Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक सुधारका लागि मुद्राबजार

आर्थिक सुधारका लागि मुद्राबजार


काठमाडौं । कोभिड–१९ पछि शिथिल भएको विश्व अर्थतन्त्र धेरै वर्षसम्म उकालो लाग्न सकेन । केही समययता रुस र युक्रेनबीच जारी युद्धको कारण आर्थिक गतिविधिहरू विश्वव्यापीरूपमा प्रभावित भएका छन् ।

एकातर्फ पेट्रोलियम पदार्थ र खाद्य वस्तुहरूको मूल्यवृद्धि भएको छ भने अर्कोतर्फ विश्व व्यापार गतिविधिहरू घटेका छन् । त्यसैले विगतमा कोभिड–१९ को महामारीबाट प्रभावित विश्व अर्थतन्त्रमा थप चुनौती थपिएको छ ।

आज विश्व अर्थतन्त्रमा विद्यमान परिवर्तनको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा परेको छ । वास्तवमा यहाँ खाद्य वस्तुहरूको मूल्यवृद्धि र लगानीयोग्य साधनहरूमा संकुचनको कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । ओरालो लागेको यहाँको अर्थतन्त्रको सुधारको लागि मुद्राबजारले महत्वपूर्ण भूमिका खेल्छ । तर खेदको कुरा त के छ भने यहाँ आजसम्म पनि यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान आकृष्ट हुन सकेको छैन ।

आज विश्वको अर्थतन्त्र शिथिल अवस्थामा छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा विश्व अर्थतन्त्रको वृद्धिदर न्यून रहने र सन् २०२४ मा केही सुधार हुने प्रक्षेपण गरेको छ । परन्तु, केही समयअघि रुस र युक्रेन युद्धको कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि एवं आपूर्तिजस्ता व्यवधानका कारण मुद्रास्फीति उच्च रहनुका साथै बैंकहरूको ब्याजदर वृद्धि हुनाले विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त नै छ ।

निःसन्देह विश्व अर्थतन्त्रले भोग्दै आएको उच्च मुद्रास्फीतिको स्थितिमा केही सुधार नभएको होइन । यद्यपि, कर्जाको मूल्यमा अनिश्चितता, रुस र युक्रेनबीच जारी रहेको युद्ध र आर्थिक मन्दीको सामना गर्न अवलम्बन हुन सक्ने नीतिगत लचकताको कारण भविष्यमा विश्वमै मुद्रास्फीति बढ्न सक्ने जोखिम अझ पनि छ ।

आजसम्म पनि विश्व अर्थतन्त्रमा मुद्रास्फीति उच्च रहेको र विद्यमान भू–राजनीतिक तनावको कारण इन्धन तथा अन्य वस्तुहरूको मूल्यवृद्धि अझसम्म पनि कायम छ । यसबाट विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ र यस सन्दर्भमा नेपाल पनि अछुतो रहन सकेको छैन । नेपाललगायत विश्वको अर्थतन्त्रमा सुधार ल्याउन मुद्रा बजारको प्रवद्र्धनले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

कुनै पनि देशको वित्तीय अवस्था निर्धारणदेखि आर्थिक सुधारसम्म मुद्राबजारले महत्वपूर्ण भूमिका खेल्छ । यसले जुनसुकै देशको अर्थतन्त्रलाई निर्धारण गर्छ । तसर्थ, वर्तमान समयमा प्रत्येक देशमा यसलाई विशेष महत्व दिन आवश्यक छ ।

वस्तुतः प्रत्येक देशको अर्थतन्त्रको तरलताको व्यवस्थापन गर्न, बैंक तथा वित्तीय संस्थाहरूको ब्याज निर्धारण गर्न, कर्जा बजार उपयुक्त किसिमबाट व्यवस्थापन गर्न र मौद्रिक नीतिलाई व्यवहारमा उतार्न मुद्राबजारले अनुपम भूमिका खेल्छ । विकसित देशहरूमा मुद्राबजार सबल भएकोले एकतर्फ लगानीकर्ताहरू आकर्षित भएका छन् भने अर्कोतर्फ उक्त देशका अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । हाम्रा दुई विशाल छिमेकी राष्ट्रहरूमा पनि मुद्राबजारलाई उच्च प्राथमिकता दिइएकाले यिनीहरूको अर्थतन्त्रमा पनि उल्लेख्य प्रभाव परेको छ ।

नेपालको मुद्राबजार निक्षेप सङ्कलन ट्रेजरी बिल खरिद, रिपो, रिभर्स रिपो र अन्तरबैंक कर्जामा सीमित छ । यहाँ अन्य देशहरूमा प्रचलित सर्टिफिकेट अफ डिपोजिटस, कमर्सियल पेपर, बैंकर्स पेपर आदि मुद्राबजारका उपकरणहरू हालसम्म पनि प्रयोग गर्न सकिएको छैन किनभने यहाँ आजसम्म पनि मुद्राबजारको खासै महत्व महसुस गरिएको छैन । वास्तवमा केन्द्रीय बैंक र वाणिज्य बैंकहरूको टे«जरी विभागमा संलग्न व्यक्तिहरूले नाफामा भन्दा तरलता व्यवस्थापनमा जोड दिनु उपयुक्त हुन्छ ।

यहाँ मुद्राबजारलाई सरकार र केन्द्रीय बैंकले आजसम्म खासै महत्व दिएको छैन । किनकि यहाँको केन्द्रीय बैंक सरकारको लागि आन्तरिक ऋण उठाउन तल्लीन छ भने अन्य बैंकहरू ब्याजदर वृद्धि गरी आयआर्जन गर्न अभ्यस्त छन् । नेपालमा मुद्राबजारसम्बन्धी ज्ञान भएका व्यक्तिहरूको कमी छ । यद्यपि, यस सम्बन्धमा तालिमको व्यवस्था गर्न सकिएको छैन । त्यसैले हालसम्म पनि यहाँ मुद्राबजारका उपकरण परिचालन गर्न अभौतिकीकरणको व्यवस्था गर्न सकिएको छैन । यहाँ एकातर्फ मुद्राबजारको प्रयोग गर्ने काम आउँदैन भने प्राविधिक पक्षको मूल्याङ्कन गर्दा पनि मुद्राबजार प्राथमिकतामा पर्दैन ।

नेपालको डि–म्याटमा हालसम्म पनि मुद्राबजारका उपकरणहरू प्रयोग गरिएको छैनन् । यसबाट यहाँको प्राथमिकताको तह प्रष्ट हुन्छ । आजसम्म पनि उक्त उपकरणहरू यहाँको दोस्रो बजारमा प्रयोग गर्न नसकिएकाले क्रेता तथा विक्रेताहरूले लाभ पाएका छैनन् । उदाहरणका लागि ९१ दिनको ट्रेजरी बिल कसैसँग छ भने उक्त रकमको भुक्तानी पाउन ९१ दिनसम्म कुर्नुपर्छ । यदि दोस्रो बजारमा कारोबार भए बजारको मूल्यअनुसार जसरी डिवेन्चरको कारोबार हुन्छ त्यसरी नै उक्त बिलको कारोबार गर्न सकिन्थ्यो । उक्त बिलको कारोबार दोस्रो बजारमा गर्न नसक्नुले सम्बद्ध पक्षले यस तथ्यलाई प्राथमिकता नदिएको बोध हुन्छ ।

वास्तवमा कुनै पनि देशको आर्थिक सुधारको लागि मुद्राबजारको महत्व कम छैन । परन्तु, यहाँ आजसम्म पनि सम्बन्धित पक्षको ध्यान, आकृष्ट नभएकाले यसबाट खासै फाइदा प्राप्त गर्न सकिएको छैन । यहाँ मुद्राबजारसम्बन्धी केही संस्थाहरू कार्यरत भए पनि कुनैको पनि स्वामित्व नभएकोले यस्तो भएको हो ।

नेपालमा हालसम्म पनि मुद्राबजारसम्बन्धी तालिम दिने ठोस व्यवस्था नभएकाले यहाँका धेरै व्यक्तिलाई यसबारे राम्रो ज्ञान छैन । यहाँ वित्तीय विषयमा अध्ययन हुने भए पनि व्यावहारिक ज्ञानको कमी छ । त्यसैले, यहाँ अझसम्म मुद्राबजार व्यापक एवं सर्वसुलभ गर्न सकिएको छैन ।

मुद्राबजारको महत्वबारे थाहा पाउन यससम्बन्धी पर्याप्त समाचारहरूको आवश्यकता पर्छ । तर, यहाँ यस्तो व्यवस्था नभएकोले सम्बन्धित संस्थाका व्यक्तिहरू पनि यस सम्बन्धमा अनभिज्ञ छन् । मुद्राबजारको महत्वबारे विस्तृत ज्ञान प्रदान गर्न वित्तीय साक्षरताअनुसार उक्त बजारको विषय पनि समेटेर व्यापक प्रचार–प्रसार गर्न जरुरी छ । यसका लागि सम्बन्धित व्यक्ति तथा संस्थाहरूको सक्रिय सहयोगको आवश्यकता छ ।

विकसित देशहरूमा मुद्राबजारको विकासबाट त्यहाँका अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । तर, यहाँ यस्तो हुन सकेको छैन । तसर्थ, आगामी दिनहरूमा यहाँको आर्थिक सुधारका लागि मुद्राबजारका विभिन्न उपकरणहरू परिचालन गर्न आवश्यक छ । यसको लागि सम्पूर्ण सरोकारवालाहरू एकजुट हुनु जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया