Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशपानीडाँडामै पानीको हाहाकार !

पानीडाँडामै पानीको हाहाकार !


सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ५ जुबुको पानीडाँडामा पानीको हाहाकार हुँदा करिब १६ घरपरिवार समस्यामा परेका छन् । विगत दुई वर्षयता सो क्षेत्रमा खानेपानी आपूर्ति ठप्प हुँदा पानीडाँडा र खिप्लीका १६ घर परिवार समस्यामा परेका हुन् ।

यसअघि पानीको मुहान क्षेत्र नै मानिने पानीडाँडा क्षेत्रमा सुकेपोखरी व्यवस्थापनपछि खानेपानीको मुहान नै सुकेको स्थानीय निरकुमार बस्नेतले बताए । गाउँमा खानेपानी अभाव भएपछि करिब दुई किलोमिटरको दूरीमा रहेको जंगलको कुवाबाट पानी बोकेर खान बाध्य भएको स्थानीय प्रेम बस्नेतको गुनासो छ । गाउँघर युवाविहीन हुँदा पानीडाँडा क्षेत्रमा पनि वृद्धवृद्धा मात्रै रहेका छन् । वृद्धवृद्धालाई पिउने पानीकै लागि झण्डै आधा घण्टाको दूरीसम्म हिँड्नुपर्दा समस्या भएको बस्नेतले बताए । पानीको समस्याका कारण खेतीपातीदेखि पशुपालनका लागि समेत अत्यन्तै असहज भएको उनको भनाइ छ ।

स्थानीयले हाल करिब तीन किलोमिटरको दूरीमा रहेको इतल्कु खोलाको पानी वस्तुभाउका लागि प्रयोग गर्दै आएका छन् । सुकेपोखरी व्यवस्थापनको क्रममा पानी पोखरीमा लैजानुपर्दा पानीडाँडा क्षेत्रमा पानी अभाव भएको जुबुका वडाध्यक्ष चन्द्रबहादुर राईले बताए । समस्या समाधानका लागि पालिकास्तरीय खानेपानी बोर्डले वर्षात् सकिएलगत्तै काम अघि बढाउने गाउँपालिका अध्यक्ष असिम राई बताउँछन् । यसअघि पालिकाको पहलमा सो क्षेत्रमा खानेपानी पाइपहरू वितरण गरे पनि स्थानीयवासी कम सक्रिय हुँदा समस्या निम्तिएको उनको भनाइ छ । सो समस्या समाधानका लागि पालिकाले केही दिनभित्रैमा प्राविधिकसहितको टोली खटाएर काम अघि बढाउने अध्यक्ष राईले बताए ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया