Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमेयर बालेन र कामको मूल्याङ्कन

मेयर बालेन र कामको मूल्याङ्कन


काठमाडौं । नेपालको राजधानी शहर काठमाडौं का मेयर बालेन्द्र शाह (बालेन शाह) को कार्यकाल लगभग २ वर्ष हुन लागेको छ । यो दुई वर्षमा मेयर बालेनको कार्यकालको सम्पूर्ण मूल्याङ्कन हुन त सक्दैन । उनको काम, परिणाम र व्यक्तित्वको सम्पूर्ण मूल्याङ्कन गर्न पाँच वर्षको कार्यकाल सम्पन्न हुन दिनै पर्दछ । पाँच वर्षको कार्यकाल सम्पन्न भएपछि उनले गरेका काम, परिणाम र उम्मेदवार भएर मत माग्दा गरेका बाचा,कबुल, कार्यक्रम,योजना या घोषणापत्र आदि सबै भिडाएर मात्र उनको पूर्ण मूल्याङ्कन हुन सक्दछ ।

-यापर गायकको रूपमा युवाहरूमा परिचित बालेन शाह स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार हुँदै गर्दा उनले निर्वाचनमा विजयी भएर नेपालको राजधानी भएको एकमात्र महानगरपालिकाको मेयरको रूपमा जिम्मेवारी सम्हाल्ने ठाउँमा पुग्लान् भनेर कुनै पनि राजनीतिक विश्लेषक हस्तीहरूले ठानेका थिएनन् ।

उनीभन्दा अगाडिको कार्यकल नेपालको बलियो कम्युनिष्ट दल नेकपा एमालेका मेयर विद्या सुन्दर शाक्यको थियो । विद्यासुन्दरको कार्यकाल प्रभावकारी भएन भन्ने एमालेको मूल्याङ्कन भएकोले पुनः उनलाई नै उम्मेदवार बनाएमा चुनाव जित्न सकिँदैन भनेर एमालेले उनीभन्दा धेरै मत ल्याएर चुनाव जित्न सक्छन् भन्ने विश्वासमा पहिला मेयर भएर काम गरेका र प्रभाव छोडेका केशव स्थापितलाई उम्मेदवार बनाएको थियो ।

उता नेपालको प्रजातन्त्रिक आन्दोलनमा राजधानीमा र अझ बढी नेवार समुदायमा प्रभाव भएका गणेशमान–मङ्गलादेवी सिंहकी बुहारी तथा सांसद् प्रकाशमान सिंहकी पत्नी तथा महिला समेत भएकोले उनले भारी मतले जित्न सक्छिन् भन्ने विश्वासमा नेपाली काङ्ग्रेसले सिर्जना सिंहलाई उम्मेदवार उठाएको थियो ।

धेरै राजनीति विश्लेषकहरू संगठन, व्यक्तित्व र नेवार समुदायको जातीय मत समेत तान्न सक्ने भएकोले चुनावी प्रतिस्पर्धा नेपाली काङ्ग्रेसकी उमेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितको बीचमा नै हुन्छ भन्नेमा थिए तर सबै राजनीतिक विश्लेषक र दलहरूको विश्वासलाई हावा खुवाइदिएर काठमाडौंका मतदाताहरूले प्रारम्भमा चर्चामा नै नभएका र राजनीतिमा अपरिचित युवा उम्मेदवार बालेन शाहलाई विजयी गराइदिए । केशव स्थापितले घुमाउरो पाराले तराई मूलको तेली शाह बालेनलाई मत दिनुहुँदैन नेवार बाहुल्यता भएको काठमाडौंको मेयर नेवार नै हुनुपर्छ र त्यो एमालेको केशव स्थापित नै हुनुपर्छ भन्ने मत मगाइले पनि काठमाडौंका युवा मतदातालाई छुन सकेन । सिर्जना सिंहलाई गणेशमान परिवारकी, नेवार, महिला र नेपाली काँड्ग्रेससमेत जोडेर मत माग्दा पनि पार लागेन ।

बालेनको आमसभा रहित सामजिक सञ्जाल र युवाहरुको प्रचार लहर र काठमाडौंका मतदाताको काङ्ग्रेस–कम्युनिष्ट रहित स्वतन्त्र मेयरको रहरले बालेन शाहले चुनाव जित्न सफल भए । फोहर व्यवस्थापनमा कमजोर देखिएको महानगरपालिकाको निरन्तरता र फोहरबाट मुक्त काठमाडौंको बालेन शाहको प्रतिबद्धताले पनि बालेनलाई मेयर बनाउन योगदान दियो । यो त भयो बालेनको निर्वाचन विजयको संक्षिप्त मूल्याङ्कन । अब बालेनको कामको मूल्याङ्कनतिर प्रवेश गरौं ।

मेयर बालेनले काठमाडौंको मेयरको जिम्मेवारी सम्हालिरहँदा काठमाडौं शहर फोहरले अस्तव्यस्त थियो । अगाडिका मेयरले काठमाडौंको फोहर व्यवस्थापन गर्न सफल भएका थिएनन् । जताततै फोहरका थुप्राहरूले गर्दा काठमाडौं दुर्गन्धमय थियो । फोहर फाल्ने सिसडोल भरिएको थियो । स्थानीयबासीका अनेक मागले फोहर फाल्न रोकिएको थियो भने नयाँ स्थल बन्चरेडाँडो फोहोर सम्हाल्न तयार नभएको अवस्थामा थियो । त्यसमा पनि स्थानीयबासीका अनेक माग, बहुमत नभएको महानगर पालिका,असहयोगी संघीय तथा प्रदेश सरकार समेत बालेनका लागि प्रतिकूलता र चुनौती दुवै थिए ।

बालेनले आफ्नो सबै ध्यान फोहोर तह लगाउनेमा नै केन्द्रित गरे । उनले सिसडोल तथा बन्चरेडाँडा दुवैतिरका स्थानीयबासीसँग वार्ता गरे । विगतदेखि सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने सरकारका अनेक तहसँग स्थानीयबासीहरू एकातिर आजित थिए भने अर्कोतिर अनेक माग तेर्स्याएर फोहरबाट कमाइ गर्न पल्केका स्थानीय नाइकेहरूको नियत पनि समस्या समाधान उन्मुख थिएन । अन्य दलहरुको असहयोगी भूमिका समेत बालेनका लागि प्रतिकूलता थिए ।

यी सबैका प्रतिकूलताका बाबजुद मेयर बालेन फोहर तह लगाउने योजनामा निरन्तर लागिरहे र सबै प्रतिकूलतालाई चिर्दै एक हदसम्म फोहर व्यवस्थापनमा सफलता हासिल गरे । तुलनात्मक रूपमा काठमाडौं पहिलेकोभन्दा सफा सुग्घर भयो । फोहरका डङ्गुर पन्छाउन महानगरपालिकाका टिपरहरूदिनरात नभनीदौडिरहे । फोहर रहित काठमाडौं भएपछि बालेनप्रति काठमाडौंबासी मात्र होइन, देशविदेशका नेपालीहरू पनि सकारात्मक भएका प्रतिकृयाहरु सामाजिक सञ्जालमा भरिन थाले ।

फोहर फाल्न बिचबिचमा स्थानीयबासीहरूले अनेक माग तेस्र्याएर बालेनलाई हैरान नदिएका पनि होइनन् । अवरोध गरेर केही ज्याल बालेनकै पालामा पनि फोहरको डङ्गुर नथुप्रिएको पनि होइन । बालेनले वार्ता तथा प्रशासनिक सहयोग दुवै प्रयोग गरेर सो समस्याबाट पनि पार भए । यता पछिल्लो कालमा फोहोरमा खासै अवरोध भएको पनि छैन । सिंहदरबारले सहयोग गरेन भनेर बालेनले एकपटक पाठ पढाउन भनेर निकै दिन सिंहदरबारको फोहोर नै उठाएनन् । पछि अदालतको आदेशपछि मात्र फोहर उठाए ।

बालेनले चुनावताका बाचा वा भनौं योजना सार्वजनिक गरेका थिए कि शहरको कुहिने फोहरबाट मल बनाएर गाउँमा पठाइनेछ र त्यो मललाई कृषि उत्पादनमा प्रयोग गरिनेछ र त्यो अर्गानिक मलबाट उत्पादित तरकारी वा अन्य उत्पादन शहरमा बेचिनेछ । त्यसलाई भने मेयर बालेनले व्यवहारमा परिणत गरेको देखिएन । एकपटक कामपाले नगरबासीलाई कुहिने र नकुहिने फोहर बेग्लाबेग्लै राख्न आग्रह गरेको थियो । पालैपालो एकदिन कुहिने फोहर उठाउने र अर्को दिन नकुहिने फोहर उठाउने भनेको थियो तर त्यो पनि सफल भएन ।

यता पछिल्लो कालमा कामपाले कुहिने फोहरलाई अलग्गै राखेर घरमा नै कम्पोस्ट मल बनाउने र त्यो मललाई घरको गमला वा कौसी खेतीमा प्रयोग गर्ने हो भने फोहर व्यवस्थापन तथा कौसी उत्पादन समेतमा सहयोग पुग्ने भनेर नयाँ योजना अघि सारेको देखिन्छ । त्यसका लागि कामपाले सरल दाममा फोहर कुहाएर मल बनाउने भाँडो उपलब्ध गराउने योजना अघि सारेको छ । महानगरभित्रका घरबेटीहरूले सकारात्मक भएर यो योजनामा सक्रिय सहभागिता जनाए भने यो सफल हुनसक्छ । यो कसरी अघि बढ्छ,त्यसपछि मात्र यसको मूल्याङ्कन गर्न सकिन्छ ।

मेयर बालेनले आफ्नो ध्यान सडक वा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका घर टहराहरू भत्काउने अभियान चलाए । यसलाई जनताले व्यापक साथ र समर्थन दिए । यसका लागि उनले आफ्नो नगर प्रहरीमा व्यापक सुधार पनि गरे, जसले उनको योजनालाई अगाडि बढाउन केही र कोहीबाट प्रभावित भएर कार्यन्वयन गरिरह्यो । यो कामले पनि बालेनको लोकप्रियता बढायो ।

मेयर बालेनले सडकपेटीमा कुनै पनि व्यापार गर्न नदिने नीति अघि सारे । सडक वा पेटी ठूलो बनाएको व्यापार गर्नका लागि नभएर यातायात र बटुवालाई सहज आवत–जावतका लागि हो भनेर उनी यसमा कडाइका साथ प्रस्तुत भए । उनले नगर प्रहरीलाई त्यसरी नै व्यवहारमा जान निर्देशन दिए । सडक पेटीको व्यापारले पैदल यात्री र यातायातलाई मात्र असहज बनाउने नभएर फोहर समेत बनाउने र सफा काठमाडौंको योजनालाई पनि धक्का दिने भएकाले यसमा महानगरपालिकाले कुनै मोलाहिजा देखाएन, न भावनामा नै बग्यो । अहिले महानगरमा सडकपेटी व्यापार देखिँदैन । सडकपेटीमा पहिला जस्तो भिडभाड पनि देखिँदैन र फोहर पनि भेटिँदैन । पैदल यात्री सहज किसिमले हिँड्न पाएका छन् एकतिर भने अर्कातिर सडक जाम पनि घटेको छ । यसको सकारात्मक पाटो यही हो ।

मेयर बालेनको सडक व्यापार हटाउने योजनाको आलोचना र विरोध पनि भएको छ । यो योजनाले गरिबको पेटमा लात हानेको छ, गरिबको हित हेरिएन र विवेक राखिएन भन्ने जनमत पनि बलियो छ । कुनै समय वा स्थान सडक व्यापारलाई पनि व्यवसाय गर्न दिनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । केही समय अगाडि केही युवाले यही माग माग्दै ठिङ्गासनको सत्याग्रह पनि गरे । कामपाले ठिङ्गासन तोडाउनलाई उनीसँग केही सम्झौता पनि गरेको छ, जसमा सडक व्यापारमा जफत गरिएका ठेला वा अन्य सामान फिर्ता दिने र सडक व्यापारको लागि उपयुक्त स्थानको खोजी गर्ने लगायत छन् तर रैथाने जनमत र सडकपेटीमा व्यापार गर्न दिनुहुन्न भन्ने जनमत त्यतिकै बलियो छ । मेयर बालेनले नदी र नदी सभ्यतालाई मानव अतिक्रमणबाट बचाउन भनेर बाग्मती किनारको कथित सुकुम्बासी बस्ती हटाउने प्रयत्न गरे तर उनी यसमा सफल हुन सकेनन् । यो सफल हुन नसक्नुमा असहयोगीका रूपमा संघीय सरकार र प्रदेश सरकार हो । साथै सुकुम्बासीमा राजनीति गर्ने ठूला दल कम्युनिष्ट र काङ्ग्रेस नै हुन् ।

यसलाई उनीहरुले भोट बैंक बनाएका छन् भने आन्दोलनमा ढुङ्गामुढा गर्ने जनशक्ति पनि । यो समस्या उनीहरूकै कुशासनको उपज पनि हो । तीनपुस्ते भिडाएर यसको राम्रो छानबिन गर्ने हो भने एकाध बाहेक कोहीपनि सुकुम्बासी ठहर्दैनन् । यसको समग्र अध्ययन गरेर राहत,प्रोत्साहन र सजायको प्याकेज बनाएर सबैसँग समन्वय गरेर योजना बनाएर अघि बढेमा बाग्मती लगायत सबै नदीहरुलाई अतिक्रमणबाट बचाएर सफा सुग्घर राख्ने योजनामा मेयर बालेनस फल हुने देखिन्छ ।

मेयर बालेनले टुकुचा खोतलेर निकाले । यसमा बालेनले हात नहालेको भए हुन्थ्यो । खोलो जमिनको तलबाट बगिरहेको थियो । अदालतले पनि बालेनलाई साथ दिएन । यस्ता जटिल र धेरै विवाद हुने समस्या चर्काउने खालका काममा हात नहालेको नै राम्रो ।

अरु धेरै कपनतिर थुनिएका खोला खोलाएर बालेनले राम्रो काम गरेको भनेर आसपासमा बस्ने स्थानीयहरुले बताएको सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणमा देखिएको थियो तर भत्काएका ठाउँलाई त्यसै अलपत्र छोड्नु हुँदैन । यसमा मेयर बालेनको ध्यान पुगेको छैन । लामो समयसम्म भत्काएर यत्तिकै छोडेमा खोलाको आसपासमा बस्ने लगायत बटुवाहरूलाई असुविधा हुन्छ । यद्यपि यसमा बजेटको व्यवस्थापन टेण्डर आदिका प्रक्रियाले पनि केही ढिला भएको हुनसक्छ । यो जति ढिलो भयो उति नै मेयर बालेनको आलोचना बढ्छ भने जनसमर्थन घट्छ ।

शिक्षाको क्षेत्रमा पनि बालेनले सकारात्मक काम गरेको निष्कर्ष निस्कन्छ । छात्रवृत्ति वितरणमा महानगरपालिकाको हस्तक्षेप र निष्पक्ष वितरणले धेरै विद्यार्थीहरूले लाभ लिन सफल भएका छन् । उनले सरकारी विद्यालयमा खाजामा अनुदान थपिदिएर विद्यार्थीलाई लाभान्वित गराएका छन् । हरेक सरकारी विद्यालयमा अध्ययन गर्ने कक्षाका विद्यार्थीहरुलाई खाजा बापत महानगरपालिकाले रु १५ थप अनुदान दिएको छ, जसले सरकारी विद्यालयमा विद्यार्थीहरूको थप आकर्षण बढेको पाइएको छ ।

विद्यालय व्यवस्थापन समिति विघटन गरेर वडा अध्यक्षलाई व्यवस्थापन समितिको अध्यक्ष बनाउने कामपाको निर्णयको धेरै क्षेत्रबाट विरोध र आलोचना भएको थियो । अदालतमा कसैले रिट दिएको थियो, अदालतले कामपाको निर्णयलाई उल्टाइदियो ।

स्वास्थ्य क्षेत्रमा पनि कामपाले केही जनपक्षीय निर्णय गरेको छ । निजी अस्पतालहरूले १० प्रतिशत बेडहरू कमजोर आर्थिक अवस्था भएका बिरामीहरूलाई छुट्याउनै पर्ने निर्देशन कामपाले सार्वजनिक गरेको थियो । कार्यान्वयन नगरेमा कारबाही गर्ने पनि भनेको थियो । व्यवहारमा कति लागु भएको छ थाहा छैन । कामपाले कति औषधि निःशुल्क दिने र निःशुल्क एम्बुलेन्स सेवा पनि दिएकोलाई धेरैले सकारात्मक नै लिएका छन् ।

रोजगारीको क्षेत्रमा नयाँ रोजगार सिर्जना गर्न रोजगारीका लागि सीप तालिम दिने र केहीलाई रोजगारी पनि दिने काम पनि कामपाले गरेको पाइन्छ तर यो जनताले अपेक्षा गरेजस्तो र मेयर बालेनले चाहेजस्तो भएको पाइएको छैन ।

मेयर बालेनले भारतले आफ्नो सांस्कृतिक नक्सा भनेर नेपालको लुम्बिनीलगायत केही भू–भाग समेत सामेल गरेको प्रतिवादमा आफ्नो कार्यकक्षमा नेपालको इतिहासको नक्सा भनेर विशाल नेपालको नक्सा राखेका छन् । यसलाई धेरैले मेयर बालेनको देशभक्ति भनेर सराहना गरेका छन् भने केहीले भारतसँग सम्बन्ध बिगार्ने काम भनेर आलोचना पनि गरेका छन् ।

त्यसरी नै मेयर बालेनले भारतमा बनेको सिनेमाको एउटा संवादमा नेपालको जनकपुरमा जन्मिएकी सीतालाई भारतमा जन्मिएकी भन्ने अर्थ आउने गरी सीता भारतकी बेटी भन्ने एउटा डाइलग नहटाए वा नसच्याएसम्म कामपाभित्रका हलहरूमा उक्त फिल्म चल्न नदिने निर्देशन जारी गरे । उक्त निर्देशनको प्रतिवाद गर्दै हल सञ्चालकहरू अदालतमा गए । अदालतले उक्त फिल्म चल्न दिनू भन्ने आदेश दियो तर जनताले बालेनको निर्णयलाई साथ दिएर फिल्म हेर्न गएनन्, फिल्म चलेन । यसमा पनि बालेनको धेरैले प्रशंसा नै गरे ।

मेयर बालेनलाई चीनले पर्यटन प्रवर्द्धनका लागि निमन्त्रणा दियो । बालेनले चीन जाने टिकट पनि लिएका थिए । यसैबीचमा चीनले आफ्नो नयाँ नक्सा जारी ग-यो । जसमा नेपालको चुचे नक्सा थिएन । पहिले कै बुच्चे नक्सा थियो अर्थात् नेपालको कालापानी लिम्पियाधुरा सामेल थिएन ।

चीनले नेपालको भूभाग भारतकै नक्सामा सामेल गरेको विरोधमा मेयर बालेनले चीनको निम्तोलाई खारेज गरेर भ्रमण रद्द गरे अर्थात् उनले चीन पनि बहिस्कार गरे । कुटनीति हिसाबले बालेनको यो काम अपरिपक्क काम थियो । पहिलो त उनले चीनले किन नेपालको पुरानो नक्सा राख्यो भन्ने कारण खोज्नुपर्दथ्यो । उनले नेपाल सरकारले नयाँ चुच्चे नक्सा छिमेकी देशलगायत अन्तर्राष्ट्रिय समुदायलाई पठायो कि पठाएको छैन भन्ने बुझ्नुपर्दथ्यो । जबकि नेपालले चीनलाई नेपालको संशोधित आधिकारिक नक्सा पठाएकै थिएन भने चीनले नेपालले पठाएको अन्तिम नक्सा जेछ, त्यही प्रकाशित गर्नु नित्तान्त स्वाभाविक छ । बरु नक्सा पास गरेर पनि नपठाउनु नेपाल सरकारको काम अस्वाभाविक छ  । यसरी सबै कुरा नबुझी मेयर बालेनले चीन भ्रमण गर्नु अस्वभाविक पनि हो ।

नेपालको सिमानाको समस्या भारतसँग छ, चीनसँग छैन । समस्या नै नभएको चीन बहिस्कार अनावश्यक पनि हो र अति पनि हो । धेरै छिमेकी देशहरूको सिमानामा समस्या छ तर भ्रमण आदानप्रदान त रोकिएको छैन । बालेनको जस्तो बहिस्कार कूटनीतिले समस्या समाधान हुन्छ ? बालेनको यस्तो कच्चा अकूटनैतिक र अपरिपक्क कामले नेपाल–चीन सम्बन्धलाई मात्र नोक्सान पु-याएको छ । काठमाडौं महानगरपालिकालाई नोक्सान पु-याएको छ र स्वयं मेयर बालेनलाई नै नोक्सान पु-याएको छ । सायद चीनले बालेनलाई फेरि कहिल्यै निम्तो नगर्नसक्छ ।

बालेनले त चीनमा गएर काठमाडौं र चीनको महानगरसँग भगिनी सम्बन्ध स्थापना गर्न लाग्नुपर्थ्यो, त्यहाँको विकासबाट सिक्नुपर्थ्यो र पर्यटन प्रवर्धनमा जोड दिनुपर्थ्यो। उनले त नेपाल सरकारलाई नेपालको आधिकारिक संशोधित नक्सा चीनलाई पठाउन र चीनसँग भारतसँग भएको सिमानाको समस्यामा नेपालको जायज अडानलाई साथ दिनका लागि कुरा गर्न दबाब दिनुपथ्र्यो । चीनको भ्रमण रद्दगर्ने मेयर बालेनको निर्णय सही थिएन । उनले भारतलाई नेपालको सिमाना नमिच भन्ने हो, चीनको साथ खोज्ने हो । चीन प्रकरणमा बालेन चुकेकै हुन् ।

महानगरमा करोडौंको बजेट छ । विकास र पुँजीगत खर्चमा कामपाले अपेक्षा गरेजस्तो गति दिन सकेको देखिएन । कामपा भित्रउसका गतिविधिमा कुनै पनि मिडियामा भ्रष्टाचारका कुरा नआएकाले स्वच्छ आर्थिक प्रशासनमा बालेनको सकारात्मक मूल्याड्ढन गरिनुपर्दछ ।

स्थानीय सभ्यता र संस्कृति जोगाउन र बचाउन उनले राम्रै योगदान दिएका छन् । कहिलेकाहीँ आप्mनै शब्दलाई नियन्त्रण गर्न नसक्दा विवादमा पनि परेका छन् । समग्रमा मेयर बालेनको सकारात्मक पाटो नै बलियो देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया