Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार४४ मध्ये २६ सार्वजनिक संस्थान नाफामा

४४ मध्ये २६ सार्वजनिक संस्थान नाफामा


काठमाडौं । सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा देखिएका छन् । सरकारको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार आर्थिक वर्ष २०७९/८० सम्म २६ वटा नाफामा, १५ वटा घाटामा र तीनवटाको कारोबार शून्य छ ।

सरकारले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८०मा सार्वजनिक संस्थानहरूको कुल सञ्चालन आय छ खर्ब ६१ अर्ब एक करोड २९ लाख रुपैयाँ छ । जुन आर्थिक वर्ष २०७८/७९को तुलनामा १४ दशमलव ८७ प्रतिशत बढी हो । सो वर्ष सार्वजनिक संस्थानहरूको कुल सञ्चालन आय पाँच खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ थियो ।

सार्वजनिक संस्थानको समग्र खुद नाफा तीन हजार ४६ दशमलव दुई प्रतिशतले बढेर आर्थिक वर्षृ २०७९/८०मा ४८ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यसरी नाफा उच्च हुनुमा नेपाल आयल निगम आर्थिक वर्ष २०७८/७९मा ३८ अर्ब १७ करोड ७८ लाख रुपैयाँ घाटा रहेकोमा आर्थिक वर्ष २०७९/८०मा ११ अर्ब ७२ करोड ३० लाख रुपैयाँ नाफामा पुग्नु भएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० मा नाफामा सञ्चालित २६ संस्थानको गत वर्षको तुलनामा खुद नाफा नौ सय ८१ दशमलव ४० प्रतिशतले बढेको छ । यस्तै नोक्सानीमा सञ्चालित १५ संस्थानको गत वर्षको तुलनामा खुद नोक्सानी दुई दशमलव ८१ प्रतिशतले बढेको देखिन्छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्च २३ दशमलव ७९ प्रतिशतले बढेको छ ।

संस्थानको सेयरधनी कोष (नेटवर्थ) अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भई नौ खर्ब ८२ अर्ब १३ करोड १७ लाख पुगेको छ । समीक्षा अवधिमा ३२ वटा संस्थानको सेयरधनी कोष धनात्मक र बाँकी १० वटाको ऋणात्मक छ ।

सार्वजनिक संस्थानका नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा आठ दशमलव ६२ प्रतिशतले वृद्धि भई छ खर्ब ६१ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तुलनामा सेयर लगानी नौ दशमलव १९ प्रतिशतले वृद्धि भई तीन खर्ब ७९ अर्ब ७२ करोड १६ लाख रुपैयाँ पुगेको छ भने ऋण लगानी सात दशमलव ८६ प्रतिशतले कमी आई दुई खर्ब ८१ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा कोषमा व्यवस्था नभएको दायित्व ११ दशमलव ६३ प्रतिशतले वृद्धि भई ५२ अर्ब ८७ करोड दुई लाख रुपैयाँ पुगेको छ भने सम्भावित दायित्व ४४ दशमलव ८३ प्रतिशतले बढेको छ ।

सार्वजनिक संस्थानमा आर्थिक वर्ष २०७८/७९ को तुलनामा चुक्ता पुँजी १० दशमलव ६२ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९/८० मा चार खर्ब १२ अर्ब १२ करोड ८१ लाख रुपैयाँ पुगेको थियो । जसमा नेपाल सरकारको पुँजी लगानी ९२ दशमलव १३ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको सात दशमलव ८७ प्रतिशत सेयर स्वामित्व रहेको छ । आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादन ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँमा सार्वजनिक संस्थानको कुल सञ्चालन आयको अनुपात १२ दशमलव २८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको सञ्चितकोषमा सार्वजनिक संस्थानले कुल १७ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ आयकर दाखिला गरेका थिए ।

त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक संस्थानमा ३२ हजार एक सय ८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । जनोपयोगी क्षेत्रका संस्थानमा सबैभन्दा बढी १३ हजार तीन सय ७७ जना र सामाजिक क्षेत्रका संस्थानमा सबैभन्दा कम एक हजार चार सय आठ जना कार्यरत छन् ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा संस्थानको सञ्चित नाफामा १६ दशमलव ६८ प्रतिशतले वृद्धि भई ६१ अर्ब १४ करोड ९६ लाख रुपैयाँ पुगेको छ । सञ्चालनमा रहेका संस्थानमध्ये सातवटा संस्थान नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत छन् । कुल बजार पुँजीकरणमा सूचीकृत सरकारी संस्थानको हिस्सा विसं २०८० असार मसान्तमा १८ दशमलव ३२ प्रतिशत रहेको छ ।

निजीकरण गरिएका १८ वटा सार्वजनिक संस्थानमध्ये १० वटा संस्थान नाफामा छन् । निजीकरण ऐनबमोजिम खारेज भएका १२ संस्थानमध्ये हालसम्म कृषि चुन उद्योग लिमिटेडको मात्र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता खारेजी भई कानुनीरूपमा अस्तित्व समाप्त भएको छ ।

कृषि औजार कारखाना लिमिटेड बन्द रहेकोमा मन्त्रिपरिषद्को वि.सं २०७९ भदौ ३१ को निर्णयानुसार यसलाई राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिइएको छ भने अन्य खारेजीमा परेका सार्वजनिक संस्थानको कानुनी प्रक्रिया पूरा हुन सकेको छैन ।

सार्वजनिक संस्थानको प्रशासनिक खर्च आर्थिक वर्ष २०७८/७९ मा ३५ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/८० मा २३ दशमलव ७९ प्रतिशतले वृद्धि भई ४३ अर्ब ९० करोड १८ लाख रुपैयाँ रहेको छ । २० वटा संस्थानले लेखापरीक्षण गराएका छन् भने अन्य २४ वटा संस्थानले नियमित लेखापरीक्षण गराएका छैनन् ।

आर्थिक वर्ष २०७९/८० मा उच्च खुद नाफा आर्जन गर्ने पाँच सार्वजनिक संस्थानमा क्रमशः नेपाल आयल निगम लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् ।

उच्च नोक्सान भएका पाँच सार्वजनिक संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम लिमिटेड, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल टेलिभिजन रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x