Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदुर्गम बस्ती खल्ला मछेट्टीमा सडक सञ्जाल जोडियो

दुर्गम बस्ती खल्ला मछेट्टीमा सडक सञ्जाल जोडियो


कञ्चनपुर ।
सुगम जिल्ला कञ्चनपुरको विकट खल्ला मछेट्टी सडक सञ्जालले जोडिएको छ । भीमदत्त नगरपालिका–९ को दुर्गम क्षेत्र ब्रह्मदेवस्थित खल्ला मछेट्टी सडक सञ्जालले जोडिएको हो । सडक सञ्जाल जोडिएपछि सो क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज भएको छ । विगतमा सामान्य बाटोको पहुँच समेत नभएको खल्ला मछेट्टी क्षेत्रमा घरआँगनमै गाडी आउन थालेपछि स्थानीय खुशी भएका छन् ।

‘विगतको वर्षहरूमा सदरमुकामसँगै बजार क्षेत्र आवतजावत गर्न निकै ग्राहो हुनेगरेको थियो’, भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित खल्लाकी कमला बोहराले भनिन्, ‘पुरानो दिन सम्झेर आउँदा दुःख लाग्छ । सदरमुकाम जान आउन हिँडेरै जाने गर्दथे । हेर्दाहेर्दै अहिले घरआँगनमै सडकसँगै गाडी पुगेको छ । एकदमै खुसी लागेको छ ।’ खल्ला मछेट्टी गाउँको किनार भएर बहने महाकाली नदीपारि भारतको टनकपुर बजार पर्दछ । विगतको वर्षमा टनकपुरबाट भारी बोकेर खाने अवस्था थियो भने अहिले गाडीमा बोकेर खाने वातावरण बनेको कमलाले बताइन् । खल्ला, मछेट्टी र टुडिखेल गरेर तीनवटा गाउँको झण्डै पाँच सय घरधुरी रहेको समुदाय विशेष गरेर सीमा पारिको भारतमै निर्भर रहँदै आएको छ ।

प्रत्येक घरको कम्तीमा भए पनि एउटा सदस्य भारतमा मजदुरी गर्ने गर्दछन् । विगतमा विकासको पूर्वाधारको सामान्य पहुँचको महसुुससमेत गर्न नपाएका स्थानीयलाई भने अहिले विकास निमार्णका थुप्रै पूर्वाधारले छोएको छ । ‘महाकाली किनारदेखि चुरेको फेदसम्म तीनवटा गाउँमा विभिन्न समुदायको बसोबास रहेको छ । विकासका पूर्वाधारमा खल्ला मछेट्टी जोडिदै गएपछि यस क्षेत्रका स्थानीयको जीवनशैली पनि फेरिँदै गएको छ’, कमलाले भनिन्, ‘सडकको पहुँच भएपछि सजिलै बजार जान र आउन सकिने सुविधा भएको छ । योसँगै अन्य विकासका पूर्वाधार पनि थपिने क्रममा रहेको छ ।’

खल्ला मछेट्टी क्षेत्रमा सडक सञ्जालको पहुँच विस्तार भएसँगै विद्युत्को पनि विस्तार भएको छ । नेपाली नेटवर्क नटिप्ने खल्ला क्षेत्रमा विद्युत् विस्तार भएपछि नेपाल टेलिकमको टावर पनि सञ्चालन हुने प्रक्रियामा रहेको उनले बताइन् । ब्रह्मदेव क्षेत्रबाट एक घण्टाको दूरीमा रहेको खल्ला मछेट्टी जान अहिले ४० रूपैयाँ तिरेर २० मिनेटमै पुग्न सकिने भएको छ ।

यसैबीच, सदरमुकाम क्षेत्रबाट टाढा तथा विकट क्षेत्र मानिने जिल्लाको महाकाली किनारको गाउँ खल्ला मछेट्टीलाई भीमदत्त नगरपालिकाले पर्यटकीय स्थलमा विकास गर्ने भएको छ । नगरपालिकाले उक्त क्षेत्रमा नागरिकका आधारभूत आवश्यकतालाई विस्तारै परिपूर्ति गर्दै गएको बताउँदै आउँदा दिनमा खल्ला मछेट्टी क्षेत्रको समग्र विकासको लागि उक्त क्षेत्रलाई पर्यटकीय स्थलमा विकास गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रवक्ता हिमाल चन्दलेभन्दा र सुन्दा विकट क्षेत्र भनेर सुनिने र चिनिने गरेको भएपनि उक्त क्षेत्रमा पर्यटकीय सम्भावना पर्याप्त रहेको भन्दै नगरपालिकाले पर्यटकीय सम्भावनालाई विकास गर्ने चाहेको बताए । पर्यटकीय सम्भावना बोकेको उक्त क्षेत्रमा महाकाली नदीमा -यापटिङ चलाउने, पूर्णागिरी मन्दिर र ब्रह्मदेवको शिद्धबाबा मन्दिरको धार्मिक पर्यटनलाई जोड्न महाकाली नदीमा झोलुुङ्गे पुल बनाउनेलगायत नदीको बहुउपयोग गर्ने सम्भावनाका कुराहरू धेरै छन् ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया