९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको ऊर्जामन्त्रीको दाबी
बुटवल । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको दाबी गरेकी छिन् । बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन रूपन्देहीको सोमबार मैनहियामा उदटन गर्दै उनले दुई वर्षभित्र नेपालका सबै जनताका घरमा विद्युत् पहुँच पु-याउने बताइन् ।
यस्तै उनले नेपाल विद्युत् प्राधिकरणले चाहिएजति विद्युत् उपलब्ध गराउने भन्दै सबैलाई विद्युतीय उपकरण प्रयोग गर्न आग्रह गरिन् । यातायात, सिँचाइलगायतका क्षेत्रमा पनि अब विद्युतीय साधनको प्रयोग गर्नु जरुरी रहेको उनको भनाइ छ । विद्युतीय सवारीका लागि सरकारले नै चार्जिङ स्टेसन बनाउने भन्दै उनले सवारी किन्न चाहनेलाई विद्युतीय साधन किन्न समेत आग्रह गरिन् । यस्तै उनले बढी भएको बिजुली भारत र बंगलादेशमा बिक्री गरिने बताइन् । अहिले भारतमा दैनिक चार सय मेगावाट विद्युत् बिक्री भइरहेको र बंगलादेशसँग पनि ५० मेगावाट बिक्री गर्ने समझदारी बनेको उनको भनाइ थियो ।
यस्तै उनले सिँचाइका लागि प्रयोग हुने विद्युत् महशुलमा ७५ प्रतिशत कटौती गरिएको जानकारी दिइन् । यसबाट किसानलाई राहत हुने उनको भनाइ थियो । साथै बुटवल–लुम्बिनी प्रसारण लाइन सञ्चालनमा आएसँगै यस क्षेत्रका उद्योगी व्यवसायीले मागेजति बिजुली पाउने उनले बताइन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले मुलुकको व्यापारघाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युत्को आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना यस क्षेत्रका लागि अति नै महत्वपूर्ण रहेको बताए । अब यो क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने उनको दाबी थियो । प्राधिकरणले अहिले मनहिया–सम्पत्तिया प्रसारण लाइन निर्माण गरिरहेकाले उक्त काम सम्पन्न भएपछि बिजुली भारतमा बिक्री गर्न सकिने उनले जानकारी दिए । अहिले मुलुकले विद्युत् व्यापारबाट मासिक दुई अर्ब भारतीय रूपैयाँ आम्दानी गरिरहेको उनको भनाइ थियो । यस्तै नेपालको विद्युत् दक्षिण एसियामै सस्तो रहेको उनले दाबी गरे ।
कार्यक्रमका अवसरमा १३२/३३/११ केभिएको मैनहिया सबस्टेसनको पनि ऊर्जामन्त्री भुसालले उद्घाटन गरेकी थिइन् । नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण गरेको हो । प्रसारण लाइनको निर्माणसँगै करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया