Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘सञ्चयकर्ताहरूको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ’

‘सञ्चयकर्ताहरूको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ’


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरूको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । कोषको ६०औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले कोष लगानीयोग्य परियोजनाहरू र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न केन्द्रित हुनुपर्ने बताए ।

उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदा राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ । उनले भने, ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापारघाटा कम गर्न सहयोग गर्छ ।’ उनले सञ्चयकर्ताहरूको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताहरूको लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बताए । सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म चार खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा तीन खर्ब ९८ अर्ब छ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा एक अर्ब ५८ करोड छ । कोषको दायित्व चार अर्ब ६७ करोड रहेकोे छ ।

सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरूको लागि सात हजार पाँच सयका दरले दुई पटकसम्म प्रसूति खर्च उपलब्ध गराउँछ । यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा दुई लाख रुपैयाँ प्रदान गर्दछ । सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट ४० हजार रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराउँछ ।

यसैगरी कोषले सामान्य औषधोपचारको हकमा एक लाख रुपैयाँ तथा घातक रोगको हकमा १० लाख रुपैयाँसम्मको उपचार खर्च शोधभर्ना गर्नेगरेको छ । विसं २०१९ भदौ १९ मा कोषको स्थापना हुनुभन्दा अगाडि विसं १९९१ मा सैनिक द्रव्य कोष, विसं २००१ मा निजामती प्रोभिडेन्ट फन्ड र विसं २०१७ मा सञ्चयकोष विभागको नाममा यसको काम कारबाही सञ्चालन गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया