Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिअविश्वासको ठूलो खाडलमा विश्वासको मत

अविश्वासको ठूलो खाडलमा विश्वासको मत


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १४ महिनामा तेस्रो पटक अविश्वासको खाडल गहिरिँदै गएको देखिनेगरी विश्वासको मत लिए । यो भनेको सरदरमा हिसाब हुँदा एउटा गठबन्धनको आयु करिब पाँच महिना छ ।

गतवर्ष पुस २६ र चैत ६ गते, यसवर्ष फागुन ३० उनले विश्वासको मत लिएका दिन हुन् । तेस्रो गठबन्धनमा आइपुग्दा संसद्को करिब वर्षदिनको कार्यकालमा उनको समर्थन पनि घटेको देखियो । पहिलो गठबन्धनमा उनले ऐतिहासिक हुनेगरी दुई सय ६२ जना सांसदको विश्वास पाएका थिए । दोस्रो पटक त्यो घटेर एक सय ७२ मा आयो भने पछिल्लो पटक एक सय ५७ कायम भयो ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्रीले एक सय ५७ मत पाए, विपक्षमा एक सय १० मत खस्यो । प्रधानन्त्रीले पाएको यो मत सरकार टिकाउनका लागि पर्याप्त हो तर यो पटक यस्तो मत प्रकट गर्नेले पनि मनैले विश्वास गरेको चाहिँ देखिएन ।

गठबन्धनका हिसाबले पछिल्लो पटक अघिल्लो गठबन्धनकै चारवटा दल सहभागी छन् । हैसियतका हिसाबले दोस्रोदेखि चौथोसम्म लहरै र पाँचौँ छाडेर छैटौँ र सातौं शक्ति एकठाउँमा थिए । त्यसपछि घरझगडाकै बीचमा कान्छो दल पनि विश्वासको मत दिन आइपुग्यो । तर पनि मतसंख्या भने घटेको छ ।

प्रचण्डले पाएको यो मतलाई आधार मान्ने हो भने उनी प्राविधिकरूपमा मात्र प्रधानमन्त्री भएका छन् । एउटा त उनले पाएको यो मत समर्थकहरूको मनको होइन भन्ने देखिन्छ । पक्षमा मत प्रकट गर्नेहरूले मतदान गर्नुअघि मनको कुरा व्यक्त गरेका थिए । त्यसमध्येका दुईवटा दलका प्रतिनिधिहरूले बोलेका कुराअनुसार उनले प्रकट गरेका मत कतिपय बाध्यताका कारण हो, जो भोलिपर्सिकै कुनै पनि बेला फिर्ता हुनसक्छ ।

उल्लिखित यी दुई दलले समर्थन फिर्ता लिए भने यो गठबन्धन ढल्नेछ । ती दुई दल हुन्ः एकीकृत समाजवादी र जनता समाजवादी पार्टी । अब हेरौँ, यी दुई दलका प्रतिनिधिले मतदान गर्नुअघि प्रतिनिधिसभाको बैठकमा दिएका मन्तव्यका दुई अंश :

एक,
१० सिट रहेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे :
गठबन्धन बदलिइसकेको छ । चार दलले हस्ताक्षर गरेका छन् । हामी एकीकृत समाजवादी यो देशको संविधानको रक्षाका लागि, पार्टीभित्र जन्मेको व्यक्तिवादका विरुद्धमा उत्रेर, विद्रोह गरेर आएको शक्ति हो । आफैँले बनाएको पार्टी तोडेर विष पिएर हामी तपाईँहरूको पासमा थियौँ । हामीलाई बाटामा छाडेर, बगरमा खोलाले ठुटोलाई घिसारेर लिएर गएर बीचमा छोडेको जसरी छोडेर हिँड्नुभो । योभन्दा अनैतिकता के हुन्छ ? मैले प्रधानमन्त्रीज्यूलाई यो रोस्टमबाट प्रश्न गर्न चाहन्छु– योभन्दा अनैतिकता के हुन्छ ? एकचोटि हाम्रो पार्टीको ठाउँमा सम्मानीय प्रधानमन्त्रीज्यूले सोच्नुहोस् । अघि भर्खर कुरा आएको छ, ओलीजी र शेरबहादुरजीको घाँटी जोडियो भने तपाईको हालत के हुन्छ ? त्यसो हुनाले यो जे खालको व्यवहार भयो, योप्रति घोर आपत्ति छ । नेपालको राजनीति शंका, अविश्वास र षड्यन्त्रको खेलमा अगाडि बढेको भान भइरहेको छ । यस्तो षड्यन्त्रबाट अगाडि बढेको देश उँभो लाग्दैन ।

दुई,
संसद्मा १४ सिट रहेको र प्रधानमन्त्रीलाई विश्वासको मत दिएको अर्को दल जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादव :
तपाईँ उथलपुथल गरिदिनुहुन्छ, सहयात्रीहरूलाई थाहै हुँदैन । धेरै प्रयोग गरिरहने मान्छे त हुनुहुन्छ तर कहिलेकाहीँ ‘इनफ इज इनफ’ भन्छ नि, त्यो नगर्नुहोला । अस्ति भर्खर ८ बुँदे सम्झौता ७ बुँदेमा झरेको छ । मधेससँग गरेको त्यो ८ बुँदे लागू होला भन्ने हामीलाई लागेको थियो । म यहाँलाई स्मरण गराउन चाहन्छु, अब नेपाली जनतामा राजनीतिक वितृष्णा बढेर गयो । अब तपाईँहरू जो चार–पाँच जना लोकतन्त्रलाई जसरी सिन्डिकेटका रूपमा अगाडि बढाउन खोज्दै हुनुहुन्छ, मलाई लाग्छ भविश्यका लागि यो राम्रो होइन । नेपाली जनताको विश्वास जित्ने हो भने सरकार बनेको हप्तादिन भएको छैन, तपाईँले तीनवटा प्रदेशप्रमुख बदल्नुभयो । त्यसमा मधेसीको अनुहार देखिएन । हामी सशक्त घटक हौँ, अब तपाईँले गरेका प्रतिबद्धताअनुसार हामी आफ्नो भाग खोज्छौँ । यदि हाम्रो भाग यदि न्यायसंगत लागेन भने त्यतिबेला हामीले त्यतिकै रूपमा हिसाब माग्नेछौँ र त्यो हिसाब अप्रिय पनि हुनसक्छ । प्रधानमन्त्रीजीले आरती साहको परिवार र मिटरब्याजीसँगको सम्झौतालाई जसरी ऐतिहासिक भन्नुभयो, प्रधानमन्त्री तपाईँ नै हुनुहुन्छ, गृहमन्त्री तपाईँकै पार्टीको हुनुहुन्थ्यो, यसको मतलब त्यो गृहमन्त्रीले काम गरेन ? या त यो ठीक, या त्यो बेठीक दुईवटै ठीक हुन सक्दैन सम्माननीय प्रधानमन्त्रीजी । त्यसैले समयअनुसार कुरा नफेरौँं ।

विश्वासको विपक्षमा मत दिनेहरूले के–के भने त्यो भिन्न कुरा हो । तर, विश्वास जनाउने र सरकारमा सहभागी भएकै दल आफ्नो विश्वासप्रति आफैँ विश्वस्त देखिएन । यी दुई दलको मतसंख्या २४ पुग्छ । कुनै दिन यो संख्या यताउता भयो भने सरकार टिक्ने आधार नै सकिन्छ ।

यो गठबन्धनमा रास्वपाका अध्यक्षलाई गृह मन्त्रालय दिइएको कुराको औचित्य प्रधानमन्त्रीसमेतले पुष्टि गर्न सकेकोे देखिएन । नयाँ गठबन्धनमा उपप्रधान गृहमन्त्री बनाइएका उनी सहकारिको आधा अर्ब ठगीमा परेका व्यक्ति हुन् । उनीमाथि किटानी जाहेरी परेर प्रहरीले औपचारिकरूपले नै अनुसन्धान चलिरहेको छ । त्यस कारण पनि संसद्मा उनलाई उन्मुक्ति दिन खोजिएको हो भनेर प्रश्न सोधिएको थियो ।
यो बीचमा यी अध्यक्षलाई कसैले प्रधानमन्त्रीको अफर गरेको भनी आएको एउटा समाचारको त्यान्द्रो समातेर त्यसदिनको संसद् बैठकमा प्रधानमन्त्री उम्कन खोजे । उनको जवाफ यस्तो थियो –मलाई अनौठो र सबभन्दा बढी नमीठो लाग्ने कुरा के हो भने अहिले यहाँ पनि प्रश्न उठ्यो, प्रश्न उठेका मान्छेलाई मन्त्री बनाउने ? के हो यो भनेर पनि उठ्यो । मलाई त थाहा छ नि त्यो कुरा पनि, तिनैलाई प्रधानमन्त्री बनाउन हिँडिराखिएको कुरा पनि त देखिराखिएकै छ । यतिधेरै डबल स्टान्डर्डको कुरा हामी किन गर्ने ? आफूतिर आउँछ भने प्रधानमन्त्री बनाउन पनि तयार, आउँदैन भने भ्रष्टाचारी, यो मुद्दामा परेको, कारबाही गर्नुपर्ने । यस्तो डबल स्टान्डर्ड पनि चल्छ ?’

ध्यान रहोस्, प्रधानमन्त्रीले आफ्नो जवाफको प्रमुख आधार बनाएको त्यो समाचार कतैबाट पनि पुष्टि भएको थिएन र छैन ।

आफैँले नियुक्त गरेको उपप्रधान र गृहमन्त्रीजस्तो राज्यको यति संवेदनशील निकायका पदाधिकारीमाथि नागरिकले बैंकमा राखेको रकम अनेक जालझेल गरेर आफ्ना खातामा सारेको भनी कुनै सरकारी निकायको अध्ययनबाटै देखिएको विषय संसद्मा उठिसकेपछि प्रधानमन्त्रीबाट त्यसको जवाफ यति हलुकारूपले आउँछ भने देशका लागि यो दूर्भाग्य नै हुनुपर्छ ।


क्याटेगोरी : राजनिति
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया