Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपीसीआर परीक्षणको मूल्य अझै तोकिएन  

पीसीआर परीक्षणको मूल्य अझै तोकिएन  


काठमाडौं, जेठ ८
निजी स्वास्थ्य संस्थाहरुले प्रक्रिया पूरा गरेर पीसीआर विधिबाट कोरोना भाईरसको परीक्षण गर्न पाउने भए पनि कति शुल्क लिएर गर्न पाउने भन्ने बारेमा सरकारले कुनै निर्णय नगर्दा अन्यौलता उत्पन्न भएको छ । लकडाउनको कारण बेरोजगार भएकाहरुले सामाजिक सञ्जालमा सरकारले १५ हजार रुपैयाँमा निजी स्वास्थ्य संस्थामा पीसीआर विधिबाट कोरोना भाईरसको परीक्षण गर्ने व्यवस्था ग-यो भनेर अफबाहर फैलाए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बुधबारसम्म शुल्क नतोएिको प्रष्ट पारेको छ ।

मंगलबार मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले स्वेच्छाले परीक्षण गर्न चाहनेहरुलाई निजी स्वास्थ्य संस्थामा पनि परीक्षण गर्न पाउने व्यवस्था गरिएको बताएका थिए । पीसीआर परीक्षणको दायरा बढाउन सरकारले उक्त निर्णय गरेको हो । तर, क्वारेन्टाइनमा बसेका, स्वास्थ्य समस्या देखिएकाहरुको हकमा भने सरकारले सित्तैमा पीसीआर विधिबाट परीक्षण गर्ने छ ।

तर, कसैले लहडले परीक्षण गराउन चाहेमा उसले पैसा तिरेर निजी स्वास्थ्य संस्थाबाट परीक्षण गर्न पाउने मात्र व्यवस्था सरकारले गरेको छ । शुल्क केही दिनभित्रमै तोक्ने बताएको छ । तर, सामाजिक सञ्जालमा सर्वसाधारणलाई भ्रममा पार्नेगरी विभिन्न पेशा तथा व्यवसाय गर्ने र राजनीतिक दलका नेताहरुले पनि पीसीआर परीक्षणको शुल्क १५ हजार रुपैयाँ पर्छ भनेर गलत प्रचार गरिरहेका छन् । सरकारले आरडीटी परीक्षणको शुल्क पनि तोकेको छैन ।

मन्त्रालयका आइसिएस कोर्डिनेटर डा गुणराज लोहनीले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ को परीक्षणको दायरा बढाउन सार्वजनिक स्वास्थ्य संस्थालाई पिसिआरबाट परीक्षण गर्न दिने भएता पनि शुल्क नतोकिएको जानकारी दिएका हुन् । “पिसिआर विधिबाट परीक्षणको लागि मन्त्रालयले दर तोकिदिने भएता पनि हालसम्म तोकि नसकेको व्यहोरा सर्वसाधारणमा जानकारी गराइन्छ”, उनले भने, “अहिले परीक्षणको दायरालाई व्यापक बनाउने कार्य मात्र गरिएको मात्रै हो, के कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रवन्ध कसरी अपनाउनेलगायतका विषयमा छलफल र निर्णय हुन बाँकी नै रहेको छ ।”

यस्तै बुधबार मात्रै नेपालमा थप २५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँग नेपालमा कोरोना लाग्नेको संख्या चार सय २७ पुगेको छ । संक्रमित मध्ये तीन सय ५८ जना पुरुष र ६९ जना महिला छन् । कोरोना संक्रमण बढ्दै जाँदा सरकारले केही क्षेत्रलाई सिल गर्दै परीक्षणलाई पनि बढाएको छ । बुधबारसम्म ३७ जिल्लाका बासिन्दामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा थप छ जनामा कोरोना लागेको पुष्टि भएको छ । नरैनापुर गाउँपालिका–५ का १७, २०, २८, ३० र ४० वर्षका पुरुष तथा खजुराका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै, बुधबार नै कपिलवस्तुमा पनि थप १३ जनामा कोरोना लागेको पुुिष्ट भएको छ ।

कपिलवस्तुमा तीन, चार र छ वर्षका बालिकामा पनि कोरोना देखिएको छ । विजयनगर र महाराजगञ्ज गाउँपालिककाका कोरोना संक्रमित भेटिएका हुन् । यस्तै, धनकुटामा पनि बुधबार नै पाँचजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । चार पुरुष र एक महिलामा कोरोना भएको पुष्टि भएको हो । यस्तै, नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–५ का एकजनामा पनि कोरोना पुष्टि भएको छ ।

४५ जना डिस्चार्ज : नेपालम कोरोना संक्रमित मध्ये ४५ जना निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विराटनगरको कोशी अस्पतालमा उपचाररत आठजना बुधबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा पाँच जना भारतीय र तीनजना उदयपुरको भुल्केका छन् । उनीहरु वैशाख ५ र ९ गते अस्पताल भर्ना भएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया