Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षानौ दशमलव २५ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी

नौ दशमलव २५ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी


सामाजिक सुरक्षा कोषले धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा नौ दशमलव २५ प्रतिशत वार्षिक ब्याजदर कायम गरी ऋण (सापटी) उपलब्ध गराउने भएको छ । कोषले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको योगदानकर्ता वृद्धावस्था सुरक्षा योजना, विशेष सापटी योजना र घर तथा शैक्षिक सापटीमा सो ब्याजदर तोकेको हो । धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेको खण्डमा भने कोषले हर्जना ब्याजदरको रूपमा एक प्रतिशत लिनेछ ।

यस्तै, योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा प्रदान गर्ने वार्षिक ब्याजदर सात दशमलव पाँच प्रतिशत, अवकाश कोषबाट योगदानकर्ताले लिएको विशेष सापटीमा कोषले लिने वार्षिक ब्याजदर आठ दशमलव छ प्रतिशत कायम गरेको छ । कोष सञ्चालक समितिको असार अन्तिम साता बसेको निर्णयले विभिन्न योजनामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।

यसअघि योगदनकर्ताका लागि घर, शैक्षिक र सामाजिक कार्य सापटीमा वार्षिक ब्याजदर नौ दशमलव ७५ प्रतिशत, विशेष सापटीमा वार्षिक ब्याजदर नौ दशमलव एक प्रतिशत थियो । २०७९ असार २८ गते कोषले उक्त ब्याजदर कायम गरेको हो । गतवर्षको तुलनामा घर तथा शैक्षिक सापटी र विशेष सापटीमा वार्षिक ब्याजदरमा कमी गरेको छ । घर तथा शैक्षिक सापटीमा शून्य दशमलव पाँच प्रतिशत र विशेष सापटीमा शून्य दशमलव पाँच प्रतिशतले कमी आएको छ ।

कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ताका लागि घर तथा शैक्षिक सापटी, हर्जना ब्याजदर, वृद्धवास्था सुरक्षा योजना र विशेष सापटी गरी चारवटा योजनाको वार्षिक ब्याजदर साउन १ गतेदेखि कार्यान्वनयमा आएको बताए । अब योगदानकर्ताले आफूलाई आवश्यकताअनुरूप वार्षिक ब्याजदरको आधारमा रकम अर्थात् ऋण लिनसक्ने उनको भनाइ छ । योगदानकर्तालाई प्रदान गर्ने सुविधालाई सहज र फराकिलो बनाउने क्रममा वार्षिक ब्याजदर केही हदसम्म भए पनि कमी गरिएको कोषले जनाएको छ ।

सहुलियत ब्याजरदमा विभिन्न योजनाअन्तर्गत आफ्ना योगदानकर्तालाई रकम उपलब्ध गराइरहेको अवस्थामा पछिल्लो समय योगदानकर्ताको हितमा राखी ब्याजदर कायम गर्ने काम गरिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आर्थिक दैनिकलाई बताए । कार्यकारी निर्देशक ज्ञवालीले ब्याजदर तथा योजनालाई सुविधापूर्ण बनाउने योजना रहे पनि हाललाई भने ज्यादै लचक हुँदैै सो निर्णय गरेको तथा आगामी दिनमा कोषमार्फत सुविधाहरूलाई थप सहज बनाउने योजना रहेको बताए । कोषले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४को दफा १० बमोजिम औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजना सञ्चालन गर्दै आएको छ । ती योजनामा रही योगदानकर्ताले रकम योगदान गर्ने तथा योजना सुविधा लिनसक्ने व्यवस्था गरिएको छ ।

यस्तै, कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै चालू आर्थिक वर्षको आइतबारसम्म ३८ अर्ब ८९ करोड चार लाख रुपैयाँ योगदान रकम संकलन भएको छ । समीक्षा अवधिमा छ लाख ७२ हजार ६२ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएको प्रवक्ता पन्थीले बताए । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलनको थालनी गरेको थियो । करिब पाँच वर्षको समयमा कोषमा योगदान रकमको रूपमा उक्त रकम संकलन भएको हो ।

कोषले समीक्षा अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ६० करोड ७३ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत सात करोड ३७ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत आठ करोड ९१ लाख रुपैयाँ र अवकाश दाबी रकम चार अर्ब ४१ करोड ६६ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा पाँच अर्ब १८ करोड ६७ लाख रुपैयाँ कुल दाबी भुक्तानी परेको गरिएको छ । दाबी गरिएको रकम प्रक्रिया बुझेर सहज ढंगले भुक्तानी गर्ने कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा, बिशेष, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया