Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगपोखरामा प्याराग्लाइडिङ उडान अनिश्चित

पोखरामा प्याराग्लाइडिङ उडान अनिश्चित


पोखरा । नेपाल हवाई खेलकुद संस्था(ना) र पाइलटहरुबीच विवाद चर्किँदै गएपछि पोखरामा अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडान बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ कम्पनीको निर्णयमा ७० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीका करिब एक सय सात प्यारापाइलटले असहमति जनाउँदै आन्दोलन सुरु गरेपछि उडान बन्द भएको हो ।

नाले संस्थामा आवद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्ने र आफुखुसी उडान गर्ने निर्णय गरेपछि प्याराग्लाइडिङ चालक आन्दोलित भएका थिए । विवादकै मानसिकतामा उडान भर्न दिँदा झनै असुरक्षित हुने भएकाले समस्या समाधान नहुँदासम्मका लागि उडान रोकिएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ उडान व्यवस्थापनको जिम्मा नेपाल हवाई खेलकुद संस्थालाई दिएको छ । त्यसै आधारमा प्याराग्लाइडिङको उडान शुल्क सो संस्थाले नै निर्धारण गर्दै आएको थियो ।

उनले प्यारापाइलटले आफूखुसी उडान दर तोक्दा सस्तोमा उडान हुने र अस्वस्थ प्रतिस्पर्धा बढ्ने बताउँदै एकद्वार प्रणालीबाट दररेट तोकिनुपर्ने अडान राखेकाले विवाद समाधान भएपछि मात्रै उडान खोलिने बताए ।

नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब पोखराले नेपाल हवाई खेलकुद संस्था सिन्डिकेटको विपक्षमा देखिएको भन्दै सस्तो दर र आफूखुसी उडान गर्न असमर्थ रहेको जानकारी गराएको छ । क्लबले कम्पनी कम्पनीबिचको द्वन्द्वका कारण प्याराग्लाइडिङको भविष्य सुनिश्चित नहुनुका साथै चालक पलायन हुने र उडान सुरक्षा नहुने भन्दै प्यारापाइलट उडानमा संलग्न नहुने जनाएको छ ।

विगत १६ महिनादेखि एकद्वार प्रणालीबाट उडान भइरहेकाले पुन:एकद्वार प्रणालीबाट सेवा सुचारु हुनुपर्ने पाइलट्स क्लबले जनाएको छ । यसअघि एक जना यात्रुलाई प्याराग्लाइडिङमा उडाएबापतको शुल्कमा ७० प्रतिशत कम्पनी र ३० प्रतिशत पाइलटले पाउँदै आएका थिए ।


क्याटेगोरी : पर्यटन उधोग

तपाईको प्रतिक्रिया