Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआयातमा नगद मार्जिनसम्बन्धी व्यवस्था खारेज

आयातमा नगद मार्जिनसम्बन्धी व्यवस्था खारेज

‘अब कुनै पनि प्रकारको वस्तु आयातमा नगद मार्जिन राख्नुपर्दैन’


काठमाडौं,नेपाल राष्ट्र बैंकले नगद मार्जिनसम्बन्धी व्यवस्था खारेज गरेको छ । राष्ट्र बैंकले बिहीबार विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका क वर्गका वाणिज्य बैंक र ख वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै मार्जिन लिई प्रतीतपत्रमार्फत आयात गर्नुपर्ने व्यवस्था खारेज गरेको हो ।

विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि एक वर्षअघि राष्ट्र बैंकले विदेशबाट सामान आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । यो व्यवस्थाका कारण आयातमा समस्या उत्पन्न भएको भन्दै उद्योगी व्यवसायीहरुलाई यसको विरोध गर्दै आएका थिए । पछिल्लो समय भने अन्तर्राष्ट्रिय मुद्रा कोष समेतले आयातमा नगद मार्जिनसम्बन्धी व्यवस्था अव्यावहारिक रहेको भन्दै यस्तो व्यवस्था हटाउन ताकेता गर्दै आएको थियो । तर पछिल्लो समयमा विदेशी मुद्राको सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरी आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था पूर्णरुपमा खारेज गरेको हो ।

मार्जिन लिई प्रतीतपत्रमार्फत आयात गर्र्नुपर्ने व्यवस्था खारेजसम्बन्धी परिपत्रमार्फत राष्ट्र बैंकले भनेको छ, ‘राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०५८ को नगद मार्जिनसम्बन्धी बुँदाहरुलाई खारेज गरिएको हुंँदा सोहीबमोजिम गर्नु गराउनुहुन विदेशी विनिमय (नियमित गर्ने ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ । यसअघि भने राष्ट्र बैंकले झण्डै तीन सयभन्दा बढी प्रकारका वस्तुहरुको आयातमा ५० देखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

जसले गर्दा ती वस्तुहरुको आयात पूर्णरुपमा प्रभावित भएको थियो । जसका कारण महंगो मूल्यका सवारी साधन, विदेशी रक्सी, मोबाइल आदिको आयात पूर्णरुपमा प्रभावित भएको थियो । राष्ट्र बैंकले झण्डै एक वर्षअघि ल्याएको आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले गर्दा अटोमोबाइल क्षेत्र धराशायी भएको भन्दै यो क्षेत्रले उक्त व्यवस्था खारेजीको माग गर्दै खुलेर राष्ट्र बैंकको विरोध गर्दै आएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया