Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअध्यागमनका कर्मचारीद्वारा समिति बनाएर घुसको रेट तोकेर भिजिट भिसाको धन्दा गरेको खुलासा !

अध्यागमनका कर्मचारीद्वारा समिति बनाएर घुसको रेट तोकेर भिजिट भिसाको धन्दा गरेको खुलासा !


भिजिट भिसाको सेटिङ मिलाएर विदेश पठाउन अध्यागमनका अधिकृतहरुले समिति नै बनाएर काम गरेको खुलेको छ । पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले प्रहरी समक्ष आफूले मात्रै सेटिङको काम नगरेको र समतिको र समिति नै बनाएर काम गरेको बयान दिएका हुन् । सरकारी कागजात किर्ते गरी संगठित रूपमा भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले २२ जनाविरुद्ध मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । तीमध्ये ९ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा एकै सिफ्टमा कार्यरत अध्यागमन अधिकृतहरू छन् ।

अपराध अनुसन्धान कार्यालयले भिजिट भिसाका नाममा भएको मानव तस्करी अनियमिततामा छानबिन र अनुसन्धान अघि बढाएपछि आरोपीमध्ये १२ जना फरार छन् । तीमध्ये पनि फरार हुनेमा ८ जना अध्यागमन अधिकृत रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।अध्यागमन अधिकृत खड्काकै बयानका आधारमा अन्य ८ जना अधिकृतलाई पनि प्रहरीले प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको हो । जिल्ला अदालतबाट प्रक्राउ पुर्जी जारी भइसकेका अध्यागमन अधिकृत ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल, सुजन फागो फरार छन् । कुँवरले गर्दै आएको काम पछि आफूले गरेको खड्काले प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका हुन् ।

गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले चितवन भरतपुर–८ की गीता शाह, काठमाडौं महानगर–३२ का अरुण दाहाल, सिराहा मिचैंया नगरपालिका–१२ का सरोजकुमार यादव, रामेछाप दोरम्बा गाउँपालिका–७ का पदम लामा, स्याङ्जा चापाकोट–१ का रामप्रसाद भण्डारी, वालिङ नगरपालिका–५ रविन अर्याल, गुल्मी सत्यावती गाउँपालिका–७ का दिनेश ज्ञवाली, ललितपुर महालक्ष्मी नगरपालिका–४ का विनोद कार्की, सिनामंगलमा होटल सञ्चालक केदारबहादुर खड्का, बारा सिमरा–१५ की कौशिला मगर, सोलुखुम्बु दूधकोशी–४ की लक्ष्मी राई, सिन्धुली कमलामाई–५ की रीता दमाईलाई पनि प्रतिवादी बनाएको छ । तीमध्ये खड्का, मगर, राई, दमाई पनि फरार छन् ।अधिकृत खड्का पक्राउ पर्नुअघि पनि नक्कली कागजात बनाएर भिजिट भिसा जारी गरी विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा भूतपूर्व असई र विमानस्थलमा कार्यरत एक जवानसहित १६ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो । उक्त मुद्दाको अनुसन्धानमा अध्यागमन अधिकृत खड्काले भिजिट भिसाका नाममा मानव बेचबिखन गरेको आरोपमा उजुरीसमेत परेको थियो । सोही उजुरीका आधारमा छानबिन र अनुसन्धान गर्दै जाँदा अध्यागमनका अधिकृतसहित गिरोह नै सक्रिय रहेको पाइएको प्रहरी स्रोतले बताएको छ ।


क्याटेगोरी : समाचार, सुलसुले

तपाईको प्रतिक्रिया