Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंयुक्त निर्वाचन केन्द्र सञ्चालनमा

संयुक्त निर्वाचन केन्द्र सञ्चालनमा


काठमाडौं । निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

आयोगको कार्यालयमा सञ्चालनमा ल्याइएको सो केन्द्रले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग पु-याउने बताइएको छ । केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले केन्द्रमा खटिने कर्मचारीरूले मुख्यतः पाँच महत्वपूर्ण काम गर्नुपर्ने बताए । यस्तै उनले आयोगले सोमबारदेखि नै विकट पहाडी जिल्लाका मतदान केन्द्रहरूमा कर्मचारी खटाउन सुरु गरेको जानकारी दिँदै उनले केन्द्रले उनीहरूसँगको समन्वयमा काम गर्नुपर्ने बताए । यस्तै आयोगले सोमबारदेखि नै वडास्तरमा मतदाता शिक्षा कार्यक्रम पनि सुरु गरेको उनले जानकारी दिए । प्रत्येक ठाउँमा सामाजिक परिचालक पुगे वा नपुगेको सूचना लिने तथा आवश्यक पर्दा निर्वाचन सुरक्षा र निर्वाचनसँग सम्बन्धित विषयमा तत्काल केन्द्रले निर्णय लिनुपर्ने उनको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध र अनुगमनको मिहिन विश्लेषण गरेर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा सम्बोधन गर्ने संयन्त्र विकास गरिएको बताए । उनले केन्द्रले मतदानस्थलसम्म सिधै र नियमित सम्पर्क राख्नुपर्ने, खटिएका कर्मचारी सम्बन्धित स्थलमा पुगे÷नपुगेको जानकारी लिने, वडास्तरमा जारी मतदाता शिक्षा सञ्चालनको अवस्था बुझ्ने, आचारसंहिता कार्यान्वयन र परिपालनामा आवश्यक सघाउने, जिल्लास्थित निर्वाचन कमाण्ड सेलसँग समन्वय बढाउने तथा मतदानपछि मतपेटिका र गणनाको सुरक्षालगायतका विषयमा आवश्यक समन्वय र सहयोग गर्नुपर्ने कार्यादेशबारे स्पष्ट पारेका थिए ।

आयोगका सचिवको संयोजकत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सोसरहका नेतृत्व तथा आयोगका आवश्यक कर्मचारीहरू रहनेछन् । निर्वाचन सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०७९ तथा निर्वाचन अनुगमन (पहिलो संशोधन) निर्देशिका, २०७९ अनुसार स्थापित केन्द्रले देशभर निर्वाचनबारे भइरहेका व्यवस्थापन, सुरक्षा र अनुगमनका कामलाई अझ प्रभावकारी बनाउन समन्वय बढाउने विश्वास गरिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया