Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल वायुसेवा निगममा करोडौँ लेनदेनको जीएसए काण्ड

नेपाल वायुसेवा निगममा करोडौँ लेनदेनको जीएसए काण्ड


काठमाडौं । नेपाल वायुसेवा निगम एकातिर जर्जर अवस्थामा पुगेको छ भने महाप्रबन्धक डिम प्रसाद पौड्याल रातारात कम्पनीमा लैजाने भनेर वार्षिक दश अर्बसम्मको घाटा भएको र निगमको कर्मचारीहरुलाई सरकारले तलब भत्ता दिनुपरिरहेको भन्दै झूठको खेती गरिरहेका छन् । अर्कोतिर त्यही जर्जर निगमको जी.एस.ए.हरु नियुक्ति गर्दा दशौँ करोडको कमिसन कुम्ल्याउन सफल भएका छन् ।

उनले निगमका अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएको र सरकारले अर्को अध्यक्ष नै नतोकेको अवस्थामा बुद्धिसागर लामिछानेलाई सिंगारपटार गरी स्वघोषित अध्यक्ष बनाएर बुख्याँचाको रुपमा खडा गरी निगमलाई कम्पनीमा लैजाने र भारत दुबईलगायतका ठाउँमा जीएसए तोक्ने भनी गरिएका टेन्डर रद्द गरी फेरि टेन्डर गर्ने भनी अघिल्लो बोर्डले गरेको निर्णय उल्ट्याएर लेनदेनका आधारमा आफूअनुकूल निर्णय गरी प्रक्रिया अघि बढाएको थाहा भएको छ ।

निगममा दश अर्बको घाटा वार्षिकरुपमा भएको छैन, न त नेपाल सरकारले एक पैसा कर्मचारीहरुको लागि खर्चेको छ । रातारात निजीकरण गरेर यसको सम्पत्ति हडप्ने दाउमा अगुवाइ गर्ने डिम प्रसादलाई निगमका इमानदार कर्मचारीहरुले कार्यालयमा छिर्न नदिएको चौथो हप्ता हुँदै छ । डिम प्रसाद पौडेल प्रकाश भने योगेश भट्टराई र सोनाम (यति समूह) को फेर समातेर नेताहरु एवं मिडिया हाउसका ढोका–ढोका चहारिरहेका छन् । त्यसरी चहार्नेमा अप्रेसन डाइरेक्टर क्याप्टेन दिपुराज ज्वारचन पनि रहेका छन् ।

भारतको जीएसएमा अनियमितता : नेपाल वायुसेवा निगमको भारतस्थित जीएसए बर्ड ट्राभललाई विविध षड्यन्त्र गरेर पुनः जीएसए दिइएको छ । सञ्चालक समितिको अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएको र मन्त्री समेत खाली रहेको अवस्थामा हतार–हतारमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको अध्यक्षतामा (स्वघोषित अध्यक्ष) सञ्चालक समितिको बैठक बसेर अनियमित तवरमा बर्ड ट्राभललाई भारतको जीएसएमा नियुक्त गर्ने निर्णय गरेको थाहा भएको छ ।

यसरी सञ्चालक समितिको अध्यक्ष र मन्त्री समेत नरहेको र कर्मचारीहरु पनि कम्पनीमा लाने निर्णयविरुद्ध आन्दोलित भइरहेको अवस्थामा बुद्धिसागर लामिछाने र डिम प्रसाद पौड्याल एवं निगमका कमर्सियल विभागका निर्देशक जनकराज कालाखेतीको चलखेलबाट बर्ड ट्राभललाई भारतको जीएसए नियुक्त गर्नलाई सञ्चालक समितिबाट निर्णय गराइएको छ ।

कुनै पनि जीएसएलाई निगमले वार्षिक रुपमा टार्गेट दिएको हुन्छ तर विगत ५÷६ वर्षमा कुनै पनि सालको टार्गेट पूरा नगरेको जीएसए बर्ड ट्राभललाई जीएसए नियुक्त गर्न नहुनेमा पुनः नियुक्तिको चाँजोपाँजो मिलाएर नियुक्त गर्ने निर्णय गर्नु गम्भीर कानुनी त्रुटि हो र यसमा ठूलो चलखेल भएको बुझिएको छ ।

टार्गेट पूरा नगरेको मात्र हैन बर्ड ट्राभलले पेश गरेको डकुमेन्ट र विवरणमा पनि गम्भीर त्रुटि भएकोले निगम व्यवस्थापनले पुनः टेण्डर गर्ने भनेर सञ्चालक समितिमा पेश गरेकै अवस्थामा रातारात डिम प्रसाद, बुद्धिसागर र जनकराज कालाखेती मिलेर एकपटकलाई उक्त अपुग डकुमेन्ट÷विवरण र कमजोरी बर्ड ट्राभलको लागि माफी गर्ने निर्णय गर्दै पुनः बर्ड ट्राभललाई नै जीएसए नियुक्त गरिएको छ ।

यदि टेन्डरमा उल्लिखित कुनै विषय पूरा भएको छैन भने उक्त विषयको सम्बन्धमा टेन्डरमा भाग लिने सबै पक्षलाई जानकारी गराई बैठक गरेर टेन्डर डकुमेन्ट नै सच्याएर पुनः टेन्डर गर्नु टेन्डर प्रक्रियाको नियम हो तर यस्तो केही नगरी एकपटकलाई माफी दिने हुकमप्रमांगी गर्ने अधिकार जनकराज कालाखेती, डिम प्रसाद पौड्याल र बुद्धिसागर लामिछानेलाई कसले दियो भनी प्रश्न आउन थालेका छन् र त्यो गम्भीर छानबिन र अनुसन्धानको विषय बन्न पुगेको छ । अरु सबै सञ्चालक समितिका निर्णयहरु अर्थ विभाग, वाणिज्य विभाग र आन्तरिक लेखापरीक्षणलाई सर्कुलर गरिने गरेकोमा सञ्चालक समितिको उक्त निर्णय डिम प्रसादले गरी गराई लुकाएर राखेको पनि थाहा भएको छ ।

अर्को ढाकछोप : अर्को एयरलाइन्सको जीएसए नेपाल वायुसेवा निगमको जीएसए हुन पाउँछ तर त्यस्तो अर्को एयरलाइन्स नेपालमा उडान भरिरहको हुनुहुँदैन । यो शर्त निगमको टेन्डर डकुमेन्टमा नै छ । यति प्रस्ट व्यवस्था हुँदाहुँदै पनि डिम प्रसाद पौड्यालले जबर्जस्ती बर्ड ट्राभललाई भारतको जीएसए दिलाउनुमा चार/पाँच करोडको खेलमेल गरी भाग शान्ति जय नेपाल गरेको बुझिन्छ । बर्ड ट्राभल जीएसए रहेको अन्य दुई वायुसेवाहरु जजिरा एयरलाइन्स र एयर चाइना छन् । यी दुईवटै वायुसेवाहरुले काठमाडौंमा उडान भर्दछन् । यसरी काठमाडौंमा उडान भर्ने वायुसेवाका जीएसए हुने ट्राभल एजेन्सीलाई पनि नेपाल वायुसेवा निगमको जीएसए दिनु निगमकै टेण्डर डकुमेन्टको खिलाफमा देखिन्छ ।

नेपाल वायुसेवा निगममा ५० को दशक एकछत्र रजाइँ चलाएका कमिसन एजेन्ट सोमेन्द्र जंग थापाले यसमा सेटिङ मिलाएको थाहा भएको छ । बर्ड ट्राभलका विजय माटिया र मुकेश शर्मासँग निगमका कमर्सियल डाइरेक्टर कालाखेतीले पटक–पटक प्रत्यक्ष फोन सम्पर्क समेत गरेको बुझिएको छ ।

दुबईको जीएसए ग्लोबल स्टार ट्राभल मेनेजमेन्टको आन्टा ट्राभल्सलाई चाहिँ निगमको सम्पूर्ण शर्तहरु पूरा गर्दा–गर्दै मात्र होइन वार्षिक रुपमा दिइएको टार्गेट पूरा गरिरहेको अवस्थामा पनि जीएसएबाट हटाउने खेल खेलिएको छ । यो खेलमा मलेसियाको भिसा काण्डमा पक्राउ परी कारबाहीमा परेका र अझै अनुसन्धानको दायरामा रहेको हारभेष्ट मुन तथा रवि सिंहको संलग्नता रहेको बुझिएको छ ।

निगमले दिएको टार्गेट ७० प्रतिशत पूरा गरेको छ भने त्यसलाई वायुसेवाको बजार व्यवस्थापनको सिद्धान्तअनुसार राम्रै मानिन्छ तर यूएईको आन्टा ट्राभल ले ९३ प्रतिशतभन्दा बढी टार्गेट पूरा गरिरहँदा पनि हठात् टेण्डर प्रक्रियाको बहानामा हटाउनु भनेको डिम प्रसाद, जनकराज कालाखेती र बुद्धिसागरलाई निगमको व्यापार वृद्धिको चिन्ता पटक्कै नभएको प्रष्ट हुन्छ । एकातिर निगम डुब्यो भनेर कोकोहोलो मच्चाउने, अर्कोतिर सबैभन्दा राम्रो व्यापार दिइरहेको जीएसएलाई बलजफ्ती हटाउनुमा ठूलो पैसाको चलखेल भएको बुझिन्छ ।

यसर्थ यस सम्बन्धम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर रुपमा छानबिन गर्नुपर्ने हो तर अहिलेसम्म अख्तियारले पनि चासो देखाएको छैन । माथि उल्लिखित पात्रहरुको कल डिटेल्स र बैंक खाताहरु तत्काल छानबिनको दायरामा ल्याउने हो भने पनि उनीहरुको संलग्नता सजिलै पुष्टि हुने देखिएको हो ।

आन्टा ट्राभलले नेपाली दूतावास र पर्यटन मन्त्रालयमा निगमको उक्त निर्णयविरुद्ध उजुरी समेत गरेको छ र नियमविपरीत दुबईको अलनीवोदाहा ट्राभललाई दिइएको जीएसए रद्द गर्न समेत माग गरेको छ । मदन खरेलपछिको अध्यक्ष सुशील घिमिरेले समेत टेण्डरमा सहभागी पार्टीको योग्यता नपुगेको भनी रिटेण्डर गर्ने निर्णय गराए र राजीनामा दिई निगम छाडेपछि बुद्धिसागर लामिछानेले स्वघोषित अध्यक्ष बनेर निगमको बोर्ड बैठक सञ्चालन गरी पहिलेको निर्णय उल्ट्याई तिनै पार्टीलाई जीएसए दिने निर्णय गरेको थाहा भएको छ ।

यस सम्बन्धमा निगमका कमर्सियल डाइरेक्टर जनकराज कालाखेतीसँग फोन सम्पर्क गर्दा पाइपलाइनमा रहेको काम अघि बढाइएको भन्दै रिटेन्डर गर्ने निर्णय नभएको बताएका छन् । तर उनले जीएसए नियुक्तिको प्रक्रिया अघि बढेको चाहिँ स्वीकारेका छन् । भाग्दा–भाग्दै मदन खरेलले दोहा–कतारको जीएसए अनियमितरुपमा नवीकरण गरेको विषय पनि यस्तै गम्भीर छानबिनको विषय हो । मदन खरेलले कतार दोहाको जीएसए नियुक्त गर्नेबित्तिकै पैसाको चाँजोपाँजो मिलाउन दुबईमा रहेका छोरीज्वाइँकोमा दौडेका थिए । छोरीको खासै कुनै काम नभए पनि दुबईमा खरेलले निगमबाट लुटेको सम्पत्ति राखेर बसेको बुझिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x