Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमित्रमिलन सहकारीविरुद्ध करिब साढे सात सय जना बचतकर्ताको उजुरी

मित्रमिलन सहकारीविरुद्ध करिब साढे सात सय जना बचतकर्ताको उजुरी


पोखरा । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध सात सय ४४ जनाभन्दा बढी बचतकर्ताले प्रहरीमा जाहेरी दिएका । जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर १९ गते सूचना जारी गर्दै सहकारीबाट पीडित भएका बचतकर्तालाई जाहेरी दरखास्त दिन आह्वान गरेको थियो ।

सबै बचत कर्ताको दाबी २० करोड रुपैयाँभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए । जाहेरीकर्ता अझै थपिन सक्ने भएको हुँदा दाबी रकम अहिलेसम्मको २० करोड रुपैयाँभन्दा माथि पुग्न सक्ने उनले बताए ।

यसअघि सहकारी रजिष्ट्रारको कार्यालयले गरेको वित्तीय अध्ययन तथा विश्लेषणबाट भने बचतकर्ताको २६ करोड ८० लाख रुपैयाँ अपचलन भएको देखाएको थियो । रजिष्ट्रारको कार्यालयले तयार पारेको अध्ययन प्रतिवेदन प्रहरी कार्यालयमा बुझाइसकेको छ ।

सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा अध्ययन अनुसन्धान जारी रहेको डिएसपी विकले बताए । त्यस क्रममा नै पीडित बचतकर्ताबाट जाहेरी आह्वान भएको हो । उनका अनुसार सहकारीका सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेका र रकम हिनामिना एवं ठगी गरेको विषयमा अनुसन्धानकै क्रममा छ ।

सहकारीबाट पीडित भएका बचतकर्ताले सहकारी ऐन सम्बन्धी कसुरमा अनुसन्धान गरी प्रस्तुत कसुरमा कारबाहीको माग गरेका छन् । उजुरीका लागि समयसीमा तोकिए पनि आउने थप जाहेरीलाई पनि लिइने डिएसपी विकले भने । सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारीसहित केही व्यक्ति पक्राउ परिसकेकाले उनीहरुलाई अब सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अघि बढाउने तयारी कास्की प्रहरीको छ ।

बैकिङ्ग कसूरबाहेक अब उनीहरुलाई सहकारीको रकम अपचलनको मुद्दा पनि थपिएको छ । अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले दर्जनौं नक्कली खाता र नक्कली युजर आइडी बनाएर बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।

सहकारी ऐन २०७४ को दफा १२२ मा सहकारी सदस्यको बचत ऐन, नियम र विनियम बमोजिमबाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग भएमा कसुर गरेको मानिने व्यवस्था गरेको छ । सहकारीको यसै प्रकरणमा ३० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएसँगै अधिकांश फरार छन् ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया