Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षादिवा खाजाले विद्यालयमा विद्यार्थीको उपस्थित बढ्यो

दिवा खाजाले विद्यालयमा विद्यार्थीको उपस्थित बढ्यो


दोलखा । पछिल्लो समय धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको रूचि घट्दो छ । कतिपय तल्लो कक्षा सञ्चालन हुने विद्यालय विद्यार्थी अभावमा नै बन्द हुन थालेका छन् । तर यहाँको एक सामुदायिक विद्यालयमा भने विद्यार्थीहरूको उपस्थिति बाक्लो हुँदै गएको छ ।

जिल्लास्थित वैतेश्वर गाउँपालिकाको विष्णु माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई दिवा खाजा उपलब्ध गराउन थालेपछि विद्यार्थीहरू नियमित उपस्थिति हुनुको साथै विद्यार्थीको संख्यामा पनि वृद्धि भएको छ । विद्यालयमा हाल दैनिक ९८ प्रतिशत विद्यार्थी नियमित उपस्थित हुने गरेको विद्यालयले जनाएको छ । सरकारले आधारभूत तहको १–५ कक्षाका विद्यार्थीलाई विद्यालय दिवा खाजा उपलब्ध गराउन सुरु गरे पनि विद्यालयले एक वर्षअघिसम्म खाजा नदिई विद्यार्थीले पाउने खाजाबापतको १५ रुपैयाँ विद्यार्थीलाई नगद नै दिने गरेको थियो । तर विद्यालय प्रशासनले गत वर्षदेखि राज्यले उपलब्ध गराउने १५ रुपैयाँमा आफ्नै स्रोतबाट एक कक्षा थप गरी कक्षा–६ सम्मका विद्यार्थीलाई दैनिक फरक–फरक परिकार बनाएर विद्यालयमै खाजा उपलब्ध गराउन थालेको छ ।

विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन नहुँदा करिब ७०/७५ प्रतिशत मात्रै विद्यार्थीको नियमित हाजिर हुन्थ्यो । तर खाजा खुवाउने कार्यक्रम सुरु भएपछि नियमित हाजिर हुने विद्यार्थीको संख्या सुधार आएको विद्यालयका प्रधानाध्यापक भाइराम बुढाथोकीले बताए । उनका अनुसार सरकारले एक–पाँच कक्षाका विद्यार्थीलाई खाजा उपलब्ध गराउने भने पनि खाजा तयार गर्नका लागि प्राप्त संरचना नहुँदा विद्यालयले विद्यार्थीलाई पैसा नै वितरण गर्ने गरेको थियो । तर हाल सबै व्यवस्थापन गरेर कक्षा ६ सम्मकै विद्यार्थीलाई स्थानीय गाउँघरका परिकार बनाएर खुवाउने गरिएको उनले बताए । दिवा खाजाले विद्यार्थीको उपस्थिति मात्रै नभई यस विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्यामा समेत बढेको उनले बताए । विद्यालयमै स्थानीय परिकार बन्न थालेपछि विद्यार्थीहरूले जङ्कफुट किन्न र खान समेत छाडेका छन् ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया