Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिअख्तियारको अबको पालो ७० करोडको अडियो प्रकरण

अख्तियारको अबको पालो ७० करोडको अडियो प्रकरण


काठमाडौं । २०७५ पुसमा अख्तियार पुगेको वाइडबडी खरिद प्रकरणमा भएको भ्रष्टाचारमा पाँच वर्षपछि २०८० चैतमा एक अर्ब ४७ करोड जनही बिगो दाबी भएर ३२ जनाविरुद्ध मुद्दा दर्ता भयो ।

२०७६ फागुन ११ मा दर्ता भएको तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोडको अडियो प्रकरण पनि अनुसन्धानको पाँचौं वर्षमा पुगेको छ । यही चैत १५मा लोखा समितिसामु उपस्थित भएर प्रमुख आयुक्तले यसको अनुसन्धान सकिनै लागेको भनेर बताइसकेका छन् ।

प्रमुख आयुक्तले यस्तो जानकारी गराउँदाको त्यो बैठकमा प्रमुुख आरोपी वा अभियोगी बाँस्कोटा आफँै उपस्थित थिए । उनी एमालेका तर्फबाट लेखासमिति सदस्य हुन । त्यसबेला ७० करोडको अडियो प्रकरण सार्वजनिक भएलगत्तै उनले मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि उनी लेखासमितिमा लगिए र पछिल्लोपटक पनि दोहोरिएका हुन् । सामान्यतया लेखासमितिलाई संसद्मा भ्रष्टाचारको छानबिन गर्ने निकायका रूपमा लिने गरिन्छ ।

त्यो वर्षको फागुन ८ गते सार्वजनिक भएको यो अडियो प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, तत्कालीन सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सीईओ विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

सी –२६९८२ –२०७६ –११ –११ दर्ता नम्बर भएको यो उजुरी बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौंडाका आनन्दराम पौडेलले हालेका हुन् ।

उजुरीमा तत्कालीन प्रधानन्त्रीका बारे भनिएको छ, ‘प्रधानमन्त्रीजस्तो जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्ति यस्तो भ्रष्टाचार भएको प्रमाण आफ्नो जानकारीमा आएपछि भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्ने दायित्व र कर्तव्य रहेकोमा सो प्रमाण लुकाएबाट निज प्रधानमन्त्री पनि सो भ्रष्टाचारको उद्योग कार्यमा संलग्न र मतियार रहेको स्वतः पुष्टि हुन्छ ।’

तर ओलीले त्यसै बेलादेखि पूर्वमन्त्री बाँस्कोटाको टेप प्रकरणको बचाऊ गर्दै आइरहेका छन् । त्यही वर्षको फागुन १५ गते राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उनले बाँस्कोटामाथिको आरोप प्रमाणित भइनसकेको र बाँस्कोटाले पनि आफ्नो टेप नभएको बताएको भन्दै बचाऊ गरेका थिए । उनले आफू र बास्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीप्रति उपहास नै गरेका थिए  । उनको भनाइ थियो ‘आरोप सत्य होइन । अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, बाँस्कोटाले होइन भनिरहनु भएको छ । स्वीस राजदूतावासले फ्रड हो भन्यो । आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भएजसरी प्रचार गर्नु आवश्यक छैन, आरोप छैन पुष्टि छैन । काम नलाग्ने पत्रु उजुरीको के काम । त्यो भ्रष्ट उजुरी हो ।’

ओलीका अनुसार कमिसन मागिएको त्यो अडियो प्रकरण भ्रष्टाचार होइन । बरु अख्तियारमा परेको उजुरीचाहिँ भ्रष्टाचार हो । नेतृत्वको यो तहबाट गरिएको यस्तो दाबीले नै यो उजरी खुल्न सकेको छैन । तर यता यो प्रकरणमा छिटोभन्दा छिटो छनबिन होस् भन्ने माग बढिरहेको छ । अडियोले नै बताउँछ राज्यले खरिद गर्ने कुनै वस्तुमा अर्बौंको मूल्य बढाएर सोअनुसार कमिसनको रकम पनि बढाउन माग गरिएको छ । यो पनि एउटा ठूलो आर्थिक अपराध नै हो ।

यस प्रकरणमा अख्तियारमा उजुरी परेका चार जनामध्ये नेपाल सेक्युरिटी प्रेसका सीईओ विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा छन् । उनीविरुद्ध अर्बको हाराहारीमा बिगो मागेर अदालतमा भ्रष्टाचारको मुद्दा दायर भइसकेको छ । यही सेक्युरिटी प्रेस खरिद सम्बन्धमा ७० करोड कमिसन मागिएको हो ।

सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले पिँधबाट राजीनामा त दिए तर कतैबाट छानबिन नहोस् भनेर तुरुन्तै उनलाई प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिको सदस्य बनाइयो । यो टेपवार्ता लेखासमितिमा पनि पु¥याइएको थियो । यी सबै विवरणले या प्रकरण ढाकछोप गर्न धेरै उच्चतहको संलग्नता रहेको छ । अहिलेका प्रमुख आयुक्त त्यसपछि नियुक्त भएका हुन् । उनको नियुक्ति नै विशेषरूपले भएको भन्ने आरोप छ । संसद् विघटन गरिएको बेला नियुक्ति भएको थियोे । त्यसकारण उनको संसदीय सुनुवाइ समेत भएको छैन ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसनका लागि गरेको कुराकानीको अडियो हाम्रा कुराले सार्वजनिक गरेको हो । एक स्वीस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्नेसम्मको सल्लाह गरेको सुनिन्छ । ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बाँस्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका छन् । यो वार्तामा यी एजेन्टलाई मन्त्रीले २७ अर्बको लागत लाग्ने देखिए त्यसलाई बढाएर २८ अर्ब बनाउन सुझाव दिएको बुझिन्छ ।

मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माबीच भएकको संवाद :
– विजय प्रकाश मिश्र शर्माः यो १२ गते १२ बजेपछि स्वीस एम्वेसी आउँछ । स्वीस एम्वेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन
– मन्त्री गोकुल बास्कोटाः ह…
– विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ । तपाइहरूको – कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ ।
– मन्त्री गोकुल बास्कोटाः ठीक छ ।
– विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्यो ।
– मन्त्री गोकुल बास्कोटा : मिलाइदिन्छु ।
– विजय प्रकाश मिश्र शर्मा : त्यसका लागि (कमिसनका लागि) हामी आउट अफ ट्याक जानेकी – तपाइले भने अनुसार नै गर्ने लु भन्नुस ।
– मन्त्री गोकुल बास्कोटा : अब । क्यापासिटीको कुरा ।
– विजय प्रकाश मिश्र शर्मा : कुरा चाहि मैले राखेको छु उनीहरूलाई ।
– मन्त्री गोकुल बास्कोटा : उनीहरूलाई नर्मलमा ५० भन्ने ?
– विजय प्रकाश मिश्र शर्मा : त्यसमा नर्मलमा
– मन्त्री गोकुल बास्कोटा : उनीहरूले कति निकाल्छन ?
– विजय प्रकाश मिश्र शर्मा : यस्को टोटलको पर्सेन्ट निकाल्ने हो ।
– मन्त्री गोकुल बास्कोटा : टोटल कति निस्कन्छ त्यो हेरौं ।
– विजय प्रकाश मिश्र शर्मा : केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो । बेसचाहि तपाइहको उसमै जाने हो हामी ।
– मन्त्री गोकुल बास्कोटा : सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो । मानौँ २५ निस्कयो भने कति हुन्छ ?
– विजय प्रकाश मिश्र शर्मा : ७० जति आउलाकी ! आउट अफ ट्याक नजादा ७० जति आउलाकी ।
– मन्त्री गोकुल बास्कोटा : तपाइलाई के गर्छन ? छुट्टै गर्छन ?
– विजय प्रकाश मिश्र शर्मा : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ । यसमा ७० प्रतिशत
– तपाइहरूलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो । यो एकदमै ट्रान्सपरेन्ट हुन्छ ।
– मन्त्री गोकुल बास्कोटा : त्यो भनेको कति हुन्छ ?
– विजय प्रकाश मिश्र शर्मा : ५४ देखि ५५ करोड तपाइहरूलाई दिने १५ देखि १६ हामीले राख्ने ।
– हामीले पनि त अलि अलि राख्नुपर्योनी । आउट अफ ट्याक गइयो भने…
– मन्त्री गोकुल बास्कोटा : अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी ?
– विजय प्रकाश मिश्र शर्मा : त्यो कुरा तपाई गर्नुस ।
– मन्त्री गोकुल बास्कोटा : एउटा के नगर्नुस भने यी मु…कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने – यिनले हेप्छन । त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस । कुरा बुझ्नुभोे…
– विजय प्रकाश मिश्र शर्मा : त्यसो भए म आफै लाग्छु । उसले त बनाएर राखिसकेको छ ।
– मन्त्री गोकुल बास्कोटा : त्यो मु..ले बनाएको त ३५ अर्बको छ । अब यता २७ अर्ब निस्कयो भने २८ अर्बको बनाउनुस ।


क्याटेगोरी : राजनिति
ट्याग : #page 18

तपाईको प्रतिक्रिया