Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोग२० वर्षमा २८ लाख पर्यटक, २० करोड बढी आम्दानी

२० वर्षमा २८ लाख पर्यटक, २० करोड बढी आम्दानी


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय सञ्चालनमा आएको करिब २० वर्ष पुगेको छ । २०६० साल माघ २२ गतेबाट सञ्चालनमा आएको संग्रहालयलाई पोखराको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ ।

संग्रहालय सञ्चालनमा आएको २० वर्षमा करिब २८ लाख पर्यटक त्यहाँ पुगेका छन् । सोमध्ये विदेशी पर्यटकको सङ्ख्या मात्रै पाँच लाख ४० हजार सात सय ९३ रहेको छ । तथ्याङ्कअनुसार संग्रहालय सञ्चालनमा आएको वर्ष आर्थिक वर्ष २०६०/६१ मा एक हजार आठ सय ७८ जनाले संग्रहालयको अवलोकन गरेका थिए । सो सङ्ख्यामा वृद्धि भएर आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा ४४ हजार दुई सय ४३ जना पर्यटक संग्रहालय पुगेका छन् । संग्रहालय अवलोकन गर्ने पर्यटकको सङ्ख्या वार्षिकरूपमा बढ्दै गएको छ । कोरोना कहरका बेला केही पर्यटक घटे पनि पछिल्लो समयमा संग्रहालयमा पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा मात्रै १३ हजार सात सय ४७ विदेशी पर्यटकले संग्रहालय अवलोकन गरेका छन् । संग्रहालयकी कार्यकारी निर्देशक निर्मला कुमारी न्यौपानेका अनुसार सार्क मुलुक बाहिरबाट संग्रहालय घुम्न आएका पर्यटकको सङ्ख्या मात्रै सात हजार आठ सय पाँच जना रहेको छ । यस्तै, चालू आवमा सार्क मुलुकका पाँच हजार आठ सय ६९ पर्यटक संग्रहालय अवलोकनका लागि पुगेको उनले बताइन् । चालू आवको चार महिनामा ७३ जना नेपाली संग्रहालय पुगेका छन् ।

हालसम्म २० करोड बढी आम्दानी
तीन सय ६५ दिनै खुला रहने संग्रहालय सञ्चालन भएको २० वर्षमा टिकट बिक्रीबाट मात्रै २० करोड ५९ लाख ४७ हजार तीन सय २८ रुपैयाँ आम्दानी गरेको छ । संग्रहालयले मुख्य आम्दानीको स्रोत टिकट बिक्रीलाई बनाएको छ । संग्रहालयले टिकटलाई विभिन्न वर्गमा वर्गीकरण गरेर रकम उठाउने गरेको छ । जसमध्ये विद्यार्थीका लागि ५०, नेपालीका लागि एक सय, सार्कस्तरीय पर्यटकलाई दुई सय ५० र बाह्य पर्यटकका लागि पाँच सय रुपैयाँ कायम गरेको छ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाका अनुसार हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी स्थापना गरिएको संग्रहालयमा अध्ययन अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुने गरेका छन् । संग्रहालयमा आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४ वटा, सात हजार पाँच सयदेखि सात हजार नौ सय ९९ मिटर उचाइसम्मका ४०, छ हजारदेखि छ हजार नौ सय ९९ मिटरसम्मका छ सय तीनसहित कुल एक हजार नौ सय १३ वटा हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका भेषभूषा, संस्कृति, उपयोग गर्दै आएका विभिन्न सामग्री संग्रह गरी प्रदर्शनमा राखिएको छ ।


क्याटेगोरी : पर्यटन उधोग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया