Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगतालचोकमा सुलभ बजार तरकारी मण्डी सञ्चालन

तालचोकमा सुलभ बजार तरकारी मण्डी सञ्चालन


पोखरा । पोखरा महानगरपालिका वडा नं.२७ को तालचोकमा सुलभबजार तरकारी मण्डी सञ्चालनमा आएको छ । फलफूल तथा तरकारीजन्य वस्तु सङ्कलन तथा विक्री वितरण गर्ने उद्देश्यले मण्डी सञ्चालन गरिएको हो ।

मण्डीमा ६ व्यवसायीले ६० लाख लगानी गरेका छन् । बजारमा २५ सटर छन् । बजारले कास्कीको रुपा गाउँपालिकदेखि बेगनास, माँझठाना, वरपौवासम्मका कृषकलाई ढुवानीदेखि उत्पादनको भुक्तानीसम्मका प्रक्रियामा सहज हुने अपेक्षा गरिएको सञ्चालक प्रमोद भण्डारीले बताए ।मुलुकको बिग्रदो अर्थतन्त्र, युवाको बढ्दो विदेश पलायनको अवस्थामा पनि इच्छा, आकांक्षा र जाँगर चलाउने हो भने स्वदेश मै केही गर्न सकिने बजारका अध्यक्ष वीरभद्र कँडेलले बताए ।

बजारमा ताजा तरकारी, फलफूल, माछा मासुलगायत विभिन्न कृषि उत्पादनको खरिद तथा विक्री गरिने प्रबन्ध निर्देशक थीरभद्र कँडेलले जानकारी दिए । उक्त बजारको केही दिन अघि हास्यकलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले उद्घाटन गरेका थिए । सो अवसरमा कलाकार गिरीले धेरै कृषकको भावनालाई सम्बोधन गर्न र उत्पादनलाई बजारीकरण गर्नुका साथै उपभोक्ताका लागि नाम जस्तै सुलभ बन्न सकोस् भन्ने शुभेच्छा प्रकट गरे । मुलुकमा समृद्धिका कुरा धेरै गरेपनि देशको राजनीति सहज नहुँदा किसानले उत्पादन गरेका वस्तुले बजार नपाएको उनले स्पष्ट पारे ।

पोखरा महानगरपालिका वडा नं. ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले स्थानीय कृषकका उत्पादनलाई बजारीकरण गर्ने थलोको रुपमा बजार स्थापित गरिएकोमा खुसी व्यक्त गरे । उनले अग्र्यानिक र स्थानीय उत्पादनलाई जोड दिन आग्रहसमेत गरे ।

पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले स्थानीयस्तरमा कृषकले गरेका उत्पादनलाई उचित तवरले व्यवस्थापन गर्न आग्रह गरे । उनले स्वच्छता कायम गर्ने विषयमा महानगरपालिकालेसमेत निकट भविष्यमा मापदण्ड तय गर्ने जनाए । लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले अधिकांश कृषि उपज आयात गर्नुपर्ने अवस्था रहेकोमा स्थानीय कृषकलाई प्रवद्र्धन गर्ने उद्देश्यले खोलिएको बजारबाट कृषक एवं उपभोक्ता दुवै लाभान्वित हुने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया