Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचार६८ वर्षका मानबहादुर ड्रागनखेतीमा रमाउँदै

६८ वर्षका मानबहादुर ड्रागनखेतीमा रमाउँदै


 दोलखा । बैतेश्वर गाउँपालिका–६ नाम्दुका ६८ वर्षीय मानबहादुर तामाङले जिल्लामै पहिलो पटक व्यावसायिक ड्रागनखेती सुरु गरेका छन् । लामो समयदेखि सिँचाइ अभावमा बाँझो बसेको पाखो बारीको सदुपयोग गर्दै उनले ड्रागन फलको व्यावसायिक खेती सुरु गरेका हुन् ।

लाखौँ लगानी गरेर बुढेसकालमा पनि आधुनिक फलफूल खेतीतर्फ चासो देखाएका तामाङले करिब १० रोपनी क्षेत्रफलको पाखो बारीमा सिउँडी प्रजातिमा पर्ने आधुनिक फल ड्रागनको खेतीलाई फस्टाउँदै लगेका छन् । उनले कृषि प्राविधिक र विज्ञहरूसँग ड्रागनखेतीसम्बन्धी परामर्श लिएर खेती सुरु गरेको सुनाए ।

समुद्री सतहदेखि करिब एक हजार पाँच सय उचाइमा पर्ने नाम्दुमा उनले डेढ वर्षअघि ड्रागन लगाएका हुन् । परम्परागत खेती गर्दै आइरहेका किसानलाई आधुनिक प्रजातिका फलफूल खेती गरेर पनि व्यावसायिक र आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण दिन आफूले ड्रागनखेती सुरु गरेको उनले बताए । रोपेको छोटो समयमै उत्पादन दिने ड्रागनको परीक्षण उत्पादन गतवर्ष नै भएको उनको भनाइ छ । गतवर्ष कम उत्पादन भए पनि यसवर्ष भने राम्रो उत्पादन हुने उनले बताए ।

बजारमा ड्रागनको माग उच्च देखेर सुरुमै आफूले १० रोपनीमा २४ सय वटा ड्रागनको बिरुवा लगाएको उनको भनाइ छ । तामाङले यही खेतीको लागि झन्डै १० लाखको हाराहारीमा लगानी गरिसकेका छन् । अझै आर्थिक अभावका कारण खेतीलाई सोचेजस्तो बनाउन नसकेको उनको भनाइ छ ।

केही वर्षअघिसम्म रातोमाटोले भरिएको सुख्खा बाँझो देखिने पाखो बारी हिजोआज फल्ने र फुल्ने तरखरमा रहेका ड्रागनका बोटले हरियाली र हराबरा बनाएको छ । भर्खरै थालिएको खेतीबाट राम्रो आम्दानी लिने तामाङको अपेक्षा रहेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया