Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमेयर बालेनलाई सात सुझाव

मेयर बालेनलाई सात सुझाव


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका सकारात्मक पक्ष नै धेरै छन् । कार्यकाल सकिँदासम्ममा जनताले लामो समयसम्म सम्झने के–कस्ता काम उनको नेतृत्वमा रहेको कामपाले गर्छ त्यो, भविष्यले नै बताउला । मेयर बालेनको नेतृत्वमा रहेको कामपाले अरु धेरै राम्रा कामहरू गरोस् भनेर सबै नेपालीले कामना गर्नुपर्दछ । अझ कामपाका मतदाताले त झनै धेरै गर्नुपर्दछ । नेपाली नागरिक तथा कामपाका मेयर बालेनको मतदाता समेत भएकोले पंक्तिकारले यस लेखमार्फत कामपालाई सार्वजनिक रूपमा केही सुझाव अघि सार्न अग्रसर भएको छु ।

परम्परागतरूपमा भवन, सडक, बाटो, पुल, कुलो, ढल, खानेपानी, हवाइ मैदान, खेल मैदान, रेलमार्ग, बसपार्क, मनोरञ्जन पार्क आदिजस्ता भौतिक निर्माणलाई मात्र विकास बुझिँदै आइएको छ । यी सूचकहरू निश्चय नै भौतिक विकासका सुचकहरु हुन् नै । आम जनता र जनताका प्रतिनिधिहरूसमेतको विकास भनेको यस्तै भौतिक रूपले चिनिने वा देखिनेलाई मात्र विकास हो भन्ने मान्यता विकसित भएको पाइन्छ तर विकासका पाटाहरू धेरै छन् । विकासलाई अनेक कोणबाट हेर्नु र बुभ्mनुपर्दछ । भौतिक विकासभन्दा पृथक केही बौद्धिक,केही सांस्कृतिक, केही स्वदेशवादी आर्थिक तथा केही राष्ट्रियताका हिसाबमा विकासका सुझावहरू मेयर बालेन तथा कामपालाई दिनु उचित नै भएकोले यस्ता केही सुझावहरू अघि सारिएको छ ।

सिर्जना पनि आफैँमा एउटा विकासको पाटो र बाटो हो । यसलाई पनि विकास नै बुभ्mनु पर्दछ । सिर्जनाको क्षेत्रलाई पनि विकासको एउटा महत्वपूर्ण अङ्ग सम्झेर यसलाई पनि विकासको एउटै डालोमा हालेर एकसाथ बढाएर लैजानुपर्दछ । विगतमा यस्तो बुझाइ भएको पाइएन र राज्यका निकायहरूले यसलाई विकासको पाटो र बाटो हो भन्ने अनुभूति हुने खालको कुनै ठोस काम गरेको पाइएको छैन ।

सिर्जना पनि विकास हो भनेर यसलाई विकासको अङ्ग हो ठानेर यसलाई विकासमा जोडेको पाइएको छैन । अतःयसलाई पनि विकासको पाटो सम्झेर साथमा लिएर जाने योजना तथा कार्यक्रम स्थानीय निकायले पनि बनाओस् र वार्षिक कार्यक्रममा समेटर बजेट छुट्याओस् । यो सुझाव काठमाडौं महानगरपालिकाका मेयरमार्फत काठमाडौं महानगरपालिकालगायत सबै स्थानीय निकायलाई दिइएको भनेर बुझ्नु सम्झनुपर्दछ ।

काठमाडौं महानगरपालिकाले वार्षिक रूपमा बजेट छुट्याएर महत्वपूर्ण पाँचओटा किताब प्रकाशित गर्नका लागि बजेट सिलिङ्गमा समावेश गरोस् । यसो भएमा एक कार्यकाल अर्थात् पाँच वर्षमा महत्वपूर्ण पच्चीस किताबहरू नेपाली वाङ्मयको संसारमा आउने छन् । ढल, कुलो आदिलाई विकास अनुदानजस्तै यो प्रकाशन अनुदान हुनेछ । पर्यटन, सभ्यता, संस्कृति, इतिहास, आयुर्वेद, अनुसन्धान, जडीबुटी, शहरी विकास, जनस्वास्थ्य आदि या अन्य विधामा लेखिएका विवादरहितका पुस्तकहरू महानगरपालिकाले छपाईदिन सक्छ । अन्य प्रकाशन गृहसँग सम्झौता गरेर प्रकाशन गर्न सक्छ । सोझै लेखकलाई अनुदान दिएर वा लेखकसँग सम्झौता गरेर पनि किताब प्रकाशित गर्न सक्छ ।

कस्ता पुस्तक छपाउने भनेर पाण्डुलिपी छनोट गर्ने विज्ञ समूहको छनोट वा सुझाव समिति पनि बनाउन सकिन्छ । सरकारी नेपाल प्रज्ञा प्रतिष्ठान,साझा प्रकाशनसँग सम्झौता गरेर प्रकाशन गर्न गराउन सक्छ । गैह्रसरकारी नई एकेडेमीजस्ता प्रतिष्ठित साहित्यिक संस्थासँग राय लिएर वा सम्झौता गरेर प्रकाशन गर्न गराउन पनि सक्दछ । एउटा विधि बनाएर प्राज्ञिक काम पनि विकास हो भन्ने मान्यता कामपाले स्थापित गर्नुपर्दछ ।

साहित्यको विकास गर्नु राज्यको दायित्व हो भनेर साहित्य अनुरागी कवि,गीतकार, साहित्यकार मवीवी शाहको नामले साहित्यमा स्थापित राजा महेन्द्रले निजी खर्चमा राजकीय प्रज्ञा प्रतिष्ठान (हालको नेपाल प्रज्ञा प्रतिष्ठान ) स्थापना गरेकोबाट मेयर बालेनले पाठ सिक्नुपर्दछ ।

यदि मेयर बालेनले यस्ता कामलाई विकासको अङ्ग बनाउँछन् भने उनी स्वाभाविक रूपमा प्राज्ञिक जगत्मा चर्चित र प्रतिष्ठित हुनेछन् । उनले यस्ता पुस्तक राष्ट्रभाषा वा राष्ट्रिय भाषामा लेखिएका प्राज्ञिक वा उपयोगी पुस्तक छपाउन सक्छन् । पुस्तक बिक्रीबाट लेखकलाई लेखकस्व समेत दिएर लेखक कल्याण कोष खडा गर्न पनि सक्छन् । लाग्छ यो रचनात्मक सुझावलाई मेयर बालेनले सकारात्मक रूपमा लिएर कार्यान्वयनको तहमा लैजान्छन् भन्ने आशा गर्न सकिन्छ ।

मेयर बालेनलाई दोस्रो सुझाव पनि किताबसम्बन्धी नै छ । हुन त अहिले मोबाइल तथा सामाजिक सञ्जालको बढ्दो प्रयोग र नसाले गर्दा अहिले किताब पठन संस्कृतिमा ठूलै ह्रास आएको छ । अर्थात् किताब पढ्ने संस्कृति बहुत घटेको छ तर पनि किताबहरू छापिएकै छन् र हरेकका घरमा स–साना पुस्तकालय छन् ।

मेरो एकजना साथीको घरमा जहिल्यै पुस्तकले झगडा बनाईरहन्छ । श्रीमान्ले किताब थुपारेको श्रीमतीलाई मन परेको छैन । उनलाई किताबले ठाउँ ओगटेको कति पनि मन नपर्दो रहेछ । उनी जोखेर किताब बेच्न चाहन्छिन् कागज, खाली सिसी खोज्नेलाई । श्रीमान् संस्था वा व्याक्तिलाई दान दिन चाहन्छन् । सकभर उनी घरबाट किताब हटाउन चाहँदैनन् । यस्ता समस्या धेरैका घरमा रहेछन् ।

मेयर बालेनले महानगरमा एउटा सानो किताब घर स्थापना गरून्, जुन किताब घरलाई मान्छेले फाल्न चाहेका किताबहरू दिन्छन् र अरूले दिएका तर आफूलाई मन परेका किताब लान्छन् अर्थात् त्यसलाई किताब विनिमय घर भन्दा पनि हुन्छ । यो पनि महानगरपालिकालाई केही आर्थिक बोझ थप्ने योजनामा नै पर्छ तर यो एउटा पठन सेवा पनि हो । सामाजिक उत्तरदायित्व भित्र पर्दछ यो पनि । यसको व्यवस्थापनमा केही कर्मचारी र भवनको दायित्व महानगरपालिकाले लिनुपर्दछ ।

यसले माथि उल्लेख भएजस्ता धेरैका किताब घर झगडाका समस्या समाधानमा सहयोग पनि हुन्छ । साथै, यसले पढ्ने संस्कृतिमा पनि योगदान दिन्छ । यसले कसैले महत्व नबुझेर फाल्न लागेका पुस्तकहरू कसैले पाल्न पाउन सक्छ । कसैले खोजेका तर नपाएका किताब पाउन पनि सक्छ । कसैले नचाहेका किताब कसैलाई ढुङ्गा खोज्दा देउता खोजेको हुन सक्छ । यस्ता किताब विनिमय तथा पठन घरहरू सबै स्थानीय निकायमा जरुरी छ । नियम बनाएर व्यवस्थित किसिमले सञ्चालनको आवश्यकता छ । आशा गरौं मेयर बालेनको यतातिर ध्यान आकर्षित हुनेछ । कामपाले यो सुरु गरे अरुले पनि अनुसरण गर्ने नै छन् । यदि कामपाले गरेन भने अन्य स्थानीय निकायले गरून् । अरुले गरे भने कामपालाई पनि पाठ हुनेछ ।

मेयर बालेनलाई तेस्रो सुझाव छ कि माथि भनिएको किताब प्रकाशन जस्तै पाँच ओटा म्युजिक भिडियो निकाल्न अनुदान सहयोग गर्ने बजेट कामपाले छुट्याओस् । कामपाको हकमा नेपाली भाषा र नेवारी भाषामा यस्ता म्युजिक भिडियो निष्कासन गरेको राम्रो हुन्छ, जो प्राचीन मिथकमा आधारित वा लोकलयमा आधारित होऊन् । मौलिक रैथाने लोक गीतका होऊन् । कामपा भित्रका वा बाहिरका सर्जकका मात्र गर्ने कि कामपा बाहिर नेपालभरका जो कोही नेपाली नागरिकका निकाल्ने कामपाले नै तय गर्न सक्छ । तीनवटा कामपा भित्रका र दुईवटा कामपा बाहिरकाबाट पनि गर्नसक्छ । आशा गरौं मेयर बालेनको यतातिर पनि ध्यान आकृष्ट हुने नै छ ।

मेयर बालेनलाई चौथो सुझाव छ, हरेक वर्ष आर्ट ग्यालरीको आयोजना कामपाले गरिदेओस् अर्थात् कामपालेचित्रकला प्रदर्शनीको आयोनजा गरिदेओस् । चित्रकारहरूले आफ्ना चित्रहरू प्रदर्शन गर्नेछन् भने मूर्तिकारहरुले आफ्ना मूर्तिकलाहरु प्रदर्शनी गर्नेछन् । यसबाट बिक्री भएमा कलाकारलाई लाभ मिल्नेछ । केही प्रतिशत कामपाले लिए पनि हुन्छ । सकभर थोरै प्रतिशत होओस् ।

मेयर बालेनलाई पाँचौं सुझाव छ, कामपाले प्रशिक्षण शाखा स्थापना गरोस् । जसको काम विविध विषयमा नियमित प्रशिक्षण दिने काम गरिरहोस् । यस्ता प्रशिक्षण कला सम्बन्धी हुनसक्छ, संगीतसम्बन्धी हुनसक्छ, खेलकुदसम्बन्धी हुनसक्छ र अन्य उत्पादनसम्बन्धी हुनसक्छ वा अनेक सीपसम्बन्धी पनि हुन सक्छ । केही विशेषज्ञलाई बोलाएर पनि यस्ता प्रशिक्षण दिन सकिन्छ । नियमित प्रशिक्षक राखेर पनि गर्न सकिन्छ । बजारमा भन्दा सस्तोमा अथवा निःशुल्क पनि गर्न सकिन्छ । यसो भएपछि कामपाले विकासका पाटा र बाटाहरु धेरै छन् र स्थानीय सरकारको ध्यान यी सबैमा गएको सन्देश दिएको पनि मानिने छ ।अभिनय,संगीत, कला, साहित्य,खेलकुद,उत्पादन,सीप,व्यवसाय आदि इत्यादि सबैमा स्थानीय निकायको रचनात्मक ध्यान दृष्टि पुगेको र विविध क्षेत्र तानिएको मानिनेछ । लाग्छ मेयर बालेनको ध्यान यतातिर पनि तानिनेछ ।

बालेनलाई छैटौं सुझाव हो, काठमाडौं महानगरपालिकाले स्वदेशी उत्पादन दिवस कम्तीमा पनि सप्ताहव्यापी मनाउने योजना बनाओस् । यो स्वदेशी उत्पादन दिवस स्वदेशवादी अर्थतन्त्रका प्रणेता तथा नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाह जन्मेको दिन पुष २७ गते उद्घाटन भएमा माघ १ गते उनी दिवंगत भएको दिन पनि यही दिवस भित्रै पर्दछ सप्ताहव्यापी मनाउँदा । यो समय सबै किसिमले उपयुक्त हुन्छ ।

यो स्वदेशी उत्पादन दिवसमा सम्भव भएसम्म सबै स्वदेशी उत्पादनका स्टल राखियोस् । सप्ताहभरि स्वदेशी उत्पादनका मात्र अर्थात् स्वदेशी खाना,नाना,गाना,बाजा आदिको मात्रै उपयोगले वातवरण स्वदेशी उत्पादनमय बनोस् ।

स्वदेशी उत्पादन दिवसलाई स्वदेशी उत्पादन प्रेममय दिवसमा कसैले अनुवाद गर्न सक्छ भने मेयर बालेनको लोकप्रिय व्यक्तित्वले मात्र गर्न सक्छ । शर्त एउटै छ, मेयर बालेनले पृथ्वीनारायणको स्वदेशवादी चिन्तनको अर्थ महत्व बुझ्न सक्नुपर्दछ । स्वदेशी उत्पादन दिवसका दिन स्वदेशी उत्पादन किनेर आफूले मन पराएको मान्छेलाई उपहार दिने माहौल बनाउन सकियो भने स्वदेशी उत्पादन दिवस स्वदेशी उत्पादन प्रेममय दिवसमा रूपान्तरण हुनसक्दछ । यसमा मेयर बालेनले युवाहरूलाई जोड्न सके भने यो दिवस सफल हुन्छ । खासगरी युवा–युवतीले आ—आफ्ना प्रेमीहरूलाई कुनै स्वदेशी उत्पादन दिन थाल्ने हो भने यसले क्रमशः आकार लिन्छ । यसले क्रमशः भ्यालेन्टाइन डेलाई विस्थापित गर्नसक्छ । स्वदेशी उत्पादन दिवस र प्रेम दिवसलाई एउटै डालोमा राखेर अघि बढाउन सकियो भने यो दिवस सफल हुन्छ ।

स्वदेशी उत्पादन दिवसको स्टलमा कतै स्वदेशी उत्पादनका खाना मात्रै खान पाइने र स्वदेशी गाना मात्रै बजाउन पाइने हुनेछ । युवाहरू स्वदेशी खानामा रमाऊन्, स्वदेशी गानामा झुमून् र स्वदेशी उत्पादनका उपहार आदान–प्रदान र पहिरनमा रमाऊन् ।

मेयर बालेनले उपत्यकाका सबै नगरपालिकाहरूसँग समन्वय गरेर सबै पालिकाहरूलाई स्वदेशी उत्पादन दिवसमा सरिक गराउन सके भने यो दिवस उपत्यकास्तरीय भएर सफल हुन्छ । उनले अन्य निकायहरू खास गरी उद्योगवाणिज्य महासंघ, चेम्बर अफ कमर्स सबैलाई यसमा जोड्न सक्छन् । तीनै तहका सरकारलाई,कर्मचारीलाई स्वदेशी उत्पादनका पहिरनमा सजिएर कम्तीमा सप्ताहव्यापी स्वदेशी उत्पादन दिवसमा सक्रिय भएर मनाउन आग्रह गर्न सक्छन् । यसो भएमा स्वाभाविक रूपमा स्वदेशी उत्पादनको संख्या र गुणस्तर र व्यापारमा बढोत्तरी भएर जान्छ ।

यदि स्वदेशी उत्पादन दिवसमा सबै स्थानीय निकायहरू जोडिए भने स्वाभाविक रूपमा यो दिवस राष्ट्रिय दिवस भएको हुनेछ । राष्ट्रव्यापी स्वदेशी उत्पादनका स्टलहरू रहनेछन् । यसले स्वदेशी अर्थतन्त्र र स्वदेशवादी मानसिकता उकास्नेछ । केन्द्र सरकार र प्रदेश सरकारको ध्यान यतातिर तानियोस् ।

पुष २७ गते सरकारले सार्वजनिक बिदा दिएको छ । त्यो दिन स्वदेशी उत्पादन किन्नमा भरपूर उपयोग गरून् । स्वदेशी उत्पादनको उपयोग र आत्मनिर्भर अर्थतन्त्रबारे विचार गोष्ठीको आयोजना होस्, कार्यपत्र र टिप्पणीहरू आऊन् ।

मेयर बालेनलाई अन्तिम सातौं सुझावचाहिँ प्रतियोगितात्मक खुला निबन्ध प्रतियोगिताको घोषणा कामपाले गरोस् भन्ने हो । यस्तो विषय वा शीर्षकमा निबन्ध प्रतियोगिता होस्, जसले नेपालको गरिमालाई बुझाउन सकोस्, नेपाली सभ्यता र सस्कृतिलाई उठाउन र चिनाउन सकोस् । मेयर बालेनले कामनपाबाट खुला निबन्ध प्रतियोगिता गराउने निर्णय गराऊन् । प्रतियोगितात्मक निबन्धका लागि बजेटको व्यवस्था गरून् । पुरस्कार खर्च, छनोट खर्च र वितरण समारोह खर्च समेतको बजेट सिलिङ गराऊन् ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह जन्मेको दिन हरेक पुष २७ गते निबन्ध प्रतियोगिताको विजेता प्रथम,दोस्रो र तेस्रोको घोषणा गर्ने र पुरस्कार वितरण समारोहको आयोजन गर्ने मितिको पनि निर्णय गरोस् र हरेक वर्ष राष्ट्रनिर्माताले जीवनको अन्तिम कालमा दिएको उपदेशलाई दिव्य उपदेश नामाकरण गरेको पुस्तिका छ । त्यसले उठान गरेका विषयलाई हरेक वर्ष अलग शीर्षक दिएर निबन्ध प्रतियोगिता गराउने चलनलाई कामपाले स्थापित गराओस् ।

यसपटक निबन्ध प्रतियोगिताको शुभारम्भ शीर्षकका लागि मेयर बालेन तथा कामपालाई मेरो निम्न सुझाव छ “शास्त्रबमोजिमको तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हे-या पनि हुन्छ ।” यो शीर्षकले पृथ्वीनारायणले के अर्थ र कारणमा यो शीर्षकलाई चुने ?नेवारी नाचगान र संस्कृतिमा केछ? किन यो हेर्न र सुन्नुपर्दछ ? यसमार्फत पृथ्वीनारायण शाहले के भन्न खोजेको हो, सबै उत्तर निष्कन्छ । यो आफैँमा पृथ्वीनारायण शाहको स्वदेशवादी सांस्कृतिक चिन्धनधार हो र नेपाली हरेक जाति,जनजाति समुदायमा संस्कृतिका अपार खानी छन् भन्ने पृथ्वीनारायण शाहको चिन्तनलाई केन्द्रमा राखेर निबन्ध प्रतियोगिता गराउनु सबै किसिमले उचित हुन्छ भन्ने मेरो सुझाव छ ।

पृथ्वीनारायण शाहले तीनवटै शहर कान्तिपुर, भक्तपुर र ललितपुरको सम्मान गरेको नेवारी संस्कृतिको सम्मान गरेको यो अभिव्यक्तिको सम्मानमा तीनवटै शहरका नगरपालिका संयुक्त आयोजक वा अलग–अलग आयोजक बनेर यस्तो प्रतियोगिता गराए सुनमा सुगन्ध हुने थियो तर दलहरुले राष्ट्रनिर्माताप्रति घृणा बढाएकाले यस्तो अपेक्षा राखिए पनि सम्भावना कम छ ।

मेयर बालेनले नेवारी संस्कृतिमाथि पीएचडी गर्दैछन् भन्ने समाचार सार्वजनिक भएको थियो । यस्तो शीर्षकको निबन्ध प्रतियोगिताले एकैपल्ट राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र मेयर बालेन्द्र शाहको भावनालाई सम्मान र सम्बोधन गर्दछ । यस्ता निबन्धहरूले मेयर बालेनको पीएचडीलाई त सहयोग गर्दछ नै, त्योभन्दा महत्वपूर्ण अनेक समूहका नेपालीहरूलाई नेपाली मौलिक संस्कृतिको महत्व बुझाउन सहयोग गर्नेछ ।

यस्तो निबन्ध प्रतियोगिता विद्यार्थीस्तरीय पनि गराउन सकिन्छ, महानगरस्तरीय मात्रै पनि गर्न सकिन्छ,अथवा कुनै वर्ग र क्षेत्रमा सीमित नराखेर खुला प्रतियोगिता गराउन पनि सकिन्छ । महानगरपालिकाले आफैंले विज्ञहरुको संयन्त्र बनाएर पनि यस्तो निबन्ध प्रतियोगिताको सबै कार्य सम्पन्न गर्ने जिम्मेवारी दिन पनि सक्छ अथवा विशुद्ध साहित्यको क्षेत्रमा निष्पक्ष काम गरेका माथि उल्लेख गरेकाजस्ता संस्थाहरुसँग सम्झौता गरेर पनि यस्तो प्रतियोगिता गराउन सक्दछ ।

हाल नेपालको इतिहास, ऐतिहासिक व्यक्तित्व र तिनका विचार नपढ्ने बरु भ्रम छर्ने घातक प्रवृत्ति बढेको छ । यस्तो प्रवृत्तिले न नेपालको हित हुन्छ, न जित नै हुन्छ । यस्ता प्रवृत्तिलाई जित्न अर्थात् परास्त गर्न युवाहरूलाई तथ्य बुझाउनु पर्दछ । तथ्य बुझाउन तथ्यमा पर्न र पढ्न आकर्षित गर्नुपर्दछ । निबन्ध प्रतियोगिताले यस्तोमा आकर्षित गर्दछ । निबन्ध प्रतियोगिता जित्न राम्रो लेख्नुपर्छ । राम्रो लेख्नलाई धेरै पढ्नुपर्छ । जसले राम्रो पढ्छ, उसले राम्रो लेख्छ ।

नेपाल जोगाउन पृथ्वीनारायण र पृथ्वीविचार पढ्नु र पढाउनु पर्दछ । मेयर बालेनले यो यथार्थ बुझे भने उनी यसमा अग्रसर हुन सक्छन् । उनलाई महानगरमा सजिलो छैन । उनले यो प्रस्ताव लगे भने काँग्रेसले बीपी र गणेशमानको नाम लेलान् । एमालेले पुष्पलाल र मदन भण्डारीको नाम लेलान्, पृथ्वीनारायणको नाम त उनीहरु सुन्न पनि चाहँदैनन् । तर बालेन् अग्रसर भए भने सफल हुन्छन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया