Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुलुकको व्यापारघाटा १० खर्ब ५३ अर्ब

मुलुकको व्यापारघाटा १० खर्ब ५३ अर्ब


काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा मुलुकले साढे १० खर्बभन्दा बढी व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्म १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ व्यापारघाटा भएको छ । यो अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ ।

चैतसम्म ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँबराबरको आयात भएको छ भने एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँबराबरको निर्यात भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ११ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८९ प्रतिशत छ ।

वैदेशिक व्यापार गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा घटेको छ । गत आर्थिक वर्षको नौ महिनामा कुल वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड रुपैयाँबराबर थियो । यस आर्थिक वर्षको चैतसम्म वैदेशिक व्यापार दुई दशमलव ९२ प्रतिशत घटेर १२ खर्ब ८१ अर्ब १३ करोडमा झरेको छ । निर्यात र आयात दुवैमा कमी आएको छ । निर्यात एक वर्षअघिको तुलनामा तीन दशमलव ६६ प्रतिशत घटेको छ भने आयात दुई दशमलव ८४ प्रतिशत घटेको छ ।

भारतसँग साढे छ खर्ब व्यापारघाटा
नेपालले सबैभन्दा ठूलो वैदेशिक व्यापार गर्ने भारतसँग मात्र छ खर्ब ५१ अर्ब ८० करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । भारतबाट सात खर्ब २९ अर्ब ६५ करोड ८५ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ भने ७७ अर्ब ८५ करोड ५२ लाख रुपैयाँबराबरको निर्यात भएको छ ।

यस्तै, चीनसँग व्यापारघाटा दुई खर्ब १४ अर्ब ६५ करोड रुपैयाँबराबर छ । यस आर्थिक वर्षको नौ महिनामा चीनबाट दुई खर्ब १६ अर्ब ७६ करोड ९५ लाख रुपैयाँबराबरको आयात भएको छ भने दुई अर्ब ११ करोड ४४ लाख रुपैयाँबराबरको निर्यात भएको छ । वैदेशिक व्यापारमा नेपालले बढी घाटा व्यहोरेका मुलुकमा संयुक्त अरब इमिरेट्स (यूएई) तेस्रो स्थानमा छ । यूएईबाट २० अर्ब ४८ करोड सात लाख रुपैयाँबराबरको आयात हुँदा एक अर्ब ९५ करोड ७९ लाख रुपैयाँबराबरको निर्यात भएको छ । यूएईसँग व्यापारघाटा १८ अर्ब ५२ करोड २७ लाख रुपैयाँ छ ।

नेपालले बढी व्यापारघाटा व्यहोरेका मुलुकमा युक्रेन चौथो, मलेसिया पाँचौँ र अस्ट्रेलिया छैटौँ स्थानमा छन् । युक्रेनसँग व्यापारघाटा १४ अर्ब ९० करोड रुपैयाँ, मलेसियासँग १४ अर्ब १६ करोड रुपैयाँ र अस्ट्रेलियासँग नौ अर्ब पाँच करोड रुपैयाँ छ ।

३२ मुलुकसँग व्यापारनाफा
नेपालले ३२ वटा मुलुकसँगको वैदेशिक व्यापार नाफामा छ । सबैभन्दा धेरै व्यापारनाफा डेनमार्कसँग छ । डेनमार्कमा नेपालले २८ करोड ७७ लाख ७१ हजार रुपैयाँ बराबरको आयात र ६७ करोड ८३ लाख ७५ हजार रुपैयाँबराबरको निर्यात गरेको छ । यसबाट ३९ करोड छ लाख तीन हजार रुपैयाँबराबर व्यापारनाफा भएको छ । त्यस्तै, अफगानिस्तानसँग १८ करोड नौ लाख रुपैयाँ, नर्वेसँग १० करोड ८४ लाख रुपैयाँ र सुडानसँग तीन करोड ४३ लाख रुपैयाँ व्यापारनाफा देखिएको छ ।

साढे दुई खर्बको पेट्रोलियम पदार्थ आयात
चालू आर्थिक वर्षको नौ महिनामा दुई खर्ब ४६ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल एक खर्ब तीन अर्ब २२ करोड ८४ लाख रुपैयाँ, पेट्रोल ५० अर्ब २५ करोड ३९ लाख रुपैयाँ, खाना पकाउने ग्यास ४१ अर्ब ७६ लाख रुपैयाँको आयात भएको छ ।

फलाम तथा स्टिल ९७ अर्ब २४ करोड रुपैयाँ, मेसिनरी र मेकानिकल उपकरण र पाट्र्स ७७ अर्ब ७३ करोड रुपैयाँ र विद्युतीय सामग्री र उपकरण ७६ अर्ब २० करोड रुपैयाँको आयात भएको छ ।

यस्तै, प्लास्टिकजन्य वस्तु ४३ अर्ब ७१ करोड रुपैयाँ, तेलजन्य वस्तु ३७ अर्ब ८२ करोड रुपैयाँ, खाद्यान्न ३७ अर्ब एक करोड रुपैयाँ, औषधी ३० अर्ब ५६ करोड रुपैयाँ र तरकारी २२ अर्ब ८७ करोड रुपैयाँको आयात भएको छ ।

नेपालबाट सात अर्ब ८१ करोडको कार्पेट तथा टेक्सटाइल निर्यात भएको छ । छ अर्ब २८ करोडको अलैँची, पाँच अर्ब १६ करोडको फलाम तथा स्टिलजन्य वस्तु, पाम तेल पाँच अर्ब सात करोडको निर्यात भएको छ । यसबाहेक जुस, प्लाइउड, जुट तथा जुटका सामग्री, चिया, पश्मिना सल, कुकुर विरालाका आहारालगायतका सामग्री पनि निर्यात भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया