Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


काठमाडौं । झापा, दैलेख, कञ्चनपुर, चितवनका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुरस्थित सडकमा प्र१-०३-००१ प १८४६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया गितादेवी खत्रीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, दैलेख, आठबिस नगरपालिका-१ डाबास्थित सडकमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.१ ज. ५५ नम्बरको जिप सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार कालिकोट नरहरी नाथ गाउँपालिका-७ बस्ने ३३ वर्षीय दुर्गा बोगटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल साङगेतडा हुँदै ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, कञ्चनपुर, बेदकोट नगरपालिका-१० हात्तीखड्डास्थित सडकमा बेल्डाँडीबाट बजारतर्फ जाँदै सु.प.प्र.०२००३ प. ४६७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँद मोटरसाइकलमा सवार बेल्डाँडी गाउँपालिका-४ बस्ने अमर बहादुर ठकुरीको छोरा ८ वर्षीय ईशबन्धन ठकुरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर हुँदै थप उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाइएको छ ।

यस्तै, चितवन, ईच्छाकामना गाउँपालिका-३ चुमलिङटारस्थित सडकमा चुम्लिङटारबाट धादिङ हुग्दी खोलातर्फ जाँदै गरेको बा.५६ प. २९८३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक धादिङ वेनिघाट रोराङ गाउँपालिका-३ बस्ने २४ वर्षीय अन्जन सिलवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया