Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसवारीसाधनमा जोरविजोर प्रणाली प्रत्येक जिल्ला बन्द गर्ने अधिकार

सवारीसाधनमा जोरविजोर प्रणाली प्रत्येक जिल्ला बन्द गर्ने अधिकार


काठमाडौं,साउन २२

कोरोना भाइरस कोभिड–१९ बाट अतिप्रभावित काठमाडौं उपत्यकासहित केही जिल्लामा आज बिहीबारदेखि सार्वजनिक तथा निजी वारीसाधन सञ्चालनमा नियन्त्रण गरिएको छ । काठमाडौं उपत्यकासहित दुई सय जनाभन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा सार्वजनिक तथा निजी सवारी सञ्चालन गर्दा जोरविजोर नम्बरअनुसार सञ्चालन गर्नुपर्ने छ । जोर दिन जोर नम्बरका र विजोर दिन विजोर नम्बरका गाडी मात्र सञ्चालन गर्न पाइनेछ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्र बहादुर बुढाले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दुई सय जनाभन्दा बढी कोरोना संक्रमित त्यस्ता जिल्लाहरुमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन पनि बन्द गरिएको छ । जोरविजोर प्रणाली र आवागमन बन्दको निर्णय भने अन्यावश्यक सेवाबाहेककामा मात्र लागू हुनेछ । अहिले सहरी क्षेत्रमा गाडीको लामो जाम हुने गरेको छ ।

जोरविजोर प्रणाली लागू भएपछि गाडीको जाम कम भई भीडभाड पनि कम हुने अपेक्षा सरकारको छ ।गृह मन्त्रालयका अनुसार कोभिड–१९ को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र र स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने र कोभिड–१९ को थप परीक्षणको व्यवस्था मिलाउनुपर्नेछ ।

यस्तै, सरकारले आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने जनाएको छ । सरकारले यही साउन ३२ गतेसम्मका लागि अन्तर्राष्ट्रिय नाका बन्द गरे पनि भारतीयहरु लुकीछिपी नेपाल प्रवेश गरिरहेका छन् । रातिको समयमा नेपाल प्रवेश गर्ने क्रम बढेको कारण गृह मन्त्रालयले बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि मानिसका हिँड्डुल नै बन्द गरेको हो ।

यस्तै, होटल रेष्टुरेण्ट हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य पनि निषेध गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गरिनेछ ।

जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सो को सञ्चालकसमेतलाई कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ । देशभरमा बुधबार ३ सय ८१ जनालाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशरभरका छ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा यी सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल सक्रिय सङ्क्रमित छ हजार १ सय ७४ रहेको बताए । देशरभमा क्वारेन्टाइनमा रहेकाको सङ्ख्या नौ हजार ९ सय २५ रहेको छ । त्यस्तै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पछिल्लो २४ घण्टामा १ सय ३० जना रहेको छ । बुधबारसम्म १५ हजार १ सय ५६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । जम्मा सङ्क्रमितमा ७० दशमललव ८ प्रतिशत निको भएका छन् ।

देशको कुल जनसङ्ख्यामा १ दशमलव ४ प्रतिशतको पीसीआर परीक्षण भएको छ भने परीक्षण भएकामा ५ दशमलव १ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । देशभरमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र कैलाली रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ५७ जना र ललितपुर जिल्लामा पाँच जना सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । नयाँ सङ्क्रमित देखिएका जिल्लामा सुनसरी, इलाम, सप्तरी, उदयपुर, मोरङ, सर्लाही, धनुषा, महोतरी, रौतहट र सिरहा रहेको छ । त्यस्तै, बारा, पर्सा, गोरखा, कपिलवस्तु, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, बाग्लुङ, कास्की, स्याङ्जा, बाँके, दाङ, सुर्खेत, कालिकोट र बझाङमा पनि पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित फेला परेका छन् ।

त्यस्तै हाल सक्रिय सङ्क्रमित नभएका जिल्लामा खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुम–पश्चिम गरी सात जिल्ला छन् । मन्त्रालयले दिएको जानकारीअनुसार कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । पर्साका १९ वर्षीय युवती र पर्साकै ४६ वर्षीय पुरुषको मृत्यु भएसँगै यो सङ्ख्या ६० पुगेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x