Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअर्थतन्त्र सहज अवस्थामा रहेको राष्ट्र बैंकको निष्कर्ष

अर्थतन्त्र सहज अवस्थामा रहेको राष्ट्र बैंकको निष्कर्ष


काठमाडौं,नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले चाहँदैमा ब्याजदर नघट्ने बताएका छन् । मंगलबार चालू आर्थिक वर्षको आठ महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा गभर्नर अधिकारीले बजारले निर्धारण गर्ने ब्याजदर राष्ट्र बैंकले चाहँदैमा नघट्ने बताएका हुन् ।

‘अहिले ब्याजदरको विषयमा पनि निकै चर्चा भएको छ, तर ब्याजदर राष्ट्र बैंकले चाहँदैमा घट्दैन, यो बजारमा निर्धारण गर्ने हो, कर्जाको माग र आवश्यकताअनुसार ब्याजदर नियन्त्रण हुन्छ’, उनले भने । राष्ट्र बैंक स्वायत्त निकाय भएकाले काम गर्ने क्रममा आफूहरुमाथि कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नभएको पनि दाबी गरे ।

गभर्नर अधिकारीले ब्याजदर महँगो भएर मात्रै पनि अर्थतन्त्रमा समस्या नआएको समेत बताए । उनले ब्याजदरकै कारण आर्थिक गतिविधि नरोकिएको बताएका हुन् । ‘हिजो पनि ऋणको ब्याज १३ प्रतिशत पुगेको थियो तर आर्थिक क्रियाकलाप भएको थियो’, उनले भने । उत्पादनमा ब्याजदरको हिस्सा कति हो भन्ने कुरा हेर्नुपर्ने पनि बताए । तरलतामा सुधार हुँदै गए पनि मानिसहरुलाई महसुस हुन नसकेकोमा भने उनको स्वीकारोक्ति थियो ।

मुलुकको समग्र अर्थतन्त्र सहज अवस्थामा रहेको पनि गभर्नर अधिकारीले बताएका छन् । ‘बाहिर बजारमा जे जस्तो हल्ला चले पनि अर्थतन्त्रका परिसूचकहरु धेरै राम्रा छन् । केही समूहले बैंक तथा फाइनान्स कम्पनीहरुसँग लिएको कर्जा तिर्दैनौँ भनी आन्दोलन गर्दै हिँडेका छन्, बैंकले दिएको कर्जा रकम कसैको निक्षेप हो कर्जा लिएपछि तिर्देनौँ भन्नु वित्तीय अराजकता हो, यसो गर्नेलाई राष्ट्र बैंकले सम्बन्धित निकायहरुको समेत सहयोगमा कठोर कारबाहीको प्रक्रिया अगाडि बढाउँछ’, उनले भने ।

महँगी दरमा सुधार
माघभन्दा फागुनमा बजार महँगी दरमा सुधार देखिएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार माघमा सात दशमलव ८८ प्रतिशत रहेको मूल्यवृद्धि दर फागुनमा घटेर सात दशमलव ४४ प्रतिशतमा झरेको छ । यो दर अघिल्लो वर्षको फागुनमा सात दशमलव १४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ६४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ८७ प्रतिशत छ ।

माघमा नौ दशमलव ६७ प्रतिशत रहेको थोक मुद्रास्फीति अहिले सात दशमलव एक प्रतिशतमा झरेको छ । गत वर्ष फागुनमा थोक मुद्रास्फीति १३ दशमलव १३ प्रतिशत थियो ।फागुन मसान्तसम्ममा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १४ दशमलव ३५ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको खानाको १४ दशमलव शून्य नौ प्रतिशत, मरमसलाको १० दशमलव ८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १० दशमलव ८३ प्रतिशत र मदिराजनय पेय पदार्थको आठ दशमलव ७८ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्य सूचकांक १३ दशमलव २३ प्रतिशत, स्वास्थ्यको १० दशमलव ३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको नौ दशमलव ७२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ८१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको आठ दशमलव ७९ प्रतिशतले बढेको छ ।

क्षेत्रगत आधारमा काठमाडौं उपत्यकामा सात दशमलव ९५ प्रतिशत मुद्रास्फीति छ । तराईमा सात दशमलव पाँच, पहाडमा छ दशमलव ६७ र हिमालमा अठ दशमलव शून्य ७ प्रतिशत मुद्रास्फीति छ ।

बढ्यो विदेशी मुद्रा सञ्चिति
राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चितिमा पनि सुधार आएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५ दशमलव दुई प्रतिशतले बढेर फागुन मसान्तमा १४ खर्ब एक अर्ब २१ करोड रुपैयाँबराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १२ दशमलव एक प्रतिशतले बढेर १० अर्ब ६९ करोड कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १७ दशमलव छ प्रतिशतले बढेर १२ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंक बाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ फागुन मसान्तमा दुई प्रतिशतले कमी आई एक खर्ब ५६ अर्ब २७ करोड कायम भएको छ ।

२०७९ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव नौ प्रतिशत छ ।राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० महिना नौ दिनको वस्तु आयात र नौ महिना चार दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

२०७९ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८ दशमलव नौ प्रतिशत, ७८ दशमलव पाँच प्रतिशत र २४ दशमलव दुई प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५ दशमलव एक प्रतिशत, ५७ दशमलव आठ प्रतिशत र २२ दशमलव एक प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

विप्रेषण आप्रवाह पनि बढ्यो
मुलुकले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय विप्रेषण आप्रवाह बढेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले वृद्धि भई सात खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह एक दशमलव तीन प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव आठ प्रतिशतले वृद्धि भई छ अर्ब नौ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दुई दशमलव छ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४ दशमलव तीन प्रतिशतले वृद्धि भई तीन लाख ५१ हजार सात सय ६१ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा आठ प्रतिशतले वृद्धि भई एक लाख ९२ हजार पाँच सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय ४० दशमलव नौ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २३ दशमलव नौ प्रतिशतले वृद्धि भई आठ खर्ब ७६ अर्ब सात करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर एक दशमलव छ प्रतिशतले घटेको थियो ।

शोधनान्तर स्थिति झण्डै डेढ खर्ब बचतमा
मुलुकको शोधनान्तर स्थिति बचतमा देखिएको छ । राष्ट्र बैंककोे प्रतिवेदनअनुसार शोधनान्तर स्थिति एक खर्ब ४८ अर्ब ११ करोड रुपैयाँले बचतमा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ५८ अर्ब ६४ करोडले घाटामा थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालू खाता ४४ अर्ब ३१ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता चार खर्ब ६० अर्ब ७२ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा तीन अर्ब ८६ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ३४ करोड ५७ लाखले घाटामा छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २० दशमलव तीन प्रतिशतले कमी आई पाँच अर्ब ५८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर सात अर्ब र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब १७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब १२ करोडले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक शिक्षामा झण्डै ५५ अर्ब खर्च

राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको आठ महिनामा अध्ययनका लागि विदेश जानेहरुले ५४ अर्ब ७० करोड रुपैयाँ लगेका छन् । जब कि गत वर्षको सोही अवधिमा शिक्षाका लागि ३० अर्ब ३८ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो ।

यस आर्थिक वर्षको फागुनसम्म भ्रमण आयभन्दा व्यय धेरै छ । तथ्याङ्कअनुसार भ्रमण आय ३७ अर्ब १२ करोड रुपैयाँ छ भने भ्रमण व्यय ७६ अर्ब १२ करोड रुपैयाँ छ । भ्रमण व्ययभित्र शिक्षाका लागि बाहिरिएको रकम पनि पर्छ । गत आर्थिक वर्षको सोही अवधिमा भ्रमण आय १८ अर्ब ७० करोड रुपैयाँ र भ्रमण व्यय ५० अर्ब ५० करोड रुपैयाँ थियो ।खुद सेवा आय ४९ अर्ब आठ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६६ अर्ब २५ करोड रुपैयाँले घाटामा थियो ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1, #page 2

तपाईको प्रतिक्रिया