‘बजार क्षेत्रबाट एक ठाउँको फोहोर अर्को ठाउँमा व्यवस्थापन गर्नका लागि बर्सेनि राज्यको करोडौँ रुपैयाँ खर्च हुने गरेको छ ।’ यिनै समस्याको समाधानका लागि नगरले स्वच्छ भीमेश्वर निर्माण र फोहोर व्यवस्थापन गर्न पाँचवटा अत्याधुनिक उपकरण ल्याएको थियो । सो उपकरणले प्लास्टिक, सिसा र हड्डीजन्य फोहोर व्यवस्थापन तथा प्रशोधन गर्न थालेको छ ।

प्लास्टिक तथा हड्डीजन्य पदार्थहरू पुनः प्रयोग गर्न मिल्नेगरी प्रशोधन गरिने र सिसाको धुलो भारत निकासी गर्ने योजना बनाएर नगरले फोहोर संकलन केन्द्रबाट प्रशोधन गर्न सुरु गरेको नगरप्रमुख मानन्धरले जानकारी दिए । ‘स्वच्छ भीमेश्वर, सफा भीमेश्वर’ अभियानमा सबैको साथ र सहयोग मिले जिल्लाकै सफा नगर भीमेश्वर बन्ने उनको दाबी छ । सो उपकरणले प्लास्टिक सफा गर्ने, सिसाको बोतल, हड्डी पिस्ने र प्लास्टिकका बोतल क्रसिङ गर्ने काम गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाको मुख्य समस्या रहेको फोहोरको व्यवस्थापन गर्न करिब ३२ लाखमा थप उपकरण ल्याइएको हो । भीमेश्वर नगरमा सबैभन्दा बढी फोहोर चरिकोट बजार र दोलखा बजारबाट निस्किने गर्छ । नगरले दैनिक उठाउने फोहोरको तालिका बनाएको छ ।

एकदिन कुहिने र अर्कोदिन नकुहिने फोहोर संकलन गरेर प्रशोधन केन्द्रमा जोडिएका उपकरणसम्म लैजाने गरिएको छ । यता चरिकोटका कतिपय स्थानीयले भने घर चुलोबाट निस्केको फोहोरलाई सदुपयोग गरेर कौसी खेती समेत गर्न थालेको भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले जानकारी दिइन् । स्थानीयले घरआँगनबाट निस्केको फोहोरलाई कुहिने र नकुहिने छुट्याएर कुहिने फोहोरलाई मलको रूपमा प्रयोग गर्न थालेको उनको भनाइ छ । नकुहिने फोहोरलाई भीमेश्वर सरसफाइ केन्द्रमा पठाउने गरेको उनले बताइन् ।


क्याटेगोरी : समाचार, नगरपालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया