Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेट अभावमा राष्ट्रिय गौरवको हुलाकी राजमार्ग निर्माणकार्य रोकियो

बजेट अभावमा राष्ट्रिय गौरवको हुलाकी राजमार्ग निर्माणकार्य रोकियो


काठमाडौं ।
सरकारले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाहरुको निर्माणकार्यका लागि बजेट अभाव हुन नदिने बताए पनि बजेट अभावकै कारण हुलाकी राजमार्गको निर्माण कार्य रोकिएको छ । आयोजनाले सडक विभागबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा समयमै थप बजेट माग गरे पनि अर्थले प्राथमिकता नबुझ्दा केही दिनदेखि निर्माणकार्य नै रोकिएको छ ।

करिब ११ वर्षदेखि विभिन्न कारणले रोकिएको ठूला र साना गरी करिब दुई दर्जन मोटरेबल पुल र केही सडक खण्ड चालू आर्थिक वर्ष २०७७/०७८ मै निर्माण पूरा गर्ने गरी आयोजनाले तीव्र गतिमा काम गराइरहेको बेला अर्थले बजेट नदिएपछि काम ठप्प भएको सडक विभागले जनाएको छ ।

‘करिब ११ वर्षदेखि रोकिएका केही महत्वपूर्ण ठाउँका ठूला र साना गरी २० वटा पुलहरु र सडकमा ठेकेदार परिचालित भएर राम्रोसँग काम भइरहेको थियो बजेट अभावमा अहिले प्रायः सबै ठाउँको पुलको काम ठप्प भएको छ’, सडक विभागका एक अधिकारीले भने, ‘हामीले समयमै थप बजेट मागे पनि अर्थले दिएको छैन । यसले गर्दा पुँजीगत बजेट खर्च गर्ने सरकारी योजना नै प्रभावित हुने निश्चित छ ।’

बजेट अभावमा हुलाकी राजमार्गको झापा, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, चितवन, कपिलवस्तु र कैलाली जिल्लामा पुल र सडकको काम रोकिएको हो । बजेट अभाव नभएको भए चालू आवमा विगतदेखि रोकिएका ३० वटासम्म मोटरेबल पुल निर्माण पूरा गर्न सकिने गरी काम अगाडि बढेको आयोजनाका प्रमुख रोहित कुमार बिसुरालले बताए । ‘बजेट नभएपछि आयोजनाले ठेकेदारलाई दिनसकेको छैन । पैसा नभएपछि ठेकेदारले सडक र पुलका काम रोकेको छ’, आयोजना प्रमुख बिसुरालले भने, ‘आयोजनाको तर्फबाट समयमै बजेट माग गरेका हौँ । यसमा सडक विभाग र भौतिक मन्त्रालयले अर्थ मन्त्रालयसँग समन्वय गरिरहेको होला । धमाधम काम गर्ने बेलामा बजेट अभाव हुँदा समग्र आयोजनाको भौतिक प्रगतिमा गम्भीर धक्का लाग्ने निश्चित छ ।’

हुलाकी राजमार्गका लागि चालू आवमा छ अर्ब ९३ करोड ३३ लाख बजेट विनियोजन गरिएकामा चालू आवको पहिलो छ सात महिनामा चार अर्ब ५० करोड रुपैयाँको काम भएर भुक्तानी भइसकेको छ भने बाँकी बजेटको विभिन्न खण्डमा काम भइरहेको कारण अहिले खर्च गर्न मिल्दैन । सोही कारण आयोजनाले निर्माणकार्य भइरहेका सडक र पुलका लागि थप बजेट माग गरेको हो । सडक विभागका अनुसार थप छ अर्ब रुपैयाँ बजेट व्यवस्था भएमा हुलाकी राजमार्गमा चालू आवमा लक्ष्यअनुसार काम गर्न सकिने अवस्था छ ।

हुलाकी राजमार्गमा देखिएका स्थानीयका विभिन्न समस्या समाधान भएर काम सुरु भएको बेला बजेट अभावले काम रोकिँदा एउटा समस्या समाधान भएपछि राष्ट्रिय गौरवको उक्त आयोजनामा सरकारीतर्फबाट अर्को समस्या देखिएको प्रस्ट भएको छ । हुलाकी आयोजनाले थप बजेट मागे पनि अर्थ मन्त्रालयले सडक र पुलका लागि भौतिकलाई थप बजेट दिएको भनेर प्राथमिकता नबुझेको भौतिकका अधिकारीहरु बताउँछन् । ‘हुलाकीको लागि थप बजेट मागेको तर अर्थ मन्त्रालयले भने पुल र सडकका लागि भौतिकलाई थप बजेट दिएका छौँ, त्यहीँबाट काम चलाउनु भन्छ योभन्दा गैरजिम्मेवार तर्क केही हुन सक्दैन’, भौतिक मन्त्रालयका एक अधिकारीले भने ।

हुलाकी राजमार्ग आयोजनाले झापाको बिरिङ, कन्काई, सिरहाको बलान, कमलालगायतका ठूला र अन्य साना गरी २० वटा पुलको काम चालू आवमा सक्ने लक्ष्य राखेको छ । यदि अर्थले समयमै बजेट दिएमा ३० वटासम्म पुल चालू आवमा निर्माण पूरा हुने आयोजना प्रमुख बिसुरालले जानकारी दिए । अर्थले वैदेशिक स्रोततर्फको बजेट पनि फुकुवा गरेको छैन । तेस्रो चौमासिकमा फुकुवा दिँदा त्यसले करिब एक साता मात्र धान्ने आयोजनाका अधिकारीहरु बताउँछन् । आयोजना निर्देशनालयबाहेक फिल्डमा सातवटा कार्यालय स्थापना गरेर हुलाकीले धमाधम काम गराइरहेको छ ।

आयोजनाको लागत ६५ अर्ब २० करोड रहने अनुमान गरिएको छ । आर्थिक वर्ष २०६६/०६७ बाट सुरु गरिएको उक्त आयोजना आव २०७९/०८० मा निर्माण पूरा गर्ने लक्ष्य सरकारले राखेको छ । चालू आवको पहिलो चौमासिकसम्म ५६ दशमलव २० प्रतिशत भौतिक प्रगति भएको थियो । १७ सय ९२ किलोमिटरमध्ये छ सय दुई किलोमिटर कालोपत्रे भएको छ भने दुई सय २६ किलोमिटर ग्राभेल भएको छ ।

दुई सय १९ वटा पुलमध्ये ९७ वटा मात्र निर्माण पूरा भएको छ । पर्याप्त बजेट हुँदा आयोजनाले पहिलो चौमासिकमा लक्ष्यको तुलानमा ८१ प्रतिशतभन्दा बढी भौतिक प्रगति गरेको थियो । काम तीव्र रुपमा हुँदा बजेट सकिँदै जाँदा अहिले निर्माणकार्य नै रोकिनपुगेको हो ।

तराईका २१ जिल्लामा छुने यो सडक आयोजनाले तल्लो तराईका जनताको आर्थिक अवस्थामाथि उकास्न ठूलो भूमिका खेल्नेछ । स्थानीयका समस्या समाधन हुँदा बजेटको अभाव हुने र बजेट हुँदा स्थानीयका समस्या थपिने गर्दा आयोजनाले लक्ष्यअनुसार काम नै अगाडि बढाउन नसकेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया