Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकावडामै पुगेर योजना सम्झौता

वडामै पुगेर योजना सम्झौता


दोलखा । जिल्लाको तामाकोशी गाउँपालिकाले वडावडामा पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । पालिकाले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार गाउँपालिका तथा वडाले छनोट गरी उपभोक्ता समितिमार्फत गरिने योजनाहरू वडामै पुगेर सम्झौता गर्न सुरु गरेको हो ।

गाउँपालिकाको कार्यालयबाट विनियोजन भएका पालिकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता वडाबाटै गर्न सुरु गरिएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद शर्मा वाग्लेले जानकारी दिए । उनका अनुसार ती योजनाहरूको एकैदिन सम्बन्धित वडाबाटै सम्झौता गर्न सुरु हो । प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जिनियर पालिकाबाट वडामा गएर सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गरिएको छ ।

सातवटा वडा रहेको पालिकामा सबै वडामा योजना सम्झौता गर्ने कार्य सुरु गरिएको छ । एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि गाउँपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने हुँदा वडा–वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले जानकारी दिइन् ।

‘विकास निर्माणको काम गर्नका लागि उपभोक्ता समूह गठन गरेर योजनाहरूको सम्झौता गर्न गाउँपालिका आउनुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘पालिका आउनुपर्ने कारणले उपभोक्ताहरूले समयमा योजना सम्झौता नगर्दा धेरै विकास निर्माणका कामहरू समयमै सम्पन्न हुन नसक्ने अवस्था छ । त्यसैले समयमै योजनाहरूको कार्य सम्पन्न गर्नका लागि वडामै पुगेर योजनाहरू सम्झौता गर्न लागेका हौँ ।’

जनताको घर आँगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुवात गरिएको पालिका अध्यक्ष प्रोणप्रताप केसीले बताए । सरोकारवाला सबै वडामै भेला भएर आ–आफ्नो योजना सम्झौता गर्न सकिने भएकाले उपभोक्तालाई पनि सहज भएको छ । उपभोक्ता समितिले योजना सम्झौतापश्चात् अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै कार्यालयमा आए पुग्छ । एउटै कामका लागि पटक–पटक आइरहन नपरोस् भन्ने उद्देश्यले वडाबाटै योजना सम्झौता गर्न थालिएको पालिका अध्यक्ष केसीले जानकारी दिए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया