Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगएक वर्षमा भित्रिए १० लाख पर्यटक

एक वर्षमा भित्रिए १० लाख पर्यटक


काठमाडौं । सन् २०२३ मा नेपालमा १० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार शनिबारसम्म १० लाख आठ हजार छ पर्यटक नेपाल आएका हुन् ।

कोभिड–१९ महामारीसँगै नेपालको पर्यटन क्षेत्र प्रभावित बनेको थियो । महामारीपछि यस वर्ष नै सबैभन्दा धेरै पर्यटक नेपाल घुम्न आएका छन् । पर्यटन बोर्डका अनुसार सन् २०१९को तुलनामा यस वर्ष ८५ प्रतिशत पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए ।

आगामी वर्ष पनि नेपालमा पर्यटक आगमन बढेर जाने बोर्डको अपेक्षा छ । अन्तर्राष्ट्रिय बजारमा पर्यटकीय क्षेत्रका बारे प्रभावकारी बजारीकरणका लागि नयाँ रणनीतिक कार्ययोजना बनाउने तयारी भएकाले आगामी वर्ष पर्यटक आगमन बढ्ने विश्वास बोर्डको छ ।

अहिले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै पर्यटक नेपाल आउने गरेका छन् । पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलहरू पनि पूर्णरूपमा सञ्चालन गर्न सकिए नेपालमा पर्यटक आगमन बढ्नसक्ने व्यवसायीहरू बताउँछन् । ठूला तारे होटलहरू पनि खुल्ने क्रम बढ्दै गएकाले पनि विदेशमा बजारीकरण बढ्नेछ । यसले पनि पर्यटक आगमनलाई बढाउने देखिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० गते आफ्नो एकवर्षे कार्यकालको उपलब्धि सुनाउन गरेको सम्बोधनमा आगामी वर्ष विदेशी पर्यटकको संख्या दोब्बरले बढाउने घोषणा गरेका थिए । तर, त्यसका लागि पर्याप्त पूर्वाधार र बजारीकरणको आवश्यकता पर्छ । पर्यटक आगमन बढाउन होटल तथा रिसोर्टको संख्या र क्षमता बढ्नुपर्छ ।

सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । यस्तै २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सरकारले हरेक वर्ष बजेटमा सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने उल्लेख गर्दै आएको छ ।

सन् २०२३ मा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । बोर्डका अनुसार तीन लाख १७ हजार चार सय ८१ भारतीय पर्यटक नेपल घुम्न आएका छन् । अहिलेसम्म सबैभन्दा धेरै पर्यटक आएको वर्ष सन् २०१९ मा भारतबाट दुई लाख ५४ हजार एक सय ५० पर्यटक नेपाल आएका थिए । भारतबाट नेपाल घुम्न आउने अधिकांश धार्मिक पर्यटक हुन् । भारतबाट हवाईमार्ग हुँदै पशुपतिनाथ र मुक्तिनाथ घुम्न पर्यटक आउने गरेका छन् ।

भारतपछि अमेरिकी पर्यटक धेरै छन् । यसवर्ष अमेरिकाबाट ९९ सय हजार नौ सय ८५ पर्यटक नेपाल आएका छन् । यसपछि चीनबाट ६० हजार एक सय ६०, बेलायतबाट ५२ हजार सात सय ९१, बंगलादेशबाट ३६ हजार एक सय ९१, श्रीलंकाबाट २१ हजार आठ सय ४४ र म्यानमारबाट १२ हजार छ सय ८८ पर्यटक नेपाल घुम्न आएका छन् । यसबाहेक अन्य मुलुकबाट पनि नेपाल घुम्न आएका छन् ।

पर्यटन बोर्डका अनुसार यस वर्ष अक्टोबर महिनामा सबैभन्दा बढी एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । वर्षको पहिलो महिना जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २८, अप्रिलमा ९८ हजार सात सय ७४, मेमा ७७ हजार सात सय दुई, जुनमा ७२ हजार दुई सय ४८, जुलाईमा ५७ हजार सात सय २५, अगष्टमा ६७ हजार एक सय ५३, सेप्टेम्बरमा ९१ हजार १२, नोभेम्बरमा एक लाख ८६ हजार २८ र डिसेम्भरमा ९० हजार तीन सय नौ पर्यटक नेपाल आएका छन् ।


क्याटेगोरी : पर्यटन उधोग
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया