Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकामर्चवारी गाउँपालिकाको बजेट करिब १८ प्रतिशत खर्च

मर्चवारी गाउँपालिकाको बजेट करिब १८ प्रतिशत खर्च


काठमाडौं । मर्चवारी गाउँपालिका रुपन्देहीले चालू आर्थिक वर्षको छ महिनामा करिब १८ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि कुल ५० करोड ७६ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेको करिब १८ प्रतिशत खर्च मात्रै खर्च भएको जनाएको छ ।

गाउँपालिकामा करिब २५ प्रतिशत योजनाका काम सुरु भइसकेकाले खर्च बढ्ने क्रममा रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले जानकारी दिए । धेरै योजनाहरू स–साना तथा उपभोक्ता समितिबाट हुने भएकाले छिट्टै सम्पन्न समेत हुने उनले बताए । उनका अनुसार पालिकाले योजना कार्यान्वयन निर्धारित समयमै सक्नेगरी कडाइ गरेको छ । गाउँपालिकाले कार्यसम्पादन र योजना कार्यान्वयनमा कडाइ गर्दै लैजाने रणनीति अवलम्बन गरेको उनले बताए । भट्टराईले वितरणमुखी योजनाहरू बढी भएकाले त्यस्ता योजनालाई निरुत्साहित गर्दै आगामी दिनमा दीर्घकालीन महत्व बोक्ने योजनालाई बढी प्राथमिकतामा राख्नेगरी छलफल चलाएको जानकारी दिए ।

जनशक्ति अभाव, बुझबुझारथको कमी, स्थानीय स्रोत साधनको कमी, व्यावसायिक कृषिमा जोड दिन नसक्नु, लगानीको अभावजस्ता समस्याहरू देखापरे पनि यी समस्याहरूलाई समाधान गर्न गाउँपालिकाले सक्दो प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।

पालिकाका लेखा अधिकृत युवराज घिमिरेले गाउँपालिकामा आन्तरिक आम्दानीको अवस्था कमजोर भएकाले संघ, प्रदेश सरकारसँग निर्भर रहनुपर्ने बताए । वार्षिक ३० लाख जति गाउँपालिकाको आन्तरिक आम्दानी भएको उनले जानकारी दिए । यस्तै, घिमिरेले अन्य स्थानीय तहहरूमा जस्तो नदीजन्य पदार्थ नहुनु, स्वीकृति लिएर गर्नुपर्ने काम पनि स्वीकृति नलिई गर्नु, तिर्नुपर्ने तथा नवीकरण गरेर सञ्चालन गर्नुपर्ने कार्यलाई पनि गर्न नखोज्नु जस्ता समस्याहरूले कर तथा करको दायरा वृद्धिमा समस्या देखिएको बताए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया