Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषयी दश महानिर्देशकहरु ,जो नक्कली लाइसेन्समा मुछिए (कति लाइसेन्स दिइयो सूचिसहित)

यी दश महानिर्देशकहरु ,जो नक्कली लाइसेन्समा मुछिए (कति लाइसेन्स दिइयो सूचिसहित)


काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा मुछिएका यातायात व्यवस्था विभागका दशमध्ये दुई पूर्वमहानिर्देशक हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् ।

वि.स. २०७६ मंसिर ९ गतेदेखि ०७७ फागुन २० सम्म विभागको महानिर्देशकमा गोगनबहादुर हमाल थिए । उनका पालामा दश हजार ५३५ नक्कली लाइसेन्स जारी भएको तथ्य विभागकै एक अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

हमाल हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत छन् । उनलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०८० भदौमा अध्यागमन विभागको प्रमुख बनाएका थिए ।

त्यसैगरी लाइसेन्स प्रकरणमा मुछिएका डा. टोकराज पाण्डेय हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख छन् । ०७९ भदौ २० देखि माघ २४ सम्म विभागका महानिर्देशक रहेका पाण्डेयको पालामा एक हजार ८४ नक्कली लाइसेन्स जारी भएको प्रतिवेदन विभागले तयार पारेको छ ।

विभागको अध्ययन प्रतिवेदन अनुसार, सबैभन्दा बढी फर्जी लाइसेन्स रुपनारायण भट्टराई महानिर्देशक हुँदा वितरण भएका थिए । उनी ०७३ सालको फागुन २१ देखि ०७५ सालको जेठ ११ सम्म विभागको नेतृत्वमा थिए । उनको पालामा ३१ हजार ६६२ लाइसेन्स वितरण भएको थियो । भट्टराईले हाल अवकाश पाइसकेका छन् ।
०७५ साउन १४ देखि फागुन २१ सम्म महानिर्देशक रहेका लावण्यकुमार ढकाल पनि अवकाश भइसकेका छन् । उनी विभागको नेतृत्वमा हुँदा सात हजार ३९४ नक्कली लाइसेन्स जारी भएका थिए ।

विद्युतीय सवारीचालक अनुमतिपत्र प्रणाली (ईडीएल) लागु भएको सुरुवाती चरणमा महानिर्देशक भएका चन्द्रमान श्रेष्ठको पालामा एक हजार ४५९ नक्कली लाइसेन्स वितरण भएका छन् ।

तत्कालीन महानिर्देशक नमराज घिमिरेको पालामा ८ हजार २०० फर्जी लाइसेन्स जारी भएका थिए । घिमिरे हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहसचिव छन् । कुमारप्रसाद दाहाल विभागको नेतृत्वमा रहँदा तीन हजार ५४९ नक्कली लाइसेन्स जारी भएका थिए ।

उनी हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भूमि व्यवस्थापन महाशाखामा सहसचिव छन् । तुलसीनाथ गौतम विभागको महानिर्देशक रहँदा एक हजार १३६ नक्कली लाइसेन्स जारी भएका छन् । उनी हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सहसचिव छन् ।

हाल गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता रहेका नारायणप्रसाद भट्टराईको कार्यकालमा ६९७ नक्कली लाइसेन्स जारी भएको विभागले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

दुई महिनामात्रै विभागको महानिर्देशक भएका सुरेश राउतको पालामा ३५० नक्कली लाइसेन्स जारी भएका छन् । राउत हाल चीनको चेङ्दुस्थित नेपालको महावाणिज्य दूतावासमा महावाणिज्यदूत छन् ।

विभागका हालका महानिर्देशक उद्धवप्रसाद रिजालको नेतृत्वमा फर्जी लाइसेन्स वितरण भएबारे अध्ययन भएको छ । विभागका निर्देशक मुकेश रेग्मी उक्त अध्ययन एवं छानबिन समितिका संयोजक थिए । देशभरकै ३५ वटा यातायात व्यवस्था कार्यालयहरूबाट नक्कली लाइसेन्स वितरण भएको प्रतिवेदनको निश्कर्ष छ । ती कार्यालय प्रमुखलाई लाइसेन्सको अनलाइन प्रणालीमा पहुँच मिल्ने आईडी उपलब्ध हुन्छ ।


क्याटेगोरी : बिशेष, समाचार

तपाईको प्रतिक्रिया