Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिकृष्णबहादुरप्रति गृहमन्त्रीको ‘राजकीय करुणा’

कृष्णबहादुरप्रति गृहमन्त्रीको ‘राजकीय करुणा’


काठमाडौं । गएको हप्ता अदालतको आदेशबाट पक्राउ परेका सुन तस्करीका अभियोगी माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा गृहमन्त्रीको आदेशबाट छुटे । त्यसपछि सबैतिर प्रश्न उठेको छ, गृहमन्त्रीलाई त्यस्तो अधिकार छ ?

सामाजिक सञ्जालमा व्यापक भएपछि गृहमन्त्रीले जवाफ दिए, ‘राज्यको करुणा जागेर यस्तो भएको हो ।’

यो पक्राउ आफैँमा सामान्य थिएन तर त्योभन्दा झन् ठूलो असामान्य कुरा, एक पैसा धरौटी नराखी हाजिरी जमानीमा छाडियो ।

महरा पक्राउ पर्ने काम कस्तो हो भन्ने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको दल रास्वपाका उपाध्यक्षले महरा छुटेको भोलिपल्टसम्म पनि उनलाई पक्राउ गर्नु धेरै ठूलो काम गरेको भनेर बताइरहेका थिए । तर, महरा शुक्रबार नै छुटे । त्यसको भोलिपल्ट रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेले एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले फिल्मको ‘ट्रेलर’ सुरु गरिसकेका छन् ।’ उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गरेका काम त आजसम्म कसैले गर्नै सकेका थिएनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का मित्र एवं सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरिनु धेरै ठूलो र साहसी कुरा हो । उनकै शब्दमा– ‘…तपाईँहरूलाई थाहा छ, कृष्णबहादुर महरा भनेको चानचुने राजनीतिक पात्र होइनन् । २०६२/०६३ पछि त उहाँ उपप्रधानमन्त्री, सभामुख, गृहमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री दोहो¥याई, तेह¥याई हुनुभएको छ’, उनले भने, ‘बहालवाला प्रधानमन्त्रीका अनन्य मित्र, त्यति नजिकको पात्रलाई पनि हामीले कानुनको घेराभित्र ल्याएका छौँ । त्यो सानो कदम होइन, त्यसले एउटा संकेत गरेको छ । कृष्णबहादुर महरा समेत सत्तासँग यति नजिक, सत्तारूढ दलको उपाध्यक्षलाई समेत कानुनी घेरामा ल्याउन सक्छौँ भने अरु त त्यति ठूलो रहेन । त्यो सङ्केत दिन खोजेको पनि हो ।’

महरा यतिठूलो प्रकरणमा पक्राउ परेर सबैभन्दा कम समय, जम्मा चार दिन मात्र हिरासतमा बस्ने व्यक्ति हुन् । अरुहरूलाई यस्तै प्रकरणमा लागू भएका कानुनअनुसार गरिएका भए उनी पनि ६० दिन हिरासतमा बस्नुपर्ने थियो ।

अर्को, यस्ता अभियोगीलाई कति दिन हिरासतमा राख्ने भन्ने अदालतको आदेशमा भर पर्छ । तर, महराले गृहमन्त्रीको आदेशबाट हिरासतमुक्त हुन पाए । यसै कारण पनि सामाजिक सञ्जालमा गृहमन्त्रीको यो काम सबैभन्दा बढी भाइरल भइरहेको छ ।

नाटकीयरूपले पक्राउ परेका महरालाई चार दिनमा नै हाजिरी जमानीमा छाडेपछि लामिछानेको यस्तो कामको व्यापक विरोध भयो । त्यसको जवाफ दिँदै उनले पनि सामाजिक सञ्जालमा नै लेखे, ‘राज्यको करुणा जागेर उनलाई छाडिएको हो ।’

‘कहिलेकाहीँ मानवीय समवेदना र करुणाका कुराहरू छाउँछन् । ८–१० वटा औषधी सेवन गरिरहनुभएको छ । अत्यन्त धेरै बिरामी हुनुहुन्छ । सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरालाई इङ्गित गरेको छ र कतिले उहाँलाई देखायो, छोड्यो भनेर तुरुन्तै निराशा जनाउनुभएको छ । राज्य निर्मम पनि हुन्छ, कठोर पनि हुन्छ । तर, राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ । त्यसैले अत्यन्त धेरै बिरामी, अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गरिरहनु पर्दैन ।’

गृहमन्त्रीले यो ठाउँमा पनि ढाँटेको पाइयो । महरा छिमेकी देशतर्फ भाग्नलागेका बेला सीमानाबाट पक्राउ गरिएको भनी त्यसबेला गृहले नै सूचना दिएको थियो । अहिले गृहमन्त्रीले भनेजस्तै त्यति साह्रो अवस्था हो भने त्यसबेला उनी कुनै अस्पतालमा हुन्थे होलान् न कि भाग्नका लागि सीमानामा ।

गृहमन्त्री लामिछानेले ‘बिरामी भएकाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको’ भनेर दिएको जानकारी नै काइते कुरा भएको छ । त्यसमाथि कुनै अभियोगमा अदालतको आदेशबाट पक्राउ परेका व्यक्ति अदालतको आदेशबाट मात्र रिहा हुन सक्तछ । गृहमन्त्रीको मन पग्लिएर आफैँलाई अदालतको काम गर्ने अधिकार रहेको भनी व्याख्या गर्न थाले भने यहीँबाट कानुनी शासनको अन्त्य भएको मान्नुपर्ने हुन्छ ।

उपप्रधानमन्त्री लामिछानेले आफूले गरेको गैरकानुनी काम अर्थात् महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडिएको भन्ने कुरालाई कसैले विरोध गरे त्यो अतिरञ्जित हुने दाबी गरेका छन् । ‘अत्यन्त धेरै बिरामी, अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गरिरहनु पर्दैन’ भन्ने उनको निर्देशन छ ।

यहाँनेर प्रश्न उठ्छ, त्यस्तो नाजुक मान्छेलाई पक्राउ गर्न अदालतको आदेश किन मागे, पक्रेर ल्याएपछि हिरासतमा राख्न अर्को पनि आदेश किन मागे ?

यी सबै प्रश्नको उत्तर आउँदै गर्लान् तर महरालाई कम्तीमा सुन तस्करी प्रकरणमा योजनाबद्धरूपले मुक्ति दिइएको र त्यस काममा रास्वपाका अध्यक्ष नै प्रयोग भएका छन् भन्ने तथ्य कतै लुक्नेछिप्ने अवस्था रहेन ।


क्याटेगोरी : राजनिति
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया