Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगचिसो बढेसँगै सगरमाथा क्षेत्र सुनसान

चिसो बढेसँगै सगरमाथा क्षेत्र सुनसान


सोलुखुम्बु । सिजनमा स्वदेशी तथा विदेशी पर्यटहरूले खचाखच हुने सगमारथा क्षेत्र सुनसान हुँदै गएको छ । चिसो बढेसँगै पर्यटक आवगमन न्यून हुँदा सगरमाथा क्षेत्र सुनसान हुँदै गएको हो । साथै, स्थानीय बासिन्दाहरू समेत चिसो छल्न अन्यन्त्र जान थालेका छन् ।

इलाका प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाका अनुसार सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङलगायतका क्षेत्रहरू पनि चिसो सुरु भएसँगै एक्लिएको हो । यहाँ प्रायःजसो चिसो भइरहन्छ । अरु समयमा भन्दा पुस, माघमा झन् धेरै चिसो हुनेहुँदा यहाँका मानिसहरू जाडो छल्न बेँसी झर्ने गर्दछन् । विगतका वर्षको तुलनामा यस वर्ष चिसो अत्यधिक भएपछि जिल्लाको पर्यटकीय क्षेत्र खुम्बुलगायतका मानिसहरू चिसो छल्न मंसिर पहिलो साताबाटै काठमाडौँ, भारतको बोधगया लगायत नेपालका विभिन्न क्षेत्रमा गएका छन् । नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाका अनुसार खुम्बुमा मंसिरदेखि फागुनसम्म अत्याधिक चिसो हुने भएकाले चिसो छल्नका लागि उनीहरू बाहिर जाने गरेका छन । खुम्बुका गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवं थामेलगायतका बासिन्दाहरू कात्तिक अन्तिम सातातिरबाटै खुम्बु छोडिसकेका छन् भने त्यसभन्दा तलका बस्तीहरू खुम्जुङ, नाम्चे, लुक्लालगायतका स्थानीयहरू मंसिरको पहिलो सातातिर बाहिर गएका हुन् । यहाँका बासिन्दा जाडो छल्नका लागि धेरैजसो राजधानी काठमाडौँ जाने गरेका छन ।

स्थानीय फुरी शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायतका लज सञ्चालकहरूले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएर जाने गरेका छन् भने कतिपयले घरमा ताल्चा नै लगाएर जाने गरेका छन । तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाडौँसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाडौँ भएको स्थानीय दावा शेर्पाले बताए । भौगोलिक विकटता एवं उच्च हिमाली क्षेत्र भएकाले पनि यस भेगका बासिन्दालाई बाह्रै महिना समस्यामा पिरोलिएर बाँच्नु परेको छ । झनै जाडो महिनामा त यस भेगमा एकछिन पनि बस्न नसकिने स्थानीयवासीहरू बताउँछन । मुस्किलले वर्षमा छ महिना मात्र यस भेगमा मानिसहरू बसोबास गर्नेगरेको स्थानीय बासिन्दा बताउँछन् । चिसो छल्नका लागि अधिकांश स्थानीयले खुम्बु छाडेर गइसक्दा पनि कर्मचारीहरू भने खुम्बुमै रहेका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर १ खरिखाला क्षेत्रबाहेक माथिल्लो क्षेत्रमा खासै खेतीपाती हुँदैन । यहाँको मुख्य आम्दानीको स्रोत नै पर्यटन व्यवसाय रहेको छ । सगरमाथा समेत यसै गाउँपालिकामा पर्ने भएकाले यस गाउँपालिकामा वार्षिक करिब ५० हजार देशी तथा विदेशी पर्यटकहरू भ्रमणमा आउने गर्छन ।


क्याटेगोरी : पर्यटन उधोग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया