Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाकुकुरलाई होस्टेल, बाँदरलाई बगैँचा !

कुकुरलाई होस्टेल, बाँदरलाई बगैँचा !


वागलुङ  । बागलुङ जिल्लाका दुई पालिकाले कुकुरलाई होस्टेल र बाँदरलाई बगैँचा बनाउने रोचक नीति लिएका छन् । बागलुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्न कुकुर होस्टेल निर्माण गर्ने नीति लिएको हो । त्यस्तै, जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि जङ्गलमै बाँदर बगैँचा बनाउने गरी आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

जिल्ला सदरमुकामसमेत रहेको बाग्लुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रणमा लिएर होस्टेलमा राख्ने गरी नीति बनाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि कुकुर होस्टेल स्थापनाका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाभित्र छाडा कुकुरका कारण दुर्घटना बढेका कारण यस्तो नीति लिनु परेको नगर उपप्रमुख राजु खड्काले बताए ।

‘छाडा कुकुरको समस्या नियन्त्रण गर्न नगरपालिकाले पशु कार्यालयको समन्वयमा बन्ध्याकरण अभियानसमेत चलाएको छ । अहिले छाडा कुकुरलाई शून्यमा झार्न कुकुर होस्टेलको नीति लिइएको हो’ उनले भने । होस्टेलमा राखिएका कुकुरलाई स्थानीयवासीले पाल्नसमेत लैजान सक्ने बनाइएको छ ।

नगरपालिकाले कुकुरका लागि छुट्टै निर्देशिका नै बनाएको छ । घरपालुवा कुकुर नगरपालिकामा दर्ता गर्ने, नवीकरण गर्ने, अनिवार्य रेबिजविरुद्धको खोप लगाउने कार्यलाई पशुसेवा शाखाबाट काम गर्ने नीति लिइएको उपप्रमुख खड्काले जानकारी दिए । नगरपालिकाले छाडा कुकुरलाई मार्न नपाइने भएकाले उत्पादन घटाउन बन्ध्याकरण गर्ने र कुकुरलाई पालन पोषण गरेर कुकुर होस्टेलमा राख्ने भएको हो ।

नगरप्रमुख वसन्त श्रेष्ठले सबै छाडा कुकुरलाई जम्मा गरेर नगरपालिकाले नै पालनपोषण गर्ने तयारी गरिएको बताए । त्यस्तो कुकुरको स्वास्थ्य परीक्षण पछि स्थानीयवासीले पाल्न चाहेमा निश्चित सर्तपूरा गरी दिने नीति समेत रहेको उनले बताए ।

यस्तै, बागलुङको जैमिनी नगरपालिकाले बाँदरलाई जङ्गलमै भुलाउने कार्यक्रम ल्याएको छ । नगरपालिकामा जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी बाँदरको समस्या रहेको छ । जैमिनी नगरपालिकामा बाँदरको समस्या बढ्दै गएका कारण नगरपालिकाले नगरपालिकाको वडा नं ८ छिस्तीको पुरानो गाउँमा बाँदर बगैँचा निर्माण गर्ने नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको छ । नगरपालिकाले बाँदर बगैँचा निर्माणका लागि प्रारम्भिक पूर्वाधार निर्माण गर्न १० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट १५ लाख रुपैयाँ गरी २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

‘जैमिनी नगरपालिकामा बाँदरको समस्या बढ्दै गएको छ, बसाइँसराइका कारण बाँदरको समस्या जटिल बन्नु स्वाभाविक छ, बाँदरलाई जङ्गलमै भुलाउनका लागि छिस्तीको पुरानो गाउँमा बाँदर बगैँचा निर्माण गर्ने र बाँदरलाई बगैँचामै भुलाउने नगरपालिकाको योजना छ’ उनले भने, ‘पहिलो चरणमा आगामी आर्थिक वर्ष २०८०/८१ मा २५ लाख बजेटबाट पूर्वाधार निर्माणको सुरुवात गरिन्छ, बाँदर बगैँचामा जैमिनीभित्रका बाँदरलाई त्यहाँ लगेर पालिन्छ, बगैँचामा बाँदरलाई मनपर्ने फलफूल लगाइन्छ भने बाँदरलाई बगैँचाभित्रै राख्न पूर्वाधार निर्माण गरिन्छ ।”


क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया