Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषचिनियाँ धनाढ्य ‘ज्याक मा’ नेपालमा

चिनियाँ धनाढ्य ‘ज्याक मा’ नेपालमा


विश्वका धनाढ्यमध्येका एक चिनियाँ अर्बपति अलिबाबा ग्रुपका संस्थापक ज्याक मा मंगलबार काठमाडौं आइपुगेका छन् । उनी मंगलबार दिउँसो साढे दुई बजे चार्टर्ड विमान बोइङ ७३७ म्याक्स चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनी चीनबाट बंगलादेश हुँदै काठमाडौं आएका हुन् ।

ज्याक माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने बताइएको छ । उनी व्यापारिक घुमघामका लागि नेपाल आएको बताइए पनि उनको भ्रमणको मुख्य उद्देश्यबारे केही सार्वजनिक गरिएकोे छैन । उनी बिहीबार काठमाडौंबाट पाकिस्तान जाने तालिका रहेको बताइएको छ ।

ज्याक माको वास्तविक नाम ‘मा यून’ हो । उनी चीनका पाँचौँ धनी व्यक्ति हुन् भने विश्वका धनाढ्यको सूचीमा ६३औँ स्थानमा छन् । सन् १९६४ मा चीनको ह्वाङझाउमा जन्मिएका ज्याक माको कुल नेटवर्थ २३ दशमलव सात बिलियन अमेरिकी डलर छ ।सुरुमा शिक्षण पेसामा आबद्ध ज्याक माले सन् १९९९ मा अलिबाबा ग्रुप स्थापना गरेका थिए । १८ जना साथीबाट जम्मा गरेको ६० हजार डलरबाट स्थापना भएको अलिबाबाको अहिले कुल नेटवर्थ तीन सय १८ बिलियन अमेरिकी डलर छ ।

अलिबाबा स्थापना गर्नुअघि ज्याक मा विभिन्न कम्पनीमा जागिरको लागि धाएका थिए । तर उनी सबैमा अस्वीकृत भए । रोचक घट्ना के छ भने जब उनी चीनमा खुल्न लागेको अमेरिकाको एक फास्टफुड रेस्टुराँमा कामदार मागेपछि अन्तवार्ताका लागि गए । अन्तरवार्तामा सहभागी भएका २४ जनामध्ये २३ जना छनौट भए भने ज्याक मा एक्लै फालिएका थिए । तर पनि हार नखाएका ज्याक माले अंग्रेजी शिक्षकमा रुपमा विद्यालयमा पढाउन सुरु गरे ।

पछि शिक्षक पेसा छोडेर आफ्ना साथीहरुबाट ६० हजार डलर जुटाई इन्टरनेट प्लाटफर्म सुरु गरेका थिए । ज्याक माले अलिबाबा अनलाइन प्लेटफर्म सुरु गर्दा चीनमा इन्टरनेटको पहुँच एक प्रतिशत मात्रै थियो । अलिबाबा सुरु गरेपछि तीन÷चार वर्षसम्म ठगको रुपमा चित्रण गरिएका उनी अहिले चीनमा जीवन सजिलो बनाउने व्यक्तिका रुपमा चिनिन्छन् । अलिबाबाको सफलतापछि ज्याक मा चीनमा ‘मिस्टर इन्टरनेट’को नामबाट पनि प्रसिद्ध छन् ।

अलिबाबाका संस्थापक ज्याक माले सन् २०१९मा कम्पनीको सीईओ पदबाट राजीनामा दिएपछि अहिले डेनियल झाङ सीईओ छन् ।सन् २०२० मा ज्याक माले चिनियाँ सरकारको आलोचना गरेपछि एकाएक सार्वजनिक जीवनबाट हराएका थिए । उनले चिनियाँ सरकारले सुरु गरेको प्रविधि क्षेत्रमाथिको नियमनको प्रयासको आलोचना गरेका थिए । त्यसपछि उनी सार्वजनिक जीवनबाट रहस्यमय तरिकाले हराएका थिए । सरकारको विरोध गरेका कारण उनलाई चीन सरकारले नजरबन्दमा राखेको चर्चा समेत चलेको थियो । यहीबीचमा चीन सरकारले उनको कम्पनीलाई आईपीओ निष्काशन गर्न रोकेको थियो । तर नजरबन्दमा राखिएको हल्लाकै बीच गत मार्चमा उनी जापानमा देखिएका थिए ।


क्याटेगोरी : बिशेष, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया